डीना र खतिवडाले भनेः संविधान अपनत्व नगर्नेले लोकतन्त्र बचाउँछ भन्नु भ्रम

साझाकुरा
२०७९ आश्विन ३१, सोमबार १२:२८

हेटौंडा- मकवानपुरको दुई वटै प्रतिनिधिसभा क्षेत्रका गठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’ र विरोध खतिवडाले संविधान बनाएर लोकतन्त्र बचाउनेलाई मत दिन आग्रह गरेका छन् ।
मकवानपुरगढीको शिखरकटेरीमा लोकतान्त्रिक वामगठबन्धनको संयुक्त कार्यालय उद्घाटन गर्न प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार नेपाली कांग्रेस सहमहामन्त्री डीना र निर्वाचन क्षेत्र नम्बर२ का उम्मेदवार नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य खतिवडा पुगेका थिए ।आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अभियानलाई तीव्रता दिने क्रममा दुबै उम्मेदवारहरुले संयुक्तरुपमा निर्वाचन परिचालन कार्यालय उद्घाटन गरेका हुन् । एउटै मञ्चबाट सम्बोधन गरेका डीना र खतिवडाले संविधान बनाएर मुलुकलाई समृद्ध बनाउन भूमिका खेल्नेलाई मत दिन आग्रह गरेका थिए ।

निर्वाचन कार्यालय उद्घाटनपश्चात् ६ नम्बर वडाको बाँधमा भएको दीपावली, नेपाल सम्वत्, छठ, ल्होसारको शुभकामना कार्यक्रममा गठबन्धनका डीना र खतिवडासहित प्रदेशसभा निर्वाचनका उम्मेदवारहरुले पनि सम्बोधन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेकी कांग्रेस सहमहान्त्री प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार डीनाले संविधान, संसद् र लोकतन्त्रको हरण हुनबाट जोगाउन लोकतान्त्रिक बाम गठबन्धन कायम रहने बताइन् । ‘जसले यो संविधान अपनत्व गर्दै हस्ताक्षर गरेको छैन, त्यस्ता शक्तिहरुले लोकतन्त्र बचाउँछ भन्नु भ्रम हो’, डीनाले भनिन् । उनले एमालेले गरेको गठबन्धन अपवित्र भएको बताइन् ।

‘डीना’ले आफू पहिलो पटक पूर्वी मकवानपुरको भूगोलमा उम्मेदवार भएपनि पूर्वी मकवानपुरको विकासमा उल्लेख्य बजेटहरु पहिलादेखि नै व्यवस्था गर्दै आएको दाबी गरिन् । उनले कतै माओवादीको, कतै समाजवादीको र कतै कांग्रेसको उम्मेदवार छैन भन्दै उक्साउन आउनेहरुलाई कमल थापा बोकेर कस्तो लोकतन्त्र र गणतन्त्रको अनुभूति गराउन खोजेको भन्ने प्रश्न गर्न आग्रह गरिन् ।निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार खतिवडाले पश्चिम मकवानपुरको विकासमा आफ्नो दशकौँ लगानी रहेको बताए । बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा, विकास, भौतिक पूर्वाधार सबै क्षेत्रमा कायापलट गराउने काममा आफ्नो भूमिका रहेको बताउँदै उनले भने, ‘तीन वर्ष मुख्यमन्त्री भएका कसैले कुनै एउटा योजना १० करोडमाथि पारेको भेटिनँ, मेरो कुरा काटेरै दिन बिताएछन्’, खतिवडाले केपी ओलीले दुई दुई पटक संसद् विघटन गरेर लोकतन्त्र मास्न खोजेको र अहिले पनि कमल थापा, राजेन्द्र लिङ्देनहरु बोकेर संविधानको मर्ममा प्रहार गर्दै अराजकता मच्चाउन खोजेको आरोप लगाए । गठबन्धनलाई मत दिन खतिवडाले आग्रह गरे ।

‘२०३६, ४६, ६३ को आन्दोलन दबाउन खोज्ने कमल थापा यतिखेर सूर्य चिन्ह बोकेर जनताको बहुदलीय जनवादको व्याख्याता भएका छन्, कमल थापाले एमाले पार्टीमा प्रवेश गराउने कार्यक्रममा छेउछाउमा डोरमणि पौडेल र रामेश्वर राना ६–६ वटा दाँत देखाएर बसिरहेका देखिन्छन्’, खतिवडाले भने । कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकास मन्त्री तथा प्रदेशसभा २ को (क)की उम्मेदवार कुमारी मुक्तानले पाँच वर्षमा आफ्नो भूगोलमा विकासको कार्यक्रमहरु पारेको बताउँदै गठबन्धन बिजय नजिक पुगिसकेको दाबी गरिन् । उनले बागमती केन्द्र सरकार, प्रदेश
सरकारमार्फत् हुने विकास निर्माणका कामका लागि पनि गठबन्धनलाई मत दिन आग्रह गरेकी छन् ।

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्षसमेत रहेका प्रदेशसभा १ को (क)का उम्मेदवार प्रेमबहादुर पुलामी ‘छिन्तु’ले नेकपा एमाले र राजावादी शक्तिहरुको बदमासीविरुद्ध गठबन्धन उभिएको र मकवानपुरको समग्र विकासका लागि मत दिन आग्रह गरे । अनेक आश्वासन दिने, भ्रम फैलाउनेबाहेक एमालेको खास काम नदेखिएको पुलामीको भनाइ थियो । नेपाली कांग्रेस मकवानपुरका नेता तथा प्रदेशसभा १ (ख)का उम्मेदवार आनन्दराम पराजुलीले एमालेले ‘तपाईंको पार्टीका उम्मेदवार नै छैनन्’ भन्दै मतदाता भड्काउने बाहेक कुनै नयाँ एजेण्डा नभएको बताए । गठबन्धनले सबैलाई समेट्ने र मकवानपुरको विकासमा लागिपर्ने भएकाले मकवानपुरका ६ जना नै उम्मेदवारलाई मत दिन आग्रह गरे ।

डीना, खतिवडा, मोक्तान, पुलामी र पराजुलीले सम्बोधन गरेको एउटै मञ्च अर्थात् मकवानपुरगढी गाउँपालिका दुई वटा प्रतिनिधिसभा क्षेत्र नम्बर र २ वटा प्रदेशसभा निर्वाचनभित्र पर्दछ मकवानपुरगढीका ८ वटा वडामध्ये १, २, ३ र ४ नम्बर वडा प्रतिनिधिसभा क्षेत्र नम्बर १ तथा प्रदेशसभा १ को (क)मा पर्छ । जहाँ प्रतिनिधिसभामा डीना र प्रदेशसभामा माओवादीका पुलामी उम्मेदवार छन् । बाँकी ५, ६, ७ र ८ नम्बर वटा प्रतिनिधिसभा क्षेत्र नम्बर २ र प्रदेशसभा २ को (क)मा पर्छ । जहाँ गठबन्धनबाट प्रतिनिधिसभामा खतिवडा र प्रदेशसभामा माओवादीकी मोक्तान उम्मेदवार छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*