गठबन्धनको जीत आवश्यकः बानियाँ

साझाकुरा
२०७९ आश्विन ३१, सोमबार १२:३८

हेटौंडा- नेपाली कांग्रेसका बागमती प्रदेश सभापति तथा सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को (ख)बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले संविधान र व्यवस्थाको रक्षाका लागि सत्ता गठबन्धनले जित्नुपर्ने बताएका छन् । कांग्रेस मनहरी गाउँपालिका–६, सुनाचुरीमा आयोजित वडास्तरीय भेला तथा चुनावी छलफल कार्यक्रममा उम्मेदवार बानियाँले कांग्रेस संधै दिनदुःखीको सेवामा हरतरहले लागिरहेको बताए । उनले यस क्षेत्रमा कांग्रेसले अघिल्लो प्रदेशसभामा जितेपछि धेरै विकास निर्माणका कार्य गरिएको बताए ।

अगुवा कार्यकर्ताहरुको गुनासा र सुझाव सुन्दै नेता बानियाँले प्रदेश सरकारमा साँढे ३ वर्ष केपी ओली निकट कम्युनिष्ट शासनकालमा केही गर्न नसकेको बताउँदै विगत डेढ वर्षदेखि कांग्रेस मन्त्री मण्डलमा प्रवेश गरेपछि करोडौंको विकास बजेट यस क्षेत्रमा पार्न सफल भएकाले सत्ता गठबन्धनलाई जिताउँदा मतको अवमूल्यन नहुने दाबी गरे ।कांग्रेस मनहरी–६ का वडा सभापति बाबुराम तितुङको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुर जिल्ला सचिव भीमसेन महत, कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख)का प्रदेश सभापति तथा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, मनहरी–६ का वडा अध्यक्ष युवराज थपलिया, पुराना तथा अग्रज नेता कुलबहादुर नगरकोटीले सत्ता गठबन्धनको आगामी चुनाव केन्द्रित विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
‘मकवानपुरमा गठबन्धनका सबै दलबाट उम्मेदवार छन्’
हेटौंडा- नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य तथा मकवानपुरको प्रदेशसभा २ को (क)की उम्मेदवार कुमारी मोक्तानले जिल्लामा गठबन्धनका सबै दलको तर्फबाट उम्मेदवार रहेको बताएकी छन् ।बागमती प्रदेशकी सामाजिक विकास मन्त्रीसमेत रहेकी मोक्तानले मकवानपुरको सबै क्षेत्रमा ५ वटै दलको उम्मेदवार भएको बताएकी हुन् । गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले सबै दलबाट उम्मेदवार भएकोले गठबन्धनका सबै उम्मेदवारलाई मत दिन आग्रह गरिन् । मोक्तानको भनाईले क्षेत्र अनुसार गठबन्धन दलको भागबण्डाले उम्मेदवार उठेकाले सबै गठबन्धनकै उम्मेदवार भएको भन्दै मत मागेकी हुन् । ५ वटै दलहरुकोतर्फबाट उम्मेदवार बनेको कारण आफुहरु संयुक्त उम्मेदवार भएकोले कुनै क्षेत्रमा कुनै दलको उम्मेदवार हुनु÷नहुनु भन्दापनि सबै क्षेत्रमा संयुक्त उम्मेदवार भएकोले ५ वटै दलको सबै क्षेत्रमा उम्मेदवार भएको बताइन् ।

मोक्तान २०७४ सालको निर्वाचनमा प्रदेश २ को (क)बाट निर्वाचित भएकी थिइन् । उनको जितमा तत्कालीन बामगठबन्धनका कारण नेकपा एमालेले समर्थन गरेको थियो । मंसिर ४ गतेको चुनावपछि बन्ने गठबन्धनको सरकारमा आफ्नो दलको उपस्थिति सम्झेर पनि मत हाल्नको लागि मोक्तानले अनुरोध गर्नि ।रगतसँग साँटेर ल्याएको व्यवस्थाको कारण परिवर्तन सम्भव भएको उनको भनाइ छ । व्यवस्था परिवर्तन भएको तर अव अवस्था परिवर्तनमा आफू लागिपर्ने उनले बताएकी छन् ।सामाजिक विभेदको अन्त्य गर्दै जनताको लागि जनताले नै संविधान बनाएको र अब यही संबिधानको रक्षाको लागि गठबन्धनको आवश्यक्ता रहेकोले गठबन्धन भएको मन्त्री मोक्तानले जनाएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*