डेंगुले काँचो नरिवल र मेवाको माग ह्वात्तै बढ्यो

साझाकुरा
२०७९ कार्तिक २, बुधबार ११:०१

हेटौंडामा पछिल्लो समय काँचो नरिवल, मेवा र किवीको माग ह्वात्तै बढेको छ । हेटौंडामा बढेको डेंगी रोगको संक्रमणसँगै काँचो नरिवल, मेवा र किवीको माग बढेको हो । डेंगी संक्रमितलाई तागतिला खाद्य पदार्थ खुवाउन र प्रतिरोध क्षमता बढाउन उपभोक्ताहरु स्याउ र केरा छाडेर काँचो नरिवल, मेवा र किवी खाइरहेका छन् ।पछिल्लो समय हेटौंडा उपमहानगरपालिकामा मात्रै ४ हजार तीनसय ५ जनामा डेंगी संक्रमण भएको छ । मकवानपुरको १० वटा स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा धेरै संक्रमित छन् । उपमहानगरपालिका दैनिक दोहोरो अंकमा डेंगी संक्रमित फेला परिरहेका छन्।
मंगलबार भने मकवानपुरमा थप ४२ जनामा डेंगु संक्रमण देखिएको छ । सोमबार जिल्लामा थप ४२ जनामा डेंगु देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्यांक अनुसार संक्रमण हुनेमा ३२ जना हेटौंडा उपहानगरपालिकाका रहेका छन् । यस्तै, मनहरी गाउँपालिकाका ५ जनामा, बकैया गाउँपालिकाका २ जनामा, कैलाश र भीमफेदी गाउँपालिकाका १÷१ जनामा र अन्य जिल्लाबाट १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । योसँगै जिल्लामा डेंगु हुनेको संख्या ४ हजार ३ सय ५ जना पुगेको छ । डेंगी रोगको कुनै ठोस उपचार नभएकोले पनि संक्रमितहरुले ठिक हुने विश्वासले शक्तिवर्धक मानिएका यी फलफूल बढी खाइरहेका छन् । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगले कडा ज्वरो आउने, पखाला लाग्ने, टाउको–जीउ दुख्ने, थकाइ महसुस हुने, वाकवाकी लाग्ने आदि लक्षण देखिन्छ । बिरामीलाई खाना रुच्दैन । छिटै कमजोर देखिन्छन् । बिरामीलाई खुवाउन नरिवलको पानी, मेवा र किबी फलदायी हुने भएकाले माग बढेको व्यवसायीले बताएका छन् । उनीहरुका अनुसार किन्न आउनेले खाने सल्लाह चिकित्सकले दिएको बताउने गरेका छन् । व्यवसायीहरुको अनुसार हेटौंडामा अहिले दैनिक सयौं गोटामा नरिवल र मेवा खपत भइरहेको छ ।

हाल बजारको मागको अनुपातमा काँचो नरिवल, मेवा र किवीको आपूर्ति पर्याप्त नभएको व्यवसायीहरु बताउँछन् । नेपालमा यी फलफूलहरु उत्पादन नहुँदा छिमेकी मुलक भारतबाट आयात भइरहेको छ । अन्य समयमा काँचो नरिवल त्यति बिक्री हुदैनथ्यो । तर, पछिल्लो समय हेटौंडाको हरेक फलफूल र तरकारी पसलदेखी ठेलामा समेत काँचो नरिवल राखेको देखिन्छ । यस्तै अरुबेला बेच्नै गाह्रो हुने किबीको खपत अहिले बढेको छ । बजारमा यतिबेला बिक्री भइरहेको किबी स्वदेशी भने होइन । किबी हाल थोकमै प्रतिकेजी ६ सय रुपैयाँभन्दा बढी पर्न थालेको व्यवसायीले बताएका छन् ।
हेटौंडा अस्पतालका डा.फूलबाबु डेंगु रोगका बिरामीलाई झोलिलो वस्तु, फलफूलको रसहरु खाना सुझाव दिने गरिएका कारण पनि उनीहरुले ती फलफूल खाने गरेको हुन सक्ने बताउछन् । शरीरका लागि आवश्यक पर्ने तत्वहरु परिपूर्ति गर्न ताजा मौसमी फलफूल, फलफूलको रस खानु उपयुक्त हुने भएपनि नामै किटेर ती फलफूल खाना सुझाव भने दिने नगरेको उनको भनाइ छ ।
उनी भन्छन्, ‘डेंगु लाग्दा रगतमा पानीको मात्रा कम भइ रक्तचाप कम हुन्छ । शरीरमा प्लेटलेटको संख्या पनि कम हुन जान्छ । जसले शरीरका लागि आवश्यक पर्ने तत्वहरुको कमी हुन जान्छ । ती तत्वहरु परिपूर्ति गर्न ताजा मौसमी फलफूल, फलफूलको रस खानु उपयुक्त हुन्छ ।’

तर नामै किटेर ती फलफूल खाना सुझाव भने नदिएको उनी बताउँछन् । डेंगुका भाइरस चार प्रकारका हुन्छन् । डेंगु ज्वरो चार प्रकारका भाइरसमध्ये कुनै एकबाट हुन्छ ।एक पटक डेंगु लागेर निको भएपछि शरीरमा त्यो भाइरसको लागि विशेष एन्टिबडी बनाइन्छ । जसले गर्दा उक्त भाइरसविरुद्ध शरीरको प्रतिरोधात्मक क्षमता बढ्छ । यो अन्य तीन प्रकारका भाइरसबाट केहीसमयको लागि मात्र सुरक्षित रहन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*