६७ हजार बालबालिकालाई भिटामिन र जुकाको औषधि

साझाकुरा
२०७९ कार्तिक ३, बिहीबार ०८:३६

हेटौंडा- मकवानपुरमा हरेक वर्ष जस्तै करिब ६७ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको छ ।स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा ६६ हजार ८ सय भन्दा बढी बालबालिकालाई बुधवारबाट भिटामिन र जुकाको औषधि खुवाउन लागिएको हो । भिटामिन ‘ए’ ३५ हजार ३ सय २० जना बालबालिकालाई खुवाइने स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण अधिकारीले जानकारी दिए । उनका अनुसार ३१ हजार ५ सय ३८ जना बालबालिकालाई जुकाको औषधी खुवाइने भएको छ । बुधवार कति बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइयो भन्ने तथ्यांक सम्बन्धित कार्मचारीले वेभसाइटमा अपडेट गर्ने भएकाले स्वास्थ्य कार्यालयसँग छैन् ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जनाएको छ । भिटामिन र जुकाको औषधि आज बिहीवार अभियानकै रुपमा सञ्चालन हुनेछ । सूचना अधिकारी घिमिरेले अभियान दुई दिन भएपनि भिटामिन र जुकाको औषधि निरन्तर खुवाइने बताए । घरदैलो गरेर पनि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइने उनले बताए ।हेटौडा उपहानगरपालिकामा ९२ जना महिला स्वास्थ्य स्वयं सेविका र ९२ जना स्वास्थ्य आमा समूहका सदस्यको सहयोगमा भिटामिन ‘ए’ र जुकाको औषाधि खुवाइने भएको छ । कार्यक्रमको दुवै दिनका लागि ९२ वटा केन्द्र तोकिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरमा ६ महिनादेखि ५ वर्षसम्मका करिब १४ हजार बालबालिकाले सेवा लिने अनुमान गरिएको छ । उपमहानगरपालिकामा प्रत्येक वडाबाट १ जना र पालिकाबाट १० जना सुपरिवेक्षक अनुगमनको लागि खटाइने छ ।६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य कार्यालयले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*