मुलुकको विकासका लागि सत्ता गठबन्धनलाई जिताउन जरुरीः डीना

साझाकुरा
२०७९ कार्तिक ४, शुक्रबार ११:४८

हेटौंडा- नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले लोकतन्त्र र संविधानको रक्षासंगै मुलुकको विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन जरुरी रहेको बताएकी छन् । बिहीबार हेटौंडा १६, १७ र १८ नम्बर वडाका गठबन्धन दलको आयोजनामा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । कांग्रेसको नेतृत्वमा ५ दलले मुलुक, संविधान र लोकतन्त्र जोगाएको स्मरण गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरेकी छिन् ।

डीनाले संविधानमा हस्ताक्षर नगर्ने र संसद् विघटन गर्दै संविधानमाथि प्रहार गर्ने दलबाट मुलुकको हित हुन नसक्ने बताइन् । शान्ति सम्झौतादेखि नै प्रचण्ड र माधवकुमार नेपालसंग गठन्धन हुँदै आएको भन्दै उनले अहिले केपी ओलीको सर्वसत्तावाद र ज्यादतीका विरुद्ध फेरि गठबन्धन गरेको बताइन् । सबै क्षेत्रको अधिकार सुनिश्चित गर्न गठबन्धनले साझा उम्मेदवार चयन गरेको उनको भनाइ छ ।हामी १४ मतले माथि छौं, डराउनुपर्ने अवस्था छैन अब आफ्नो मत जोगाउँदै मतान्तर बढाउन लाग्नुहुन अनुरोध गर्न चाहन्छु’, उनले भनिन् ।

संविधानमा हस्ताक्षर नगर्ने र संसद् विघटन गर्नेहरु प्रतिगामी भएको बताउँदै उनले सत्तारुढ गठबन्धनले प्रतिगामी शक्तिसंग चुनाव लडिरहेको बताइन् । ‘तपाईंको पार्टीको उम्मेदवार छैन भन्दै भ्रम फैलाउन खोजिएको छ, हामी ५ दलको साझा उम्मेदवार हौं, गठबन्धनको इमान्दारिता कायम राख्दै साझा उम्मेदवारलाई जिताउन लाग्नु आवश्यक छ’, उनले थपिन्, ‘आ–आफ्नो गाउँठाउँको मत जोगाउँदै एमाले र राप्रपाको भ्रमलाई चिर्दै वर्तमान सरकार र गठबन्धनले गरेको राम्रो काम जनतालाई जानकारी गराउनुहोला ।’ उद्योग कलकारखाना पुनर्जिवित बनाउँदै युवालाई रोजगारीको व्यवस्था गर्ने, हेटौंडालाई व्यवस्थित औद्योगिक नगरी बनाउने तथा शिक्षा, स्वास्थ्य एवम् भौतिक पूर्वाधार विकासलाई जोड दिने योजना रहेको उनले सुनाइन् ।

गठबन्धनको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा (क) का माओवादी केन्द्रका उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुले आफूलाई राष्ट्रवादी भन्ने नेकपा एमालेले संविधान र व्यवस्था विरोधी कमल थापालाई बोकेर हिंडेको आरोप लगाए ।‘केपी शर्मा ओलीले पटक पटक संसद् विघटन गर्दै मुलुक र संविधान मास्न खोज्दा जोगाउने शक्तिहरु अहिले एक ठाउँमा रहेका छौं । संविधानमा हस्ताक्षर नै नगर्ने र संविधान मास्न खोज्नेहरु हाम्रा विरुद्ध रहेका छन्’, उनले भने, ‘अब को राष्ट्रवादी, को राष्ट्रघाति जनताले चिन्ने बेला आएको छ ।’

प्रदेशको संरचना हटियामा लैजान खोज्दा एमालेबाट निर्वाचित तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले नदिएको आरोप लगाउँदै उनले राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री भएपछि गठबन्धन नेतृत्वको सांसद्हरुको पहलमा हटियामा संरचना निर्माण गर्न लागिएको उनले जानकारी दिए । मुलुकको विकास एवम् प्राप्त उपलब्धीको रक्षाका लागि सत्तारुढ गठबन्धनका उम्मेदवारले जित्नुपर्ने औंल्याउँदै उनले मकवानपुरको सबै क्षेत्रमा गठबन्धनको जित सुनिश्चित भैसकेको दावी गरे ।

‘स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार मान्ने हो भने पनि हामी धेरै मतान्तरमा रहेका छौं’, छिन्तुले थपे, ‘हाम्रो मतलाई सुरक्षित राख्दै एमाले र राप्रपाको भ्रम र झुटको खेतीलाई जनतासम्म पु¥याउनु जरुरी छ ।’गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) का उम्मेदवार आन्दराम पराजुलीले आफूहरु ५ दलकै साझा उम्मेदवार भएकोले सबै राजनीतिक दलले अपनत्व ग्रहण गर्ने गरी काम गर्ने बताएका छन् ।गठबन्धनले हटियामा आयोजना गरेको कार्यक्रममा उनले अब ५ दलकै नेता कार्यकर्ताहरुले एक अर्कालाई विश्वास गर्दै आफ्ना उम्मेदवारहरुलाई जिताउन लाग्ने बेला आएको बताएका छन् । ‘गठबन्धनलाई विश्वास नगर्दा एकजना माननीयले हार्यो भने गठबन्धन नै सरकार बाहिर रहने स्थिति आउनसक्छ’, पराजुलीले भने, ‘संविधान च्यात्न खोज्ने र जनतामाथि कुठाराघात गर्नेहरु विरुद्ध बनेको यो पवित्र गठबन्धन हो ।
संविधान र व्यवस्था विरोधी तत्वहरु हाम्रो प्रतिस्पर्धी छन् भनेर हामीले बुझ्न र बुझाउन जरुरी छ ।’

जनताको प्रतिनिधि बनाएर पठाउन अनुरोध गर्दै उनले प्रत्येक दिन २४ घण्टा नै जनताको सेवामा खटिने प्रतिबद्धता जनाए ।‘क’ मा प्रेमबहादुर पुलामी र ख मा आफूलाई मतदान गर्न अनुरोध गर्दै उनले प्रतिनिधिसभा सदस्य पदका लागि केन्द्रमा पहुँच भएको र मकवानपुरको भूगोल बुझेको महिला नेतृ महालक्ष्मी उपाध्याय डिना उम्मेदवार रहेकोले मतदान गर्न अनुरोध गरे ।नेकपा माओवादी केन्द्रका १७ नम्बर वडा अध्यक्ष रंग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिवालय सदस्य कृष्णबहादुर सापकोटा, नगर अध्यक्ष ध्रुवबहादुर भुजेल, नेपाली कांग्रेसका संघीय सभापति दामोदर खनाल, नेकपा माओवादी केन्द्रका नेता विजय गौतम लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*