स्वास्थ्य केन्द्र बनेपछि चिप्लेटीबासीलाई राहत

साझाकुरा
२०७९ कार्तिक ५, शनिबार ०९:५८

हेटौंडा- १० रुपैयाँको ट्याबलेट लिन बाराको अमलेखगञ्ज पुग्नुपर्ने हेटौंडाको विकट गाउँ चिप्लेटीबासीलाई गाउँमै स्वास्थ्य केन्द्र खुलेपछि राहत मिलेको छ । सामान्य उपचार लिनसमेत छिमेकी जिल्ला पुग्नुपर्ने बाध्यतामा हेटौंडा उपमहानगरपालिका–१५, स्थित चिप्लेटीबासी थिए । नगरकै विकट चिप्लेटीमा स्वास्थ्य केन्द्र नहुँदा सामान्य पेट दुखाईदेखि, ज्वरो, रुघा खोकी लाग्दासमेत उपचार र औषधि लिन बारा पुग्नुपर्ने समस्या थियो ।सडक सञ्जाल नबनेका कारण चिप्लेटीबासीलाई हेटौंडा आउन भन्दा बाराको अमलेखगञ्ज पुग्न नजिक हुन्छ ।

सडकलगायतका पूर्वाधार विकास चिप्लेटीसम्म नपुग्दा उनीहरु आधारभूत आवश्यकताबाट पनि स्थानीय बञ्चित भएका थिए ।अब स्वास्थ्य जस्तो संवेदनशील विषयमा उनीहरुले गाउँमै उपचार पाउने भएका छन् । १५ नम्बर वडा कार्यालयले चिप्लेटीमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । चिप्लेटीका बासिन्दाले बुधबारदेखि गाउँमै औषधिसहितको स्वास्थ्य सुविधा पाएका हुन् । वडा अध्यक्ष सुनिल मोक्तानले वडा अध्यक्षमा निर्वाचित भएदेखि नै चिप्लेटीमा स्वास्थ्य केन्द्र खोल्ने योजना बनाएका थिए । उनले निर्वाचनको समयमा आफूले गरेको वाचा छिट्टै पूरा गरेर विकट चिप्लेटीका नागरिकलाई गाउँमै उपचार दिने गरी स्वास्थ्य केन्द्र खोल्न सफल भएको बताए ।

१० रुपैयाँको औषधि ट्याबलेट लिन स्थानीयहरु १ हजार रुपैयाँसम्म खर्च गरेर बारा र हेटौंडासम्म आइपुग्नु पर्ने अवस्थाको अन्त्य भएको वडा अध्यक्ष मोक्तानले बताए ।
सदरमुकाम हेटौंडाबाट करिब ३ घण्टाको सवारी यात्रामा बाराको अमलेखगञ्ज हुँदै चिप्लेटी पुग्न सकिन्छ । करिब १ सय ६० घरपरिवार रहेको चिप्लेटीबाट वडा कार्यालयमा सञ्चालनमा रहेको स्वास्थ्य केन्द्रसम्म आउन ३ घण्टाको पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो । हेटौंडाका यसअघिका मेयर हरिबहादुर महतले चिप्लेटीमा आधारभूत तहसम्मको विद्यालय सञ्चालन गरेका थिए । पाँच वर्षअघिसम्म चिप्लेटीमा शिक्षाका लागि विद्यालय र उपचारका लागि स्वास्थ्य केन्द्रसमेत दिएन् ।

स्वास्थ्य केन्द्र उद्घाटनमा हेटौंडा उपमहानगरकी प्रमुख मिनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँलगायतको उपस्थिति थियो । मेयर लामाले चिप्लेटीवासीले पाएको स्वास्थ्य सुविधालाई स्तरवृद्धि गर्दै लैजान प्रतिबद्धता बताइन् । चिप्लेटीबासीले लामो समयपछिको दुःखबाट स्वास्थ्य केन्द्र पाएको भन्दै आवश्यक वस्तुको अभाव हुन नदिने बताइन् । नगरवासीलाई न्यूनतम आधारभूत सुविधा दिन कहिल्यै पछि नपर्ने उनको भनाई छ ।

स्थानीय जेष्ठ नागरिक चन्द्रबहादुर घलानले नवनिर्मित सहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरेका छन् । केन्द्रमा घलानको पहिलो स्वास्थ्य जाँच गरिएको थियो । केन्द्रमा खोप सेवा, बालस्वास्थ्य उपचार, दादुरा, रुबेलाको उपचार, गर्भवती जाँच, पोषण कार्यक्रम सामान्य उपचार सेवा, क्षयरोग, कुष्ठ र औंलोका औषधिसहित सुविधाहरु रहने वडा अध्यक्ष मोक्तानले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*