मकवानपुरलाई प्रदेश क्रिकेटको उपाधि

साझाकुरा
२०७९ कार्तिक ५, शनिबार १०:०८

हेटौंडा- मकवानपुरले प्रधानमन्त्री कपअन्तर्गत बागमती प्रदेश छनोटमा उपाधि जितेको छ । बागमतीबाट ललितपुरलाई हराउँदै मकवानपुर विजेता बनेको हो । उपाधि जितेसँगै मकवानपुरले १३ कार्तिकदेखि २६ गतेसम्म काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने पाँचौं संस्करणको प्रधानमन्त्री कप एक दिवसिय राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ । प्रधानमन्त्री कपको उपाधि जित्नेलाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ पुरस्कार छ । छनौटमा परेको मकवानपुरले शुक्रबार माथिल्लो मुलपानी मैदानमा भएको खेलमा ललितपुरलाई झिनो २ रनले पराजित गर्न सफल भयो । मकवानपुरको जितमा बलर रामनरेश गिरी र पियुष शर्माले उत्कृष्ट बलिङ गरेका थिए ।

टस जितेर ब्याटिङ रोजेको मकवानपुरले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बटुलेको थियो । रामनरेश गिरीले २३, असिम श्रेष्ठले २१, गौरभ र विशाल फुँयाल २६–२६ रन योगदान गरे । जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको ललितपुर ३५ दशमलव १ ओभरमा १ सय ४९ रन बनाएर अल आउट भएको थियो । ललितपुरका लागि सूर्य तामाङले ८ ओभरमा ४ मेडनसहित १३ रन खर्चेर ४ विकेट लिए । हरिओम जोशी र शशांक अग्रवालले दुई दुई विकेट लिए ।

ललितपुरका आदिल खानले ७१ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५१ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । मकववानपुरका राम नरेश गिरीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ४ विकेट लिए । पियुष शर्माले ६.१ ओभरमा २ मेडनसहित २० रन खर्चेर ५ विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*