मकवानपुरगढीमा आज जोडी दौड हुँदै

साझाकुरा
२०७९ कार्तिक ५, शनिबार १०:१४

हेटौंडा- मकवानपुरमा पहिलो पटक जोडी दौड प्रतियोगिता हुँदैछ । नेपालको पश्चिमी जिल्लाहरुमा हुने यस्ता प्रतियोगिता मकवानपुरमा पहिलो पटक हुन लागेको हो ।
प्रतियोगिता मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक क्लब नव जागृत क्लबका अध्यक्ष रामकुमार खड्काले भाइचारा, सम्बन्ध, स्नेह र पारिवारिक सामिप्यता एंव सुखद दाम्पत्य जीवनको उद्देश्य लिई पालिका स्तरिय जोडी दौड प्रतियोगिता गर्न लागिएको बताए ।

उनले शुक्रबार विहान सम्म २९ जोडीले प्रतियोगिताको लागि नाम दर्ता गराइ सकेको र शनिबार प्रतियोगिता सम्ममा थप दर्ता भई ४० जोडीले दर्ता गर्ने अपेक्षा लिएको बताएका छन् । प्रतियोगिताको तयारी पुरा भएकाले कार्यक्रममा सबैलाई उपस्थिति हुन उनले आग्रह गरेका छन् । खेल शारदा माविको खेल मैदानमा हुनेछ । श्रीमानले आफ्नी श्रीमतीलाई बोकेर दौडिनुपर्ने खेलको नियम रहेको भन्दै प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितीय हुनेले पाँच हजार, तृतीय हुनेले तीन हजार र सान्त्वना हुनेले नगद २ हजार प्राप्त गर्ने अध्यक्ष खड्काले बताए ।

प्रतियोगितामा करिब ८० हजार खर्च हुने जनाइएको छ । चार वटै नगद पुरस्कार विभिन्न समाजसेवीहरुले सौजन्य गरेको अध्यक्ष खड्काले बताए । क्लबले विजयादशमीको अवसरमा दुर्गापुजा, लिड्डे पिङ हाल्नुका साथै विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउदैं आइरहेको छ ।यस प्रतियोगिता सम्पन्न पश्चात यस वर्ष दीपावलीमा क्लबले पञ्चेबाजासहित देउसीभैलो कार्यक्रम पनि गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*