१ नम्बर क्षेत्रमा विकासको मुल फुटाउने डीनाको उद्घोष

साझाकुरा
२०७९ कार्तिक ६, आईतवार ०९:५३

हेटौंडा, ५ कार्तिक÷ सत्ता गठबन्धनबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले आफ्नो क्षेत्रमा विकासको मुल फुटाउने बताएकी छन् ।बकैया गाउँपालिका स्तरीय बाम लोकतान्त्रिक गठबन्धनको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डीनाले प्रत्यक्ष निर्वाचन जितेको अवस्थामा १ नम्बर क्षेत्रमा विकासले गति लिने बताएकी हुन् । डीनाले निर्वाचन क्षेत्रको विकास र जनचाहना लाई नजीकमा रहेर सम्बोधन गर्ने बताइन् । डीनाले आफ्नो निर्वाचन क्षेत्रभित्रका स्थानीय सरकारमा गठबन्धनकै नेतृत्व रहेको भन्दै विकास र समृद्धिमा कसैले रोक्न नसक्ने बताएकी छन् ।

‘हाम्रो निर्वाचन क्षेत्रमा जहाँसुकै हाम्रो उपस्थिति छ । बागमतीमा सर्केश जी, बकैयामा धर्म जी, नगरमा मिना जी हुनुहुन्छ । अनि विकास र समृद्धिको कुरा गर्न हामीलाई कसले रोक्छ ? अब प्रदेश र केन्द्रमा हाम्रो उपस्थितिले मकवानपुरको समुचित विकास हुन कसैले रोक्न सक्दैन्,’ डीनाले भनेकी छन् । मुलुकमा अप्ठेरो पर्दा लोकतान्त्रिक पद्वतिमा ल्याउने कांग्रेस, माओवादी, समाजवादीको शक्ति रहेको भन्दै देशको आवश्यकताका आधारमा गठबन्धन बनेको दाबी गरिन् ।

‘प्रतिगामी शक्तिहरु जब जुर्मुराउन थाल्छन, व्यवस्थामाथि धावा बोल्छन, तिनकोविरुद्ध प्रगतिशील शक्तिहरुले राष्ट्र देश र संविधान जोगाउन गठबन्धन निर्माण गरेको हो,’ डिनाले भनिन् । म जित्छु भन्दै केही थान कार्यकर्तालाई प्रलोभन दिने उम्मेदवारहरुलाई विश्वास नगर्न डिनाको आग्रह थियो ।गठबन्धनबाट प्रदेशसभा १ को (क)का उम्मेदवार प्रेमबहादुर पुलामीले बामगठबन्धनको उम्मेदवार जिताउन आग्रक गरे ।

अधुरो योजनालाई पूरा गर्न आफ्नो पुनः उम्मेदवारी रहेको पुलामीले बताए । यस क्षेत्रको विकास, शिक्षा स्वास्थ्य र भूमिहीन हरुको भूमि प्राप्तिको लागि भूमिका रहने बताउँदै पुलामीले संघ र प्रदेशमा मन्त्रालयगत बजेटमा समेत पहुँच हुने विकासका लागि समस्या नहुने धारणा राखे ।
कांग्रेस बकैया गाउँपालिका सभापति दिलबहादुर भोम्जनको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नीति तथा योजना आयोग सदस्य प्रल्हाद लामिछाने, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*