मकवानपुरमा डेंगु संक्रमित ५ हजार नाघ्यो

साझाकुरा
२०७९ कार्तिक १५, मंगलवार ०९:२८

हेटौंडा- मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार नाघेको छ । आइतबार थप १३ जनामा डंगु पुष्टि भएसँगै संक्रमितहरुको संख्या ५ हजार नाघेको हो । साउन यता जिल्लामा ५ हजार ३७ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयको अनुसार जिल्लामा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा संक्रमित भएका छन् । हेटौंडामा हालसम्म दुई हजार एकसय ९९ पुरुष र एकहजार सातसय ४८ महिला गरी तीन हजार नौसय ४७ जना संक्रमित फेला परेका छन् ।

यसैगरी, थाहा नगरपालिकाको ९४ जना पुरुष र ५३ जना महिला गरी एकसय ४७ जना डेंगु संक्रमण पुष्टि भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । मकवानपुरगढी गाउँपालिकाको ४२ पुरुष र २८ महिला गरी ७० जना, मनहरी गाउँपालिकाको तीन सय ८७ पुरुष र तीन सय ३६ महिला गरी सात सय २३ जना र बगमती गाउँपालिकाको ४ जना पुरुष र ३ जना महिला गरी ७ जनामा डेंगु पुष्टि भएको छ । कैलाश गाउँपालिकाको ४ जना पुरुष र ३ जना महिला गरी ७ जना, भिमफेदी गाउँपालिकाको १७ जना पुरुष र २० जना महिला गरी ३७ जना, बकैया गाउँपालिकाको १२ पुरुष र २४ महिला गरी ३६ जना, राक्सिराङ गाउँपालिकाको १५ पुरुष र ४ महिला गरी १९ जना र इन्द्रसरोवर गाउँपालिकाको १ पुरुष र दुई महिला गरी ३ जनामा डेंगु संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । कार्यालयको अनुसार १४ पुरुष र १३ महिला गरी २७ जना ठेगाना नखुलेका तथा १० पुरुष र ४ महिला गरी १४ जना अन्य जिल्लाकालाई एडिसजातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो ।

ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् । एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यपत्रअनुसार डेंगुले गर्दा शरीरको रगत जम्न (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ । यसको घातक रुप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ । डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन् । सामान्य डेंगु ज्वरो,
हेमोरेजिक र सक सिन्डूोम गरी डेंगु ज्वरो तीन प्रकारको हुन्छ । हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ ।

सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ । डेंगुको ज्वरो आएको तीनदेखि सात दिनसम्म नाजुक स्थिति हुन्छ । डेंगु प्रभावित क्षेत्रमा ज्वरो आउँदा आफूखुसी आइब्फेन, डाइक्लोफिनाक, एस्प्रिन आदि सेवन गर्नु हुँदैन । डेंगु ज्वरोका बिरामीहरुलाई राहत प्रदान गर्न उपचार गरिन्छ । खासमा डेंगुको कुनै उपचार नै छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाहअनुसार निगरानीमा रहँदा यो संक्रमणले हुने मृत्युलाई शून्यमा झार्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*