दीपक सिंहप्रति मधु अधिकारीको कडा टिप्पणी ‘वडा अध्यक्ष उठ्न आए आश्चर्य नमान्नू’

साझाकुरा
२०७९ कार्तिक १५, मंगलवार ०९:३१

हेटौंडा- मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राप्रपाबाट उम्मेदवार दीपकबहादुर सिंहलाई उनकै पूर्वसहकर्मी मधु अधिकारीले काउन्टर दिएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय निर्वाचन आयोग सदस्य मधु अधिकारीले राप्रपाका उम्मेदवार सिंहलाई वडा अध्यक्षको चुनाव लड्न आए आश्चर्य नमान्न आग्रह गरेका छन् । सिंह र अधिकारी गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचन अघि राप्रपाका सहयात्री थिए । स्थानीय तहको निर्वाचनपछि राप्रपा छोडेर एकीकृत समाजवादी रोजेका अधिकारीले सोमबार गठबन्धनको चुनावी अभियानअन्तर्गत् हेटौंडा–६ मा भएको प्रचारप्रसार कार्यालयको उद्घाटनमा बोल्दै सिंह प्रतिनिधिसभा निर्वाचन हारेपछि वडा अध्यक्ष उठ्न आए भनेपनि आश्चर्य नहुन भनेका हुन् ।

‘एउटै मान्छे मेयरको चुनाव पनि लडेको छ । त्यसको ६ महिना नबित्दै फेरि त्यै मान्छेलाई प्रतिनिधिसभा सदस्य पदको टिकट पनि चाहिएको छ’, अधिकारीले भने–‘दीपक सिंह भन्ने मान्छे अब वडा अध्यक्षमा चुनाव लड्यो भने आश्चर्य नमान्दा हुन्छ’, मकवानपुरे जनताको लागि कमल थापा र दीपक सिंह दुबै उपयुक्त नभएको अधिकारीको आरोप थियो । आफूले थापा र सिंहसँग ३७ वर्ष संगत गरेको भन्दै अधिकारीले चुनाव आएपछि मात्रै उहाँहरु गाउँ छिर्ने गरेको आरोप लगाए । चुनाव लागेपछि गाउँ छिरेका थापा र सिंहले जनतालाई अनेक प्रलोभन र आश्वासन बाँड्न व्यस्त भएको अधिकारीले आरोप लगाएका हुन् ।

थापा र सिंह उपयुक्त भएको भए आफू गठबन्धन पक्षमा मत मागिरहेको नहुने दाबी गरे । ‘उहाँहरु उपयुक्त नभएकैले मैले साथ छोडेर नयाँ राजनीतिक यात्रा थालेको हुँ,’ उनले भने । गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस केन्द्रीय सहमहामन्त्री ‘पावरफुल’ मन्त्री बन्ने हैसियतको भएको दाबी गर्दै उनले उनको विकल्प अरु उम्मेदवार हुनै नसक्ने ठोकुवा गरे । डिनाको प्रशंसा गर्दै अधिकारीले भने, ‘महिलाको समस्या र मकवानपुरको भूगोल बुझेको नेता हुनुहुन्छ, उहाँँलाई हामीले जिताउन सक्यौं भने मन्त्री पक्का छ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*