मकवानपुर एमालेविहीन हुन्छः बानियाँ

साझाकुरा
२०७९ कार्तिक १६, बुधबार ०९:२५

हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले मकवानपुर एमालेविहीन हुने बताएका छन् । चुनावी अभियान अन्तर्गत मंगलबार मनहरी गाउँपालिका–३ हाँडीखोलामा भएको लोकतान्त्रिक–वाम गठबन्धनको चुनाव प्रचार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै बानियाँले मकवानपुर एमालेविहीन बन्ने बताएका हुन् । उनले झुटको कुरा गर्ने एमालेबाट जनताको शान्ति र समृद्धि सम्भव नभएको बताए । ‘एमालेले मुलुकमा सधैं झुटा आश्वासन र नारा बाहेक केही दिन सकेको छैन’, बानियाँले भने, ‘एमालेको नेता, नीति र नियति ठिक छैन, भोगाइ पनि ठिक हुन्न ।’

एमालेलाई मनहरी गाउँपालिकाले स्थानीय तहमै अस्वीकार गरिसकेकोले अब प्रदेश र संघमा अस्वीकार गर्नुपर्ने उनको भनाइ थियो । गत स्थानीय निर्वाचनमा एमालेले मनहरीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित एउटा पनि वडा अध्यक्ष जित्न नसकेको प्रसंग निकाल्दै उनले अबको निर्वाचनबाट मकवानपुर एमालेविहीन हुने दाबी गरे । गणतन्त्रका लागि लडेकाहरुलाई गोली हान्ने कमल थापा र देश टुक्र्याउँछु भन्ने सीके राउत लगायतलाई एमालेले बोकेर हिंडेको भन्दै उनले एमालेले जितेमा मुलुक फेरि दुर्घटनामा जानसक्ने बताए । सनकको भरमा संसद् विघटन गर्नेलाई फेरि किन भोट दिने ? भन्दै प्रश्न गर्नु जरुरी रहेको उनको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*