बृद्धभत्ता राज्यको सम्मान हो, एमालेले चुनावी नारा बनाउनु अपमानः डीना

साझाकुरा
२०७९ कार्तिक १७, बिहीबार १०:५५

हेटौंडा- नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री एवम् गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरको विकास र समृद्धिका लागि पनि गठबन्धनका उम्मेदवारले जित्न जरुरी रहेको बताइन् ।बुधबार हेटौंडा १५ मा रहेकोे दिव्यसेवा निकेतन जेष्ठ नागरिक आश्रय स्थल पुगेर उनले यस्तो बताएकी हुन् । गठबन्धनले जिते मात्रै ज्येष्ठ नागरिकको उचित सम्मान हुने उनले बताइन् । एमालेले ज्येष्ठ नागरिकलाई सधैं बृद्धभत्तासंग जोडेर चुनावी नारा बनाउने गरेको भन्दै उनले राज्यले गर्ने सम्मानलाई चुनावी नारा बनाएर अपमान गर्न नहुनेमा जोड दिइन् ।

उनले ज्येष्ठ नागरिकलाई सम्मानित र स्वस्थ जीवन बाँच्ने अधिकारको सुनिश्चित गर्नु आफ्नो मुख्य एजेण्डा रहेको बताइन् । ‘संविधान निर्माणको क्रममा ज्येष्ठ नागरिक र महिलाको अधिकारको लागि हस्ताक्षर गर्ने महिला हुँ’, उनले थपिन्, ‘यहाँ संविधान नै नमान्ने र पटक–पटक संविधानमाथि प्रहार गर्नेहरु मिलेर अनेक फोस्रा नारा र झुटा आश्वासन लिएर चुनावी मैदानमा आएका छन् । त्यस्तालाई चिन्नु र बहिष्कार गर्नु जरुरी छ ।’ मकवानपुरको विकास र समृद्धिका लागि पनि गठबन्धनका उम्मेदवारले जित्न जरुरी रहेको उनको भनाइ थियो । करिब ४ वर्ष आफ्नै पार्टीको प्रधानमन्त्री र बागमती प्रदेशको मुख्यमन्त्री हुँदा देखिने काम गर्न नसक्नेहरु फेरि अनेक नारा लिएर भोट माग्न आएको उनको आरोप थियो ।

यसैगरी, गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार आनन्दराम पराजुलीले आफूहरु गठबन्धनको साझा उम्मेदवार भएकोले चुनावपछि पनि साझा भएरै काम गर्ने प्रतिबद्धता जनाए । गठबन्धनका उम्मेदवारहरु सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एस), जनमोर्चालगायत दलको साझा भएकोले सबैको साझा भएरै काम गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘संविधान पक्षधरहरु अहिले पवित्र उद्देश्यले गठबन्धनसहित चुनावी अभियानमा छौं । संसद्, संविधान र लोकतन्त्र मास्न खोज्नेहरु पनि एक भएर आएका छन्, अब वास्तविक देशभक्त र लोकतन्त्रवादी शक्ति छुट्याउनुपर्ने बेला आएको छ’, उनले भने, ‘२०६२÷६३ को आन्दोलनमा दमन गर्ने, राजा फर्काउँछु भन्ने र प्रतिगामी तत्वलाई परास्त गर्नु आवश्यक छ ।’ जनतामाझ जाने कुनै एजेण्डा नै नभएपछि एमालेका नेता कार्यकर्ता तथा उम्मेदवार अहिले गठबन्धन भाँड्न र अनेक भ्रम फैलाउन लागि परेको पराजुलीले बताए ।

‘कांग्रेसले कांग्रेसलाई सहयोग गर्दैन, गठबन्धन दलको नेता कार्यकर्ताको बीचमा एकता छैन, एउटा पार्टीका कार्यकर्ताले अर्को पार्टीका उम्मेदवारलाई भोट हाल्दैन भन्ने भ्रम छरेको पाइएको छ’, उनले भने, ‘यी सब भ्रम हुन् । गठबन्धनमा कुनै समस्या छैन । मकवानपुरको ६ वटै पदमा गठबन्धनका उम्मेदवारको जीत सुनिश्चित रहेको छ । मतान्तर बढाउने काममा लाग्नु जरुरी छ ।’ कार्यक्रममा कांग्रेसका नगर सचिव हर्करत्न लामा, दीव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डा. गणेश बल लामालगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*