जनतालाई आर्थिक समृद्धितर्फ लैजान गठबन्धनः बानियाँ

साझाकुरा
२०७९ कार्तिक १८, शुक्रबार १४:१४

हेटौंडा- लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले भ्रष्टाचार न्यूनिकरण गर्दै देश र जनतालाई आर्थिक समृद्धितर्फ लैजान गठबन्धनकै नेतृत्व आवश्यक भएको बताएका छन् । बिहीबार कैलाश गाउँपालिकामा भएको बृहत सभालाई सम्बोधन गर्दै कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले यस्तो बताएका हुन् । उनले गठबन्धनकै नेतृत्वमा अब आम जनताको अवस्थामा परिवर्तन आउने बताए । केपी ओली नेतृत्वको सरकारले २÷२ पटक प्रतिनिधिसभा विघटन गरी समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, संविधान जस्ता महत्वपूर्ण उपलब्धि मास्न खोजेको भन्दै संविधानबिरोधी तत्वलाई यो निर्वाचनबाट जरैदेखि उखेल्नुपर्ने उनको भनाइ छ ।

बानियाँले भने, ‘गणतन्त्र ल्याउने बेलामा लाखौँ जनता सडकमा हुँदा ओली कुनै आन्दोलनमा थिएनन्, बयलगाडा चढेर अमेरिका पुग्नु र गणतन्त्र आउनु एकै हो भन्दै बसेका ओली सत्तामा रहँदा भ्रष्टाचार र विभिन्न घोटालामा संलग्न रहे ।’४ वर्ष केन्द्र र प्रदेश सरकारको नेतृत्व गर्दा बजेट विनियोजनमा कैलाश गाउँपालिकालाई एमालेले उपेक्षा
गरेको भएपनि गठबन्धनको सरकार आउनासाथ १० महिनामा १८ करोड बजेट पूर्वाधार विकासमा विनियोजन गरिएको उनले बताए । कैलाश–९ लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन प्रचारप्रसार समितिका संयोजक भुवनसिं घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा गठबन्धनबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार विरोध खतिवडा, कांग्रेस बागमती प्रदेश सदस्य चम्फुरत्न लामा, माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य जनक बर्तौला, कांग्रेस मकवानपुर क्षेत्र नम्वर २ का संघीय सभापति लोकबहादुर मुक्तान, महासमिति समस्य उमा दाहाल, एकीकृत समाजवादी जिल्ला सदस्य अरुण बर्तौलालगायत नेताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*