डीनाद्वारा संकल्प सार्वजनिक सबल महिला, अवसरमा पहिला

साझाकुरा
२०७९ कार्तिक २०, आईतवार ०९:५७

हेटौंडा- यही मंसिर ४ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले आफ्नो संकल्प सार्वजनिक गरेकी छन् । ‘सबल महिला, अवसरमा पहिला’ भन्दै डीनाले शनिबार आफ्नो संकल्प सार्वजनिक गरेकी हुन् । उनले सबल महिला, अवसरमा पहिला भन्दै महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेकी छन् । डीनाले युवाको रोजगारलाई पहिलो प्राथमिकता दिँदै हेटौंडा उपमहानगरलाई समृद्ध बनाउन औद्योगिकीकरणमा जोड दिएकी छन् । विद्यार्थी राजनीतिहुँदै संविधान निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनले समान अवसर, न्यायपूर्ण समाजको निर्माण र महिलाको सम्मान गर्ने उल्लेख गरेकी छन् ।

त्यसैगरी शान्ति र समृद्धिको पहिचान, गठबन्धनको सरकार निर्माणमा जोड दिएकी छन् । प्रत्यक्ष जनताको सुखदुःखमा रहेर काम गर्न र महिला नेतृत्वका लागि भन्दै समानुपातिकतर्फको पहिलो नम्बरमा रहेको आफ्नो नाम छोडेर प्रत्यक्षतर्फ चुनावमा होमिएकी डीनाले सम्मानित स्वस्थ जीवन र सुरक्षा, ज्येष्ठ नागरिकको हेरचाहलाई पनि प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य, कृषि, सहकारी र उद्योग कलकारखानाबाट युवालाई रोजगारी दिने आधारहरु प्रस्तुत गरेकी छन् । सफा, सुन्दर, हरियाली र भौतिक पूर्वाधार सम्पन्न प्रदेश राजधानी बनाउने, विकट भेटमा समेत आवश्यक भौतिक संरचनाको निर्माणमा प्रतिबद्धता जनाएकी छन् । पूर्वराज्यमन्त्री भएर समेत काम गरिसकेकी उनले सुशासन, दीगो विकास र राष्ट्र निर्माणमा आफ्नो योगदान र सरोकार रहने उल्लेख गरेकी छन् ।

विद्यार्थी र महिला नेतृ हुँदै कुशल सहकारीकर्मीको परिचय समेत बनाइसकेकी उनले शिक्षाको क्षेत्रमा समेत योगदान पु¥याएकी छन् । संविधानको रक्षा, राजनीतिक स्थीरता, सदाचारी एवम् सक्षम राज्य संयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि नेपाली कांग्रेसको सिफारिसमा सत्तारुढ गठबन्धनले आफूलाई मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*