भ्रष्टाचारमुक्त प्रदेशदेखि विमानस्थल निर्माण गर्नेसम्म

उम्मेदवार ईन्द्रबहादुर बानियाँको संकल्प
साझाकुरा
२०७९ कार्तिक २१, सोमबार १०:३१

हेटौंडा- आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ (ख) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले आफ्नो संकल्प सार्वजनिक गरेका छन् । ५ दलीय सत्ता गठबन्धनको तर्फबाट सो क्षेत्रमा उम्मेदवार रहेका बानियाँले ३१ बुँदे संकल्प सार्वजनिक गरेका हुन् । कांग्रेसका मन्त्रीहरूको व्यक्तिगत कार्यकुशलता र पार्टीको निर्देशन पालना नै गौरबका विषय भएकाले बानियाँले आगामी पाँच वर्ष आफ्नो नेतृत्वमा सरकार चलाउँदा बागमती प्रदेशलाई आर्थिकरूपमा सम्पन्न, गुणस्तरीय पूर्वाधारमा अब्बल, तहगत सुमधुर सम्बन्ध, सुशासनको नमूना, उच्च मनोबलसहितका कर्मचारीहरू, समुन्नत सँस्कृति, गरिखाने युवाहरू सहितको प्रदेश बनाउने संकल्प गरेका छन् ।

‘विपन्न बागमती प्रदेशबासी सबैको आफ्नो घर हुनेछ, विद्यार्थीहरूले सुलभ गुणस्तरीय शिक्षा पाउने वातावरण बन्नेछ, धेरै प्रकारका बिरामीको स्वास्थ्य उपचार आफ्नो घरनजिकको स्वास्थ्य संस्थामा हुनेछ, बाटोघाटो धेरै र गुणस्तरीय हुनेछन्, गरिखाने युवाहरू स्वदेशमै स्वरोजगार वा रोजगार हुनेछन् । कसैप्रति कुनै रूपमा भेदभाव हुने छैन, राज्यको स्रोतको वितरण पारदर्शी र समुचित हुनेछ’, उनको संकल्प पत्रमा उल्लेख छ । बानियाँको संकल्पमा कूल गार्हस्थ उत्पादन हालको १८ खर्ब रूपैयाँबाट बढाएर २७ खर्ब पु¥याउने, वार्षिक बजेटको आकार हालको करिब ७१ अर्ब रूपैयाँबाट बढाएर २ खर्ब रूपैयाँ पु¥याउने, विद्युत उत्पादन क्षमता पाँच हजार मेगावाट पु¥याउने, आर्थिक रूपमा विपन्न, लोपोन्मुख तथा अति सीमान्तकृत समुदायहरू बनकरिया, चेपाङ, थामी, जिरेल, माझी, दनुवार, सुरेल, भोटे र गन्धर्व लगायतकाहरूको घर सरकारले बनाइदिने, विपन्न परिवारको शिक्षामा छात्रवृत्तिको दायरा बढाउने, गुणस्तरीय शिक्षा सुलभ बनाइने, पूर्ण स्वास्थ्य बीमा कार्यक्रम लागू गरिने र प्रदेशभित्रका कोही पनि वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा अलपत्र परेमा त्यस्ता व्यक्तिलाई र मृत्यु भएकाको अवस्थामा उनीहरूको शवलाई प्रदेश सरकारले आफ्नै खर्चमा नेपाल ल्याएर परिवारको जिम्मा लगाइने कुराहरु उल्लेख गरिएको छ ।

त्यस्तैगरी, प्रदेश राजधानीमा नयाँ विमानस्थल बनाउन पहल गर्ने, २० वटा अत्याधुनिक शहर बसाउने, प्रदेश चक्रपथ निर्माण गर्ने, बागमती प्रदेशका १३ वटै जिल्ला सदरमुकामलाई प्रदेशको राजधानीसम्म १२ महिना नै सहजरूपमा आवत–जावत हुन सक्ने गरी संघीय सरकारसँगको सहकार्यमा कालोपत्रे÷ढलान पक्की सडक सञ्जालले जोडिने, पारदर्शिता कायम गर्दै भ्रष्टाचार मुक्त प्रदेश बनाइने, कृषिलाई आधुनिकीकरण गर्दै उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, कृषि बीमाको दायरा फराकिलो बनाइने, जिल्ला अस्पतालहरूलाई साधन र श्रोत सम्पन्न गराइने र रगत निःशुल्क उपलब्ध गराउने संकल्प बानियाँले गरेका छन् । उनले सरकारी अस्पतालमा उपचार
गराउने एकल महिला, ज्येष्ठ नागरिक, शारीरिक एवम् मानसिक अशक्तता भएका र लोपोन्मुख जातिका नागरिकको उपचार खर्च सरकारले व्यहोर्ने, युवा स्वरोजगार कार्यक्रम ‘गरिखाने’ मार्फत् युवाहरूलाई रोजगार बनाइने, आफ्नो रोजाइको काम गर्न तालिम र श्रोत प्रदान गरी रोजगारी दिइने, हरेक घरमा पानीको धारा पु¥याइने, प्राकृतिक सौन्दर्यहरू, मठ, मन्दिर, मेला, पर्व, जात्रा, जातीय मौलिकतालाई संरक्षण र विकास गरिने, प्रदेश भित्रका १३ वटै जिल्लामा कम्तीमा एक–एक वटा उद्योग ग्राम स्थापना गरिने, सरकारी कामकाजमा स्वदेशी र अझ प्रदेशमा उत्पादित वस्तु तथा सेवाको प्रयोग बढाइने, सहकारीको बचत रकमलाई उत्पादनशील क्षेत्रमा लगाई जनताको आयआर्जनमा बृद्धि गराउने, सरकारी निकायबाट प्रदान गरिने सेवालाई डिजिटलाइज गरिने, संविधानमा व्यवस्था गरिएको तीनै तहका सरकारको अधिकार क्षेत्रका कार्य सम्पन्न गर्न प्रदेशले संघ र स्थानीय तहबीच पुलको कार्य गर्ने र सरकारी साधन र स्रोतको दुरुपयोग पूर्णरूपमा रोक्ने पनि संकल्प गरेका छन् ।

विगत पाँच वर्षको अवधिमा करिब साँढे तीन वर्ष प्रतिपक्षको रूपमा र डेढ वर्ष गठबन्धन सरकारको एउटा घटकको रूपमा रहेको कांग्रेस सुरुवाती चरणमा एमालेको नेतृत्वको सरकारको घमण्ड र प्रदेश श्रोत तथा विनियोजनमा अरूलाई निषेध गर्दा स्रोतमा आफ्नो पहुँच कम रहन पुगेको बानियाँको विश्लेषण छ । प्रदेश राजधानी नामाकरण, प्रदेश राजधानी स्थान तोक्ने तथा प्रशासनिक संरचना बनाउने लगायतका काममा प्रतिपक्षीको रूपमा रचनात्मक भूमिका निभाएको उनी स्मरण गर्छन् । एमालेको सरकारको उदासिनताले जनमानसमा कतै संघीयता र प्रदेशको आवश्यकता नै देशलाई छैन कि भन्ने भ्रम पर्न गएकाले उक्त भ्रमलाई चिर्दै संविधान कार्यान्वयन, देश विकासमा संघीयता र प्रदेशको भूमिका अब्बल बनाउने लाई कार्यान्वयन र संघीयता स्थायित्वको जिम्मेवारी पनि कांग्रेसको सड्ढल्प भएको उनको भनाइ छ । पछिल्लो डेढ वर्षको अवधिलाई भने उनले उपलब्धिमूलक रहेको दाबी गरेका छन् । उक्त अवधिमा गठबन्धन घटक दलहरुले सरकारको नेतृत्व गरेकाले विभिन्न मन्त्रालयहरूमा अब्बल काम गर्न सकेको उनी बताउँछन् ।

वीपी कांग्रेसका उम्मेदवार तितुङद्वारा बानियाँलाई समर्थन
हेटौंडा-मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार पदमबहादुर तितुङले उम्मेदवारी निस्कृय गर्दै नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै वीपी कांग्रेसका उम्मेदवार तितुङले आफ्नो उम्मेदवारी निस्कृय गर्दै लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बानियाँलाई समर्थन गरेका हुन् । उनले राजनीतिकरूपमा आफ्नो उम्मेदवारी फिर्ता लिँदै बानियाँलाई समर्थन गरेको बताए । तितुङले बीपी कांग्रेस पार्टी त्यागेर नेपाली कांग्रेसमा फर्किएको समेत घोषणा गरे ।

पार्टी सञ्चालनका क्रममा भएका केही कमजोरीका कारण चित्त दुखेर उम्मेदवारी दिए पनि संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्त जस्ता उपलब्धि गुम्न सक्ने र अहिलेको व्यवस्थाबिरुद्ध लाग्नेलाई नै बल पुग्ने खतरा देखेपछि फिर्ता लिएको उनको भनाइ छ । उनले नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामासहितका जिल्ला र प्रदेशका नेता कार्यकर्ताको आग्रह स्वीकार गरेको बताएका छन् । उनले गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार बानियाँलाई विजयी गराउने आफ्नो अभियान रहेको र यसमै आबद्ध भई अघि बढ्न समर्थकलाई अपिल गरे । पत्रकार सम्मेलनमा बानियाँले तितुङ त्यस क्षेत्रकै अगुवा कार्यकर्ता भएको र उनको समर्थन र साथले त्यस क्षेत्रका विकास चाहने जनता र नेपाली कांग्रेस उत्साहित भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*