‘३ वर्षभित्रमा मकवानपुरको जनतालाई गरिबीको रेखामुनिबाट उठाउँछु’

राजन मैनाली
२०७९ कार्तिक २१, सोमबार १०:४७

मंसिर ४ गते प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचनको मिती नजिकिएसँगै उम्मेदवारहरुको चहलपहल पनि बढेको छ । मकवानपुरमा २ वटा प्रतिनिधीसभा र ४ वटा प्रदेशसभाको निर्वाचन क्षेत्र रहेको छ । मकवानपुरको २ नम्बर क्षेत्रबाट हेटौंडाका राजन मैनाली राप्रपाका तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार छन् । उनको उम्मेदवारी सेरोफेरोमा केन्द्रित रहेर उनीसंग निर्वाचनका सन्दर्भमा गरिएको कुराकानीको अंशः
तपाईंको उम्मेदवारी किन ?

आसन्न निर्वाचनमा मेरो उम्मेदवारी परिवर्तनको लागि हो । व्यवस्था र शाषकको कारणले नेपालमा शुसासन प्राप्त हुन सकेन, कुशासन मात्रै भयो । ठूला भनाउँदा राजनीतिक दलहरुले विगत ३३ वर्षदेखि देशको विकास र जनताको समृद्धिको झुठा आश्वासन र सपना देखाउँदै राज्यशक्ति व्यक्तिगत् स्वार्थपूर्तिका लागि दुरुपयोग गर्दै संस्थागत् भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गर्ने, लोकतन्त्र र गणतन्त्रको लाभलाई आफ्ना आसेपासेको स्वार्थपूर्तिको साधन बनाए । उनीहरुले नेपाललाई विदेशी शक्तिको क्रिडास्थल बनाउने, समाजलाई जातीयता, क्षेत्रीयता, भाषा, धर्मका नाममा विभाजित गरी गृहयुद्धको अबस्था सिर्जना गर्ने, कानुनी शासनको मान्यतालाई उपहास गर्ने, आर्थिक अपराध गरी देशको अर्थतन्त्र धरासयी पार्नेविरुद्ध, राष्ट्र र राष्ट्रियता खतरामा परेको महसुस गरी यस्ता विकृति र विसंगतिविरुद्ध उम्मेदवारी दिएको हुँ ।
तपाईको एजेण्डा के के छन् त ?
मकवानपुरलाई लिएर मैले विकासको धेरै एजेण्डाहरु बनाएको छु । सर्वप्रथम त मकवानपुरको जनताहरुलाई म निर्वाचित भएको ३ वर्षभित्रमा गरिवीको रेखामुनीबाट उठाउने
मेरो योजना रहेको छ । त्यसको लागि मकवानपुरमा उत्पादन हुने गाँजालाई वैधानिक गर्नुपर्ने हुन्छ । गाँजालाई वैधानिक गर्नुपर्ने हुन्छ । गाँजालाई वैधानिक बनाएर मकवानपुरका बेरोजगारहरुलाई रोजगारी प्रदान गर्ने र नेपालमा विदेशी मुद्रा भित्राउने कार्य मैले गर्नेछु । मैले जितेको खण्डमा मकवानपुरमा विकासको मकवानपुरमा आशाको किरण ल्याउनेछु । नेपाललाई नै विदेशको गतिमा विकास गर्ने मेरो दृढ लक्ष्य छ । भ्रष्टचारलाई जरैदेखी उन्मुलन गरेर मकवानपुर र समग्र देशको विकास गर्ने मेरो योजना छ ।
तपाई लाई जनताले भोट दिने आधार के हो ?
मलाई जनताले भोट दिने धेरै आधारहरु छन् । मैले राजनीतिलाई पेशा बनाएको छैन । म राजनीतिमा कमाउन आएको होइन । जनताको परोपकार रुपमा सेवा गर्नको लागि म राजनीतिमा आएको हुँ । म मा विकास गर्न सक्ने आत्मविश्वास छ । जनताप्रति वफादार र राष्ट्रप्रेमी भएकोले मलाई जनताले मत दिएर जिताउनु हुनेछ । ठूला भनाउँदा पार्टीहरुको स्पष्ट सिद्धान्त र दृष्टिकोण छैन । हाम्रो सन्दर्भमा स्पष्ट विचार, दृष्टिकोण, स्वच्छ, निर्भिक, कटिवद्ध नेतृत्व र पार्टीभित्रको आन्तरिक लोकतान्त्रिकीकरण, नेतृत्वको व्यवहारिक पुस्तान्तरणका कारण अन्य पार्टीहरुको तुलनामा हाम्रो पार्टीप्रति विश्वास गर्ने ठोस आधार छ । त्यसैले दृष्टिकोणहीन रहेका ठूला भनाउँदा राजनीतिक दलको तुलनामा हामी स्पष्ट विचार र दृष्टिकोणसाथ जनताको बीचमा छांै । हामीले लिएको सिद्धान्तले जनताको वास्तविक भावनाको प्रतिनिधित्व गर्ने हुदा हामीप्रति मतदाताको आकर्षण रहेको हामीले महसुस गरेका छौं ।
राजतन्त्रको मुद्वा बोकेर हिड्नु भएको छ ,मतदाताले पत्याउलान् त ?
पत्याउछन् । किनकी न जनताले राजतन्त्रलाई गलहत्याएका हुन्, न त हिन्दुराष्ट्रलाई नेपाली जनताले हटाएका हुन् । राजतन्त्रको अन्त्य, संघीयता र धर्मनिरपेक्षता जस्ता कुराहरु विदेशीको इशारा र दबाबमा भारतमा भएको १२ बुँदे सम्झौताबाट जबर्जस्ती नेपाली जनतालाई लादिएका विषय हुन् । हामीले वर्तमान समयमा समाजको आवश्यकता र विचारको सान्दर्भिकता रहेको यस्ता विषयहरुलाई मुखरित गरेको र त्यस विचारप्रति जनताको बढ्दो आकर्षण देखेर हाल ठूला राजनीतिक दलहरुले समेत जनतालाई भ्रम सिर्जना गर्न त्यस्ता पार्टीभित्र समेत संवैधानिक राजतन्त्र, हिन्दुत्व, संघीयता खारेजीका विषयहरुमा बहस चल्ने गरेको छ । तर, ती बहसहरु जनतालाई झुक्याउन गरिएका अभिनयमात्र हुन् । यस सिद्धान्तको प्रणेता राष्ट्रिय प्रजातान्त्रिक पार्र्टी नेपालमात्र हो भन्ने कुरा बुझ्नु जरुरी छ । त्यसैले राजतन्त्र, संघीयता अन्त्य, हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, २०४६ सालदेखि सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गरी भ्रष्टाचारमुक्त समाज स्थापना, सुशासन, कानुनको शासन स्थापना जस्ता स्पष्ट विचार र मुलभुत चरित्र बोकेको हालको सन्दर्भमा कुनै राजनीतिक दल छ भने त्यो राप्रपा नै हो ।
तपाईंले प्रमुख विपक्षीका रुपमा कसलाई लिनुभएको छ ?
मेरो प्रमुख विपक्षीको रुपमा को भन्दा पनि राजनीति भन्ने कुरा विचार र दर्शनका आधारमा गर्ने कुरा हो । हाल यी ठूला राजनीतिक दलहरुले विचारहीन राजनीतिलाई गठबन्धनको नाममा विकृत र जनजीविकाका सवाल भन्दा बाहिर लगेका छन् । मेरो क्षेत्रमा भन्नुहुन्छ भने गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका व्यक्ति बिगत चार पटकदेखि प्रतिनिधित्व गरिरहनु भएको छ । उहाँले व्यक्तिगत्रुपमा त धेरै समृद्धि हासिल गर्नुभयो होला । तर, त्यस अवधिमा देश र जनताको हितमा गरेका कुनै चार वटा कुरा भन्नसक्ने अवस्थामा हुनुहुन्न । त्यसैले विचारहीन, उद्धेश्यहीन, सिद्धान्तहीन गठबन्धनका उम्मेदवारलाई जनताले मत दिने प्रश्न नै आउँदैन ।जहाँसम्म एमालेका तर्फबाट रहनुभएका युवा व्यक्तित्वको सवाल छ, उहाँ युवा हुनुहुन्छ । केही गर्ने जोशजाँगर छ । तर, उहाँ ओलीबादको पार्टीमा हुनुहुन्छ । उहाँको पार्टीले जितेमा पनि ओली नै प्रधानमन्त्री हुने हो । जबकि दुई तिहाइको सरकार हुँदा शासन सञ्चालन गर्न नसक्ने ओलीको नेतृत्व एमालेमा कायम रहेसम्म संसद्मा उहाँको उपस्थितिले मकवानपुरका जनताको हितमा कुनै पनि गौरव गर्न लायकको कुनै काम गर्ने सामथ्र्यता राख्नुहुन्न । यस कुरालाई मकवानपुरे जनताले राम्रोसँग बुझ्नुभएको छ । त्यसैले यस निर्वाचनमा आममतदाताले राप्रपालाई एक पटक अवसर दिनेमा म ढुक्क छु ।
मतदाताहरुलाई केहि भन्न चाहनुहुन्छ ?
मतदाताहरुलाई म के भन्न चाहान्छु भने निर्वाचन एउटा प्रक्रियामात्र हो । परिणाम राम्रो आउन मतदाताले नै विवेक प्रयोग गर्नुपर्ने हुन्छ । यिनै ठूला राजनीतिक दलका कारण हाल जन्मदै प्रत्येक नेपाली जनता पच्चीस हजार ऋणको भारी बोक्न बाध्य छन् । आन्तरिक राजस्वले देशको साधारण खर्च धान्ने अबस्था छैन । ब्यापारको सोधनान्तर घाटा वार्षिक बजेट भन्दा बढी छ । निर्यात करिब शून्यको अबस्था छ । देशमा खुलेका उद्योगधन्दा सबै बेचेर खाइसके । नयाँ उद्योगधन्दा खुल्ने र रोजगारी सिर्जना हुने अबस्था छैन । वैदशिक मुद्राको सञ्चिति घट्दो अबस्थामा छ ।अब कुनै पनि बेला देश श्रीलंका बन्नसक्ने खतरालाई देख्दादेख्दै फेरि पनि पुरानैलाई जिम्मा दिइन्छ होला र भनी मतदाताको विवेकमा शंका गर्न चाहन्न । त्यसैले आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न आममतदाताहरुमा आग्रह गर्न चाहान्छु ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*