एमालेबाट निर्वाचित पूर्व वडा सदस्य स्याङ्तानसहित ५५ जना नेपाली काँग्रेसमा

साझाकुरा
२०७९ कार्तिक २२, मंगलवार १०:३६

हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडा नं. १ मा नेकपा एमाले पार्टीको तर्फबाट निर्वाचित पूर्व वडा सदस्यसहित ५५ जना युवा कार्यकर्ता सोमबार नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् ।एमालेबाट वडा सदस्य निर्वाचित सोमलाल स्याङ्तानसहित ५५ जना नेता कार्यकर्ता नकौलीमा आयोजित एक कार्यक्रमबीच काँग्रेस पार्टी प्रवेश गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा स्याङ्तान वडा सदस्य निर्वाचित भएका थिए । उनी स्थानीय बाराही आधारभूत विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत हुन्।
नेपाली काँग्रेस १ नम्बर वडा इकाइ समितिका सभापति हरिकृष्ण महर्जनको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीले टीका तथा खादा लगाएर उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्दै पूर्व वडा सदस्य स्याङ्तानले नेकपा एमाले पार्टीमा लागेर गाउँको विकास गर्ने आफ्नो ठूलो धोको भएपनि पार्टीकै नेताहरु नै अवरोध भएपछि आफूले पार्टी परित्याग गरेको बताए । उनले आफू सत्य र विकासको बाटोमा हिँड्ने व्यक्ति भएको भन्दै उनले जनतालाई झुटो बोलेर भुलभुलैयामा राख्ने एमाले पार्टीमा लागेर हिँड्न नसकेको बताए । जनतालाई दुःख पर्दा एमाले नेता कहिल्यै जनताको घरमा नपुग्ने तर, चुनाव आएपछि भोट माग्दै विभिन्न आश्वासन बाँड्दै आउने गरेकोमा उनले दुःख व्यक्त गरे ।
कार्यक्रममा स्याङ्तानसहित नवराज भ्लोन, अमर भोम्जन, छेवाङ भोम्जन, बिजय थिङ, लक्ष्मीमाया भोम्जन, सोमलाल मोक्तान, रवीन्द्र बल, देवेन्द्र बल, कृष्ण बललगायत वडास्तरीय नेताहरु टीका लगाएर काँग्रेस प्रवेश गरेका थिए ।

नगर सभापति उत्सव इटेनीले पछिल्लो समय काँग्रेस पार्टीमा जनताको आकर्षण बढेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा अझै काँग्रेस पार्टीलाई जनमुखी बनाउनेमा ढुक्क हुन आग्रह गरे । काँग्रेस पार्टी प्रवेश गर्ने नेताहरुलाई उचित सम्मानसहित पार्टीमा जिम्मेवारी दिने बताउँदै उनले आगामी निर्वाचनमा सक्रिय भएर गठबन्धनलाई जिताउन लाग्न आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेस १ नम्बर इकाइ उपसभापति लवाङ सिन्तान, समाजसेवी डीवी थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*