आगामी सरकारको नेतृत्व कांग्रेसले नै गर्छ : प्रवक्ता महत्त

साझाकुरा
२०७९ कार्तिक २३, बुधबार ०९:२७

हेटौंडा- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि बन्ने गठबन्धन सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताएका छन् । मंगलबार प्रेस युनियन मकवानपुरले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । महतले निर्वाचनपश्चात् बन्ने सरकारको नेतृत्व गर्ने विषयमा सत्तारुढ गठबन्धन भित्र सहमति भइनसकेको बताए । डा. महतले आगामी सरकारको विषयमा औपचारिक निर्णय वा कुनै सहमति नभएको प्रष्ट्याए । उनले नेकपा माओवादी केन्द्रको अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दावी नगरेको समेत बताए । सञ्चारकर्मीहरुले माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दावी गरेको हो भनेर सोधेको प्रश्नमा उनले भने ‘प्रचण्ड जीले दावी गर्नु भएको छैन । समर्थक शुभेच्छुकले भन्नु भएको होला ।

प्रधानमन्त्रीको विषयमा औपचारिक रुपमा कुनै सहमति भएको छैन ।’ महतले चुनावपछि बन्ने गठबन्धन सरकारको नेतृत्व कसले गर्ने निर्णय भइनसकेको भएपनि नेपाली कांग्रेसले नै गर्ने दावी पनि गरे । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै ९१ मा कांग्रेस एक्लैले उम्मेदवारी दिएको कारण पनि कांग्रेसले गठबन्धनको नेतृत्व गरिरहेको प्रष्ट हुने उनको भनाइ थियो ।‘प्रत्यक्षतर्फको ७४ सिटमा गठबन्धनमा रहेको अन्य चार दलको उम्मेदवारी रहेको छ । यहाँबाटै प्रष्ट हुन्छ नेतृत्वदायी भूमिकामा कांग्रेस रहेको छ भन्ने ।’, उनले सहमति नभएपनि कांग्रेसकै नेतृत्वमै आगामी सरकार अगाडि बढ्ने सम्भावना दोहो¥याए । उनले देशमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि जोड्ने नेतृत्व आवश्यकता रहेको औंल्याउँदै त्यसको नेतृत्व वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले मात्र गर्न सक्ने दावी गरे । ‘ओली जीको नेतृत्व जोड्ने नेतृत्व होइन । सहिष्ण पनि छैन ।’,

डा.महतले अघिल्लो निर्वाचनमा नेकपाले पाँचवर्षे म्यानडेट प्राप्त गरेपनि त्यसलाई जोगाउन नसकेको बताए । ‘पाँचवर्षे म्यानडेट प्राप्त नेकपा फुटेर अहिले तीन टुक्रा भएको छ । त्यसमध्ये दुईवटा दल अहिले हामीसँग गठबन्धनमा हुनुहुन्छ ।’, उनले देशमा विकासको गति बढाउन गठबन्धनले जित्न जरुरी रहेको औंल्याए । उनले मिश्रित निर्वाचन प्रणाली भएका कारण कुनै पनि दलको बहुमत नआउने भएका कारण गठबन्धन गर्नुपरेको बताए । ‘चुनावपश्चात् गठबन्धन गर्नुभन्दा अहिले लय मिलेकै समयमा गरौं भनेर अगाडि बढेका हौं ।’, उनले थपे । महतले संविधान र व्यवस्था रक्षासहित जनताको अवस्था परिवर्तन, मुलुकमा स्थिरता र समृद्धि ल्याउन गठबन्धन निर्माण भएको बताए । उनलेले मकवानपुरमा लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवार सक्षम र सशक्त रहेको बताउँदै आसन्न निर्वाचनमा उनीहरुलाई मतदात गरी विजयी गराइदिन हुन आग्रह गरे । प्रदेश र प्रतिनिधीसभाका धेरै क्षेत्रमा कांग्रेसले जित्ने उनको दावि छ ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री तथा मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिना, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा लगायतकाको उपस्थिती रहेको थियो ।

‘डिना जी साहसी नेतृ हुनुहुन्छ

’हेटौंडा-नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस केन्द्रीय सहमहामन्त्री समेत रहेकी मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ को प्रतिनिधीसभा सदस्यको उम्मेदवार महालक्ष्मी उपाध्याय डिना साहसी नेतृ भएको बताएका छन् । मंगलबार प्रेस युनियन मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सत्तारुढ बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी डिनालाई साहसी नेतृको रुपमा चित्रण गरेका हुन् । सहमहामन्त्री डिनाले समानुपातिकबाट सोझै पाएको सांसद पद त्यागेर प्रत्यक्ष निर्वाचनमा होमिएको महतले बताए । ‘पहिलो महिला सह–महामन्त्री जस्तो मान्छे उहाँले सिधै समानुपातिकबाट सांसद पद पाउनु भएको थियो । तर,होइन म प्रत्यक्ष निर्वाचन नै लड्छु,जे परिणाम आउँला आउँला भनेर प्रत्यक्ष उम्मेदवार बन्नुभयो । हिजोको दिनमा पनि प्रत्यक्ष निर्वाचन लड्न आँट गर्ने मान्छे हो ।

जनतासँग नजिकबाट काम गरेर जनताबाटै निर्वाचित हुन्छु भनेर उहाँ फेरि आउनुभयो । उहाँ महिला नेतृहरुमा साहसी व्यक्ति हो’,महतले भने । जनताको बीचमा गएर निर्वाचित भएर आउछु भन्ने शसक्त महिलालाई जिताउनुपर्ने उनले बताए ।महतले निर्वाचित भएको खण्डमा डिनाले महत्वपुर्ण मन्त्रालयको जिम्मेवारीसमेत पाउने भन्दै मकवानपुर जिल्लाको लागि गर्वको विषय बन्ने बताए । उनले डिनालाई भारी मतले जिताउनको लागि सबैलाई अपील पनि गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*