गौरीटार रंगशालालाई सुविधा सम्पन्न बनाउने डीनाको प्रतिबद्धता

साझाकुरा
२०७९ कार्तिक २३, बुधबार ०९:५२

हेटौंडा-नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले निर्माणाधीन गौरिटार रंगशालालाई सुविधा सम्पन्न बनाउन पहल गर्ने प्रतिबद्धता जनाएकि छन् ।कांग्रेसको खेलकुद समन्वय प्रचारप्रसार उपसमितिले हेटौंडामा आयोजना गरेको खेलाडी भेटघाट तथा छलफल कार्यक्रममा उनले निर्माणाधीन गौरिटार रंगशालालाई सुविधा सम्पन्न बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘खेल जगतलाई नेपाली कांग्रेस र गठबन्धनले महत्वपूर्ण रुपमा हेरेको छ’, उनले भनिन्, ‘देशलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन योगदान पु¥याउने खेलकुद र खेलाडीका
लागि नीतिगत निर्णय गरेर अघि बढेको छ ।

आगामी दिनमा खेल खेलेरै सम्मानपूर्वक बाँच्ने अवस्थाको निर्माण गर्नेछौं । आवश्यक पूर्वाधार निर्माणमा जोड दिनेछौं ।’ खेलका सबै विधालाई समान महत्व दिएर आवश्यक नीति निर्माण गर्ने डिनाको भनाई थियो । मकवानपुरका मतदाताको गुनासो र समस्या सुन्न र सकेसम्म समाधान गर्नका लागि नै प्रत्यक्षतर्फ चुनावी मैदानमा होमिएको उनले जानकारी दिइन् । निर्वाचनको खेलमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउने गरी लाग्न खेलाडी एवम् प्रशिक्षकहरुलाई उनले अनुरोध गरिन् । ‘मंसिर ४ गते हुन लागेको निर्वाचनको खेलमा गठबन्धनलाई जिताउनुहोस् । तपाईं खेलकुदकर्मीले कहिल्यै निराश हुन नपर्ने गरी काम गर्नेछौं’, डिनाले भनिन् ।

कांग्रेसको खेलकुद समन्वय प्रचारप्रसार उपसमितिका संयोजक एवम् अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले राप्रपा नेपालका अध्यक्ष कमल थापा र उनको भाई गणेश थापाले लामो समय एन्फाको नेतृत्व गर्दा पनि मकवानपुरमा खेलक्षेत्रको विकासमा कुनै काम नगरेको आरोप लगाएका छन् ।  ‘थापा दाजुभाईले लामो समय एन्फामा नेतृत्व गर्दा पनि मकवानपुरमा फुटबल र अन्य खेलको विकासमा कुनै काम हुन सकेन’, शेर्पाले भने, ‘अहिले ति असफल व्यक्तिहरु नै कोही उम्मेदवार, कोही जिताउने अभियानमा लागेको देखेको छु ।

आफ्नो पार्टीको चुनाव चिन्हबाट प्रतिपस्पर्धा गर्न नसक्नेले मकवानपुरको विकास गर्लान् भनेर आश गर्नु बेक्कार हो ।’ भूकम्प पीडितको लागि आएको पैसा समेत गणेश थापाले आफू निकटका व्यक्तिहरुलाई बाँडेको उनले आरोप लगाए । ‘एन्फामा बर्षौं नेतृत्व गर्दा, पटक पटक मन्त्री हुँदा जिल्लाको विकासमा सिन्को नभाँच्नेले अब जितेर मकवानपुरको विकास गर्ला भनेर नसोचे पनि हुन्छ’, शेर्पाले भने, ‘गठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय, आनन्दराम पराजुली सहितका नेताहरुलाई जिताउनुहोस् वहाँहरुलाई खेल क्षेत्रमा कस्तो नीति तथा कार्यक्रम बनाउने भनेर हामी सहयोग गर्नेछौं ।’

कांग्रेसका केन्द्रीय प्रवक्ता डा.प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य उमेशजंग रायमाझी, बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, मकवानपुर जिल्ला सभापति बुद्ध लामा, खेलकुद समन्वय प्रचारप्रसार उपसमिति बागमती प्रदेश संयोजक कृष्णमुरारी गुरुङ, लोकतान्त्रिक खेलकुद संघ मकवानपुर अध्यक्ष सविन भट्टाचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*