हेटौंडामा भोलीदेखि विद्यालयस्तरीय क्रिकेट

साझाकुरा
२०७९ कार्तिक २३, बुधबार १०:००

हेटौंडा- मकवानपुर क्रिकेट संघको आयोजनामा भोली बिहीवारदेखि पूर्वक्रिकेटर स्वर्गीय निरज श्रेष्ठको स्मृतिमा जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिता गर्दैछ ।
प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक संघले जानकारी दिएको हो । क्रिकेट संघका केन्द्रीय सदस्य करण महत्रा क्षेत्रीले प्रतियोगितामा हेटौंडाभित्रका सामुदायिक र संस्थागत विद्यालय गरी १२ वटा टिमले सहभागिता जनाउने तय भएको बताए । उनका अनुसार प्रतियोगिताको प्रथम हुने टिमले ३० हजार र देस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउने भएको छ ।

हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताअन्तर्गत् प्रत्येक दिन दुई वटा खेल हुनेछन् । खेल बिहान र दिउसो गरेर खेलाइने क्षेत्रीले जानकारी दिए ।१ मंसिरमा फाइनल खेल खेलाइने मकवानपुर क्रिकेट संघ अध्यक्ष बासुलाल श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको लागि ३ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । जिल्लास्तरीय भनिएपनि हेटौंडाका मात्रै विद्यालयहरुको सहभागिता रहेको छ । संघका अध्यक्ष श्रेष्ठले आगामी प्रतियोगिता पालिका स्तरीय गरिने बताए । केन्द्रीय सदस्य क्षेत्रीले जिल्लाका हरेक पालिकाबाट क्रिकेटका खेलाडी खोजी गरिने बताएका छन् । पत्रकार सम्मेलनमा प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्री, क्रिकेट संघ मकवानपुरका निवर्तमान अध्यक्ष सञ्जोग पोखरेल, प्रतियोगिता संयोजक धिरज श्रेष्ठ लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*