मकवानपुरको विकास गर्न गठबन्धनलाई भोट दिन पराजुलीको अनुरोध

साझाकुरा
२०७९ कार्तिक २४, बिहीबार १२:०६

हेटौंडा- मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार कांग्रेस नेता आनन्दराम पराजुलीले मुलुकको स्थायित्व, लोकतन्त्र र संविधानको रक्षा एवम् जिल्लाको विकासका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अनुरोध गरेका छन् । हेटौंडा ४ को चुनावी सभामा उनले मुलुकको विकास र समृद्धिका लागि केन्द्रका नेताहरुले सुझबुझपूर्ण निर्णयसहित गठबन्धन गरेको भन्दै मुलुकको स्थायित्व, लोकतन्त्र र संविधानको रक्षा एवम् जिल्लाको विकासका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न
अनुरोध गरेका हुन् ।

‘आफ्नो चुनाव चिन्ह अर्कालाई बेच्ने, अर्काको चुनाव चिन्ह किन्ने र पटकपटक मन्त्री हुँदा, केन्द्रदेखि प्रदेश र स्थानीय सम्म आफ्नै पार्टीको सरकार हुँदा पनि केही गर्न नसक्नेहरु अहिले अनेक आश्वासन बाँड्न आइरहेका छन्’, पराजुलीलले भने, ‘मुलुकलाई समस्या पर्दा, संविधान र व्यवस्था नै खतरामा पर्दा जोगाउन लागिपरेका दलहरुले अहिले मुलुकको आवश्यकता अनुसार पवित्र उद्देश्यले गठबन्धन गरेको हो । मकवानपुरसहित देशैभर गठबन्धनले जित्नेछ, चुनावपछि गठबन्धनकै सरकार बन्नेछ ।’ सधैं हावादारी कुरा गर्ने, जनतामाथि मजाक र खिल्ली गर्ने एमालेबाट मुलुकको विकास र समृद्धि सम्भव नभएको उनको भनाई थियो । मकवानपुरमा गठबन्धनका उम्मेदवार– हरुको जित सुनिश्चित भैसकेको दावी गर्दै उनले यही माहौल र मतलाई जोगाइराख्न गठबन्धन दलका नेता कार्यकर्ताहरुलाई अनुरोध गरे ।

चोकचौतारामा बसेर भ्रम छिर्नेहरुसंग सतर्क रहन आग्रह गर्दै पराजुलीले त्यस्ताहरुलाई प्रतिवाद गर्न समेत आग्रह गरे । हरेक क्षेत्रका जानकारहरुसंगको सल्लाह र सुझाव लिएर जिल्लाको समग्र विकासमा एक भएर लाग्ने उनको प्रतिबद्धता थियो ।हेटौंडा ४ का प्रचार प्रसार संयोजक हरि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज केदारप्रसाद न्यौपाने, स्थायी कमिटी सदस्य एवम् मकवानपुर इन्चार्ज ललित बस्नेत, माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार उमा दाहाल, हेटौंडा उपमहानगर सभापति उत्सव इटेनी, माओवादी केन्द्रका नगर अध्यक्ष तीर्थबहादुर थापा, नेकपा एसका उपमहानगर अध्यक्ष ध्रुब भुजेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*