‘एउटै कुरा माग्छु, दिपक सिंह पठाइदिनुस्’

लिङ्देनको भाषणः
साझाकुरा
२०७९ कार्तिक २५, शुक्रबार १२:३३

हेटौंडा, २४ कात्तिक-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा मकवानपुरले न्याय गरोस् भन्दै मतको अपिल गरेका छन् ।
राप्रपाको बकैया गाउँपालिका जुरेलीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले राप्रपाबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार उठेकाहरुलाई जिताएर न्याय गरेको हेर्न मन भएको बताए । उनले आफ्नो अधिकांश भाषणमा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार दिपकबहादुर सिंहलाई चुनाव जिताएर पठाउन आग्रह गरिरहे । राप्रपाको भ्रष्टाचार नियन्त्रण अभियानका लागि मकवानपुरबाट सिंहलाई संसदमा पठाउन लिङ्देनले आग्रह गरे ।

लिङदेनले अघिल्लो संसदमा आफु एक्लै हुँदा पनि भ्रष्टचारविरुद्ध र राष्ट्रियताको पक्षमा निरन्तर बोलेको बताउँदै मकवानपुरको साथ खोजेको बताए । ‘तपाईहरुसँग एउटै कुरा माग्छु, मलाई साथी दिपक सिंह पठाइदिनुस्’, उनले भने ।मकवानपुरका मतदाताहरु– लाई गम्भीर समिक्षा गरेर मतदान गर्न अनुरोध गरेका छन् । उनले निर्वाचनमा छोरी दिँदा जस्तै विचार गरेर भोट दिन आग्रह गरे । ‘छोरी दिँदा जसरी सोच विचार गरेर दिन्छौँ, भोट दिँदा पनि त्यसै गरेर दिनूस् । सोचेर मत दिनुस्’, उनले थपे । ठूला दलहरुले देशलाई चक्रव्युहमा फसाएको आरोप लिङ्देनले लगाए । देशको विकास र समृद्धिका लागि आफ्नो पार्टीलाई सरकारमा पठाउने गरि मतदान गरिदिन उनले आग्रह गरे । उनले ठूला पार्टीका नेताहरु भ्रष्ट भएको र नेपालको राजनीति परिवर्तन गरेको भन्नेहरु असफल भएको आरोप लगाए ।

वर्तमान राजनीतिक व्यवस्था पनि असफल हुन पुगेको भन्दै उनले देशको शासकीय प्रणाली र निर्वाचन प्रणालीमा आमुल परिवर्तन गर्नुपर्ने बताए ।व्यवस्थामा सुधार र परिवर्तन नभए मुलुक र जनताले परिवर्तन नपाउने उनको दाबी थियो । वर्तमान व्यवस्थाले मुलुकको भविष्य सुरक्षित नभएको लिङ्देनले दाबी गरेका छन् । राप्रपाले प्रधानमन्त्री सोझै जनताले चुन्ने र अभिभावकीय भूमिकामा राज संस्था रहने एजेण्डा बोकेको बताए । मुलुकमा स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्ने उनको भनाई छ । घरजग्गा जान्छ भनेर बिरामीहरु अस्पताल जान नसकेको भन्दै मुलुकलाई आर्थिक समृद्धिमा लगेर शिक्षा र स्वास्थ्य निःशुल्क बनाउनु पर्ने लिङ्देन बताउँछन् । देशमा न्याय किनबेच भइरहेको उनले आरोप लगाए ।

चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार सिंहले भने, ‘म मरेर लानु केही छैन । म मकवानपुरलाई विकास र समृद्ध यसरी हुन्छ भनेर उदाहरणीय बनाउन चुनाव लडेको हुँ । म जनताको जन गठबन्धनबाट उठेको छु जनताको लागि मन, वचन र कर्मले काम गर्नेछु’, उनले धर्मको विषयमा राप्रपा संक्रिण नरहेको भन्दै मन्दिरदेखि गुम्बा, मस्दिज, चर्च र देवालय बनाउने सिंहले बताए । उनले आफूले वेइमान कहिल्यै नगर्ने भन्दै पाँच वर्ष १ नम्बर क्षेत्र र यहाँका जनताका लागि रगत पसिना बगाउने उनले बताए । ‘कमल थापा जीले नबोकेको जनजातीको छोरा राजेन्द्र लिङ्देनलाई यो ठकुरीको छोराले प्रधानमन्त्री बनाउन बोकेको छ यो मेरो र परिवारको स्वार्थको लागि होइन मकवानपुरको अभिभावकहरुको आशा, युवाहरुको भविष्यको लागि हो ।,’ उनले भने ।

राप्रपाका प्रदेशसभा १ को (क)का उम्मेदवार सागर थापाले सबै कांग्रेस, सबै ऐमाले, सबै माओवादी कार्यकर्ताहरु खराब नेतृत्वका कारण पीडित बनिरहेको बताएका छन् । ‘म विश्वास दिलाउन चाहान्छु । राप्रपा त्यस्तो गौरवशाली पार्टी हो जसले जनजाती, आदिवासी र दलित समुदायलाई नेतृत्वको मौका दिलाएको छ । म जनजातिको छोरा ग्यारेन्टी गर्दछु कि कुनै हामी सबै दलका कार्यकर्ता र मतदाताहरु प्रति कुनै पक्षपात र बैरभाव राख्ने छैनौ,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*