थापा र श्रेष्ठको प्रतिवद्धताः हेटौंडामा विद्युतीय बसदेखि सुरुङमार्गसम्म

साझाकुरा
२०७९ कार्तिक २५, शुक्रबार १२:४४

हेटौंडा- नेकपा एमालेका मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापा र प्रदेशसभा १ को (ख)का उम्मेदवार एकालाल श्रेष्ठले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।थापा र श्रेष्ठले बिहीवार हेटौंडामा पत्रकार सम्मेलन गरेर प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा थापा भने उपस्थित थिएनन् । उनी चुनावी कार्यक्रमका लागि पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकाको बेतिनी क्षेत्रमा पुगेका थिए । थापाको व्यवस्तता तीन दिनसम्म पूर्वी क्षेत्रमा निरन्तर चुनावी कार्यक्रम रहेको जनाइएको छ । प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार श्रेष्ठसहित एमालेका सल्लाहकार कमिटी सदस्य तथा बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, राप्रपा नेपालका जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटा लगायतको उपस्थिति थियो ।

प्रतिवद्धता पत्रमा हेटौंडामा विद्युतीय बस सञ्चालनदेखि आन्तरिक विमानस्थल निर्माणको लागि पहल गर्नेसम्मको योजना उल्लेख गरिएको छ । हेटौंडाबाट लामो तथा मध्यम दुरिको विद्युतीय बस सञ्चालन गरिने, विमानस्थल निर्माणको लागि पहल गर्ने, हेटौंडामा बजार क्षेत्रको सडक फराकिलो पारी चक्रपथसँगै वाइपास सडक निर्माण गर्ने, प्रदेश विश्वविद्यालयको स्थापना तथा सञ्चालन, खेलकुद क्षेत्रको विकास गर्न ‘एक विद्यालय एक खेल शिक्षक’को नीतिगत व्यवस्थाको लागि पहल गर्ने लगायतका महत्वाकांक्षी योजना प्रतिवद्धता पत्रमा समेटिएको छ ।

क्याम्पाडाडाको रंगशाला लाई प्रादेशिक रंगशालाको रुपमा विकास गर्ने, नसर्ने रोगहरुको निःशुल्क परिक्षण, बाँझो जमिनको तथ्यांक संकलन गरी भुमि बैंक स्थापना गरेर उपयुक्त खेती प्रणालीको विकास गरिने उल्लेख गरिएको छ । प्रतिवद्धतामा विगतको एमालेको संघीय र बागमती प्रदेश सरकारले सुरु गरेका विकासका योजनालाई पनि निरन्तरा दिइएको छ । बाइपास सडक, हेटौंडा–काठमाडौं सुरुङमार्ग, चक्रपथ सडक, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका योजना प्रदेश सरकारले अघि सारेका थिए । हेटौंडा उपमहानगरका सबै वडाहरु र बस्तीहरुलाई सडक सञ्जालमा समेटिने गरी नगर सडकलाई व्यवस्थित गरिने जनाइएको छ । कर्रा तथा राप्ती खोलामा करिडोर निर्माण गरी पर्यटकीय गतव्य स्थान बनाइन प्रदेशसभा सदस्यका उम्मेदवार श्रेष्ठले बताए ।

हालसम्म सडकको पहुँच नपुगेका वस्तीहरुमा सडकको पहुँच पु¥याएर सडकको स्तरीकरण तथा विस्तार गरिने उनको योजना छ । हेटौंडा बजार क्षेत्रका सडक फराकिलो बनाई वाइपास सडकका साथै वैकल्पिक चक्रपथको निर्माण गरी हेटौंडाको सडक र बसोबासलाई व्यवस्थित गर्न सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गरिने श्रेष्ठले बताए । उपयुक्त स्थानको खोजी गरी हेटौंडामा विमानस्थलको निर्माणका लागि पहल गरिने जनाइएको छ । कान्ति लोकपथको निर्माण तत्काल सम्पन्न गराउन पहल गर्नुका साथै पूर्ण रुपमा सञ्चालनमा ल्याइने उनले बताएका छन् ।

हेटौंडा उपमहानगरपालिकालाई महानगर बनाउन पूर्वाधार तयार गर्नेसम्मका योजना एमालेले अघि सारेको छ । प्राविधिक जनशक्ति तयार गर्न प्राविधिक शिक्षा (जस्तैः वन, कृषि, पशु, इन्जिनियरिङ, स्वास्थ्य) शैक्षिक संस्थाहरुको स्थापना तथा सञ्चालन गर्न पहल गरिने उम्मेदवार श्रेष्ठले जानकारी दिए । सडक, खानेपानी, विद्युतीकरण, पुलपुलेसा, सिंचाई, तटबन्ध, नदी नियन्त्रण, शहरी विकास, बस्ती संरक्षण लगायतका निर्माण कार्यलाई गुणस्तरीय, दीगो एवं उपलब्धिमूलक बनाउने नीतिलाई प्राथमिकतामा राखिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

मकवानपुरको पूर्वी क्षेत्र अन्तर्गतको शहरी, अर्धशहरी, ग्रामीण तथा विकट भेगसमेत पर्ने यस क्षेत्रमा सडक सञ्जाललाई गुणस्तरीय रुपमा विकास गरी कृषि, शिक्षा, स्वास्थ्य र बजारीकरणलाई सघाउ पु¥याउने भौतिक निर्माणमा जोड दिइने जनाइएको छ । हेटौंडालाई शैक्षिक हवको रुपमा विकास गरिने एमालेको योजना छ । गौरीटार  रंगशालालाई आधुनिक र व्यवस्थित गर्दै खेल पर्यटनको रुपमा विकास गरिने उल्लेख छ । कर्रा करिडोर र मनकामना डाँडा हुँदै शिखरकटेरी— रानीखोलाको किनार हुँदै साइक्लिङ ट्रेल निर्माण गर्न पहल, हुप्रचौर वा अन्य उपयुक्त स्थान छनौट गरी क्रिकेट विशेष प्रशिक्षण केन्द्रका रुपमा विकास गरिने, क्याम्पाडाँडा खेलमैदानलाई प्रादेशिक रंगशाला बनाइने र सबै वडामा व्यवस्थित खेल मैदान बनाइने प्रतिबद्धता पत्रमा जनाइएको छ ।

पर्यटनतर्फ ड्राईभर डाँडा, पदमपोखरी पर्यटकीय क्षेत्र, लक्ष्मी नारायण मन्दिर, चुरियामाई, भुटनदेवी, कुष्माण्ड, वनस्खण्डी, गोरक्षेश्वर, गुम्वा, मस्जिद, चर्च आदि धार्मिक क्षेत्र, र पार्कहरुलाई समेटेर एकीकृत पर्यटकीय विकास अभियान प्रारम्भ गरिने जनाइएको छ । सुख्खा टारी क्षेत्रमा भूमिगत सिंचाईको सभाव्यता अध्ययन गरी सिंचाइको व्यवस्था, भूगोल अनुसारको खेतीयोग्य जमिन सिंचाई गर्न बोरिङ, लिफ्ट, आकाशे पानी र थोपा सिंचाई प्रणालीको व्यवस्था, हेटौंडा औद्योगिक क्षेत्रभित्रको कपडा उद्योग सञ्चालनमा पहलदेखि हेटौंडा सिमेन्टलाई पूर्णसञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका खेलिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*