हेटौंडाको उद्योगलाई सञ्चालन गरेर रोजगारी सिर्जना गर्छुः डीना

साझाकुरा
२०७९ कार्तिक २७, आईतवार ०९:१८

हेटौंडा- सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर–१ को उम्मेदबार नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले हेटौंडामा रहेको उद्योग कलकारखानालाई पूर्ण क्षमतामा सञ्चालन गरेर रोजगारीको सिर्जना गर्ने बताएकी छन् । शनिबार मकवानपुरका महिला पत्रकारहरुसँगको छलफलमा डीनाले यस्तो बताएकी हुन् । उनले मकवानपुरमा बेरोजगारीको समस्या अन्त्य गर्नको लागि हेटौंडाको उद्योग कलकारखानालाई पूर्णरुपमा निरन्तर सञ्चालन गर्नुपर्ने बताइन् । डीनाले मकवानपुरबाट निर्वाचित भएर गएकाहरुले हेटौंडाको उद्योगहरुलाई निरन्तर सञ्चालन गर्नको लागि कुनै भूमिका निर्वाह नगरेको भन्दै आफूले त्यसको नेतृत्व गर्ने बताइन् ।

उनले जिल्लामा रुग्ण भएका उद्योगहरुको साथै नयाँ उद्योगहरु सञ्चालन गर्नको लागि आफूले पहल गर्ने बताइन् । डीनाले मकवानपुरको सबै महिलाहरुको भोट आफूलाई आउने दाबी गरिन् । डीनाले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीसँगै महिला र युवाहरुको मुद्दा आफ्नो प्राथमिकतामा रहेको सुनाइन् । उनले आफूले महिलाहरुको सशक्तीकरण र अधिकारको लागि विगतमा खेलेको भूमिकाको कारण मकवानपुरको सबै महिलाहरुले आफूलाई भोट दिने दाबी गरिन् । विगतमा महिला आन्दोलनको लागि संसद्मा लडेको स्मरण गर्दै डीनाले संविधानमा महिलाको अधिकार सुनिश्चित गर्न आफूले पार्टीभन्दा माथि उठेर काम गरेको हुँदा मकवानपुरका महिलाहरुले पार्टीभन्दा माथि उठेर भोट दिने बताइन् ।

उनले अन्य पार्टीको महिला नेताहरुले समेत आफूलाई नै भोट दिने ठोकुवा गरिन् । ‘मलाई जिल्लाको अन्य पार्टीको महिला नेताहरुले गठबन्धन नै गरौं पनि भन्नु भएको थियो । तर, त्यस्तो नभए पनि मेरो निर्वाचन क्षेत्रको सबै महिलाहरुले मलाई नै भोट दिनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ’, उनले भनिन् । डीनाले आफ्नो क्षेत्रका अन्य उम्मेदबारहरु एक अर्काको मात्रै प्रतिष्पर्धी रहेको भन्दै आफूसँगको प्रतिष्पर्धामा कोही पनि नभएको बताइन् । समानुपातिक भनेको महिलाको लागि मात्रै हो भन्ने सोचाई परिवर्तन गर्दै काम गर्नको लागि जनतासँगको साक्षत्कारमा आएको बताइन् । ‘मैले समानुपातिकमा पाएको टिकट छोडेर आएको हो । महिला भन्ने बितिक्कै समानुपातिकमा नै बस्नुपर्छ भन्ने सोचाईलाई चिर्दै जनताको माझमा बसेर काम गर्नको लागि म आएको हुँ’, उनले भनिन् । डीनाले महिलाको निर्वाचन क्षेत्र हुँदैन भन्ने मानशिकता नेपालको राजनीतिको नेतृत्व तहमा रहेको भन्दै विगतमा आफू हार्छु भन्ने थाहा हुँदाहुँदै पनि निर्वाचन लडेको स्मरण गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*