बकैयामा प्रभाव छाड्दै गठबन्धनका डीना र छिन्तु

साझाकुरा
२०७९ कार्तिक २७, आईतवार ०९:३२

हेटौंडा- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाको पूर्वी क्षेत्रमा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदबार जमेका छन् । पूर्वी क्षेत्रस्थित बागमती र बकैया गाउँपालिकामा गठबन्धनबाट प्रतिनिधिसभाकी उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र प्रदेशसभा १ को (क) का उम्मेदवार नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी छिन्तुले प्रभाव छाड्दै छन् । विगत ३ दिनदेखि डीना र छिन्तु पूर्वी क्षेत्रमा सक्रिय भएका हुन् ।

यसअघि उनीहरु बागमती गाउँपालिकाको बेतिनी, फापरबारीलगायत क्षेत्रमा सक्रिय भएका थिए । डीना र छिन्तुले शनिबारदेखि बकैयामा प्रभाव छोड्न सुरु गरेकी हुन् ।
शनिबार बकैया गाउँपालिका वडा नम्बर ७ भिरकोटमा चुनावीसभा भएको थियो । सभामा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार डीना र प्रदेशसभा सदस्य उम्मेदवार छिन्तुले सम्बोधन गरेका छन् । सभालाई सम्बोधन गर्दै डीनाले बस्ती जलाएर खरानी बनाउनेहरुलाई भोट दिनुपर्ने आवश्यकता नरहेको बताएकी छन् । यहाँका भूमिहीनलाई लालपुर्जा दिन्छौं भन्दै भोट मागिरहेको खबर आएको भन्दै डीनाले यस्ता झुटा आश्वासन बाँड्नेलाई मंसिर ४ मा जनताले ठूलै सबक दिने बताइन् । उम्मेदवार डीनाले आफू बिजयी भए केन्द्रीय बजेट ल्याएर यस क्षेत्रको विकास गर्न पहल गर्ने बताइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार छिन्तुले एक छाक मिठो खुवाउनेलाई होइन देश र जनताको अवस्था बदल्नेलाई भोट दिनुपर्ने बताए । उनले देशलाई विकास र निकास दिने गठबन्धनलाई जिताउन मतदातासमक्ष आग्रह गरेका छन् । आफू यस क्षेत्रबाट अघिल्लोपटक विजयी भएर यहाँको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रमा विकासमा सक्दो पहल गरेको दाबी गरे । उम्मेदवार छिन्तुले बाँकी रहेका कामलाई पूर्णता दिन र नयाँ योजनासहित मकवानपुरको विकास गर्न आफूले फेरी मैदानमा आएको बताए ।

यसैबीच, गठबन्धनका उम्मेदवारहरुले बकैया ७ माटोकोरी हर्द टोलमा टोलसभा गरेको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार लक्ष्मी पाख्रिन, लोकतान्त्रिक बाम गठबन्धन क्षेत्र नम्बर १ प्रचारप्रसार समिति संयोजक दामोदर खनाल, माओवादी केन्द्र बागमती प्रदेश सदस्य जीवन गोलेलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*