एमाले पत्तासाफ हुन्छः खतिवडा

साझाकुरा
२०७९ कार्तिक २७, आईतवार ०९:३५

हेटौंडा- सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य विरोध खतिवडाले आसन्न निर्वाचनमा एमाले पत्तासाफ हुने बताएका छन् । शनिबार आयोजित गठबन्धनको युवा भेलालाई सम्बोधन गर्दै खतिवडाले मंसिर ४ गतेको निर्वाचनमा रहेको आरोप लगाउँदै चुनावको नतिजापछि कोही नहुने दावी गरे । ‘२ तिहाईको सरकार ढल्यो ।

पार्टी फुट्यो । स्थानीय निर्वाचनमा लज्जास्पद हार हुँदा पनि अझै एमाले अध्यक्षको चेत खुलेको छैन’, उनले भने, ‘ओली कम्युनिस्टको नाममा कलंक भएर निस्किए ।’ एमालेले देशद्रोही, विखण्डनकारी, दमनकारी र मन्डलेसंग एकता गरेको आरोप लगाउँदै उनले यसबाटै एमालेको नीति र विचार प्रष्ट भएको बताए । गठबन्धनको माहौल देखेर विरोधीहरु अत्तालिएको उनको आरोप थियो । चुनावको समयमा हुनसक्ने चलखेलको बिषयमा सतर्क रहन र मतदातालाई बुझाउन खतिवडाले युवाहरुलाई अनुरोध गरे । ‘गठबन्धनको उद्देश्य बारेमा जानकारी दिँदै आफ्ना नेताहरुको पहलमा भएका राम्रा कामहरुको बिषयमा समेत जनतालाई बुझाउने कार्यमा लाग्न युवाहरुलाई अनुरोध गर्दछु’, उनले भने । गठबन्धनले हारे मुलुकमा फेरि प्रतिगमनको खतरा हुने उनको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*