गरिब जनताको लागि १० हजार घर निर्माण गर्ने बानियाँको प्रतिवद्वता

साझाकुरा
२०७९ कार्तिक २७, आईतवार ०९:४२

हेटौंडा- मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर(२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशको १३ जिल्लाका गरिब, निमुखा जनताको लागि १० हजार घर निर्माण गरी हस्तान्तरण गरिने बताएका छन् । गठबन्धनले आयोजना गरेको कैलाश ७ र ८ को संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता बानियाँले गठबन्धनको सरकार बनेपछि प्रदेशको १३ जिल्लाका गरिब, निमुखा जनताको लागि १० हजार घर निर्माण गरी हस्तान्तरण गरिने बताएका हुन् । उनले मकवानपुरमा पूर्वाधार विकासको कामलाई विशेष प्राथमिकता दिने प्रतिवद्धता जनाए ।

बानियाँले जिल्लाको सडक पूर्वाधार विकास गरिनुको साथै ग्रामिण विद्युतीकरण, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र रोजगारलगायत क्षेत्रलाई प्राथमिकता दिइने बताए । बागमती प्रदेशमा गठबन्धनको सरकार बनेसँगै १० महिनाको अवधिमा कैलाश गाउँपालिकामा मात्रै २२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । उनले आफ्नो राजनीति गरिब, पिछडिएका, लोपोन्मुख समुदायको विकास, रोजगारी र समृद्धिसँग जोडिएको दावी गरे । उनले राजतन्त्रसंग सहकार्य गरेर गणतन्त्र र व्यवस्था मास्न बारम्बार प्रहार गर्ने नेकपा एमालेलाई अबको निर्वाचनबाट परास्त गर्नुपर्ने बताए ।

एमाले राजतन्त्र ब्यूँताउन खोज्ने, देश टुक्र्याउन खोज्नेहरुसँग मिलेर संघीयताविरोधी गतिविधिमा सक्रिय रहेको भन्दै जनताले प्रतिगमनकारी शक्तिलाई अब
परास्त गर्ने बानियाँले बताए । उनले गाँजा विधेयक ल्याएर ओसारपसारकै आधारमा परेकालाई जेलमुक्त गरिने बताए ।विश्व स्वास्थ्य संगठनले गाँजालाई औषधिमुलक बनस्पती भनिसकेको अवस्थामा अब प्रशोधन गरेर विदेश निर्यात गरी देशको अर्थतन्त्र बलियो बनाउनुपर्ने बानियाँको भनाई छ । उनले मकवानपुरवासीको लागि व्यक्तिगत लगानीमै भएपनि कोरोनाको महामारीमा खाद्यान्न, जाडोमा न्यानो कपडा सहयोग गर्दै आएको स्मरण गर्दै आफु हुन्जेल कसैले भोकै र कठ्याङ्ग्रीएर बस्नु नपर्ने बताए ।

गठबन्धन कैलाश(७ का चुनाव प्रचारप्रसार संयोजक उदासकुमार भ्लोनको अध्यक्षतामा भएको कार्यक्रममा गठबन्धनका विभिन्न दलका नेताहरु क्रमश ओम घलान, सन्तबहादुर प्रजा, मुनु सिग्देल, गोविन्दराम चेपाङ, लोकबहादुर मोक्तान, पदमबहादुर तितुङ, बालकुमार मल्ल, राजेन्द्र घिसिङ लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*