बर्ताैलासँग जन्मथलोबासीले मागे खानेपानी, बिजुली

साझाकुरा
२०७९ कार्तिक २८, सोमबार १२:१२

हेटौंडा- मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवार रहेका महेश बर्तौलासँग जन्मथलो नामटारबासीले खानेपानी र बिजुली माग गरेका छन् ।
बर्तौला आइतबार निर्वाचन प्रचारप्रसार कार्यक्रमअन्तर्गत् जन्मस्थान नामटारमा पुग्दा स्थानीय बासिन्दा खुशी भएका थिए । बर्ताैलाको स्वागत गर्दै नामटारको इतिहासमा नै पहिलोपटक स्थानीय क्षेत्रको प्रतिनिधिसभाको सदस्यका उम्मेदवार पाएकोमा उनीहरुले खुशी व्यक्त गरेका थिए । स्थानीय क्षेत्रको युवा उम्मेदवारलाई गाउँमा पाउँदा फूलमालाले स्वागत गरे । स्वागत कार्यक्रममा स्थानीयले गाउँमा वर्षौदेखिका खानेपानी, बिजुलीसंगै शिक्षा, स्वास्थ्यका समस्याहरु खुलेर राखेका थिए । स्थानीयका समस्या सुनेपछि बर्तौलाले आफू जन्मिएको भूगोल भएकोले यस क्षेत्रको सबै समस्या बुझेको र समाधान गर्न तयार रहेको बताए ।

पहिलेका उम्मेदवारहरुले हरेक चुनावमा नामटारमा पुग्ने पक्की सडक निर्माणको कुरा उठाए पनि कार्यान्वयन नगरेकोमा चिन्ता व्यक्त गर्दै बतौंलाले आफूले बोलेका कुरा पूरा गरेर देखाउने स्थानीयलाई आश्वस्त पारे । निर्वाचनमा आफ्नो जीत सुनिश्चित रहेको बताउँदै उनले विकासका लागि आफू पाँच वर्ष यही क्षेत्रमा रहेर काम गर्ने बताए । सडक, खानेपानी र बिजुलीका विषयमा धेरै राजनीति भएको बताउँदै उनले अब काम गरेर देखाउने पालो आएको बताए । ‘अरु नेता जस्तो चुनावमा आश्वासनमात्र बाँड्ने होइन आफू काम गरेर देखाउन उम्मेदवार भएको छु’, बर्ताैलाले भने ।

यसैगरी, कैलाश गाउँ–पालिकाको कालिकाटारको चुनावी आयोजित सभामा बर्तौलाले जिल्लाको विकट यस क्षेत्रको हरेक विकासका काममा आफू सदैव साथमा रहने बताए । यस क्षेत्रबाट वर्षायाम लागेपछि सदरमुकाम हेटौंडा ओहोरदोहोर गर्न भइरहने समस्या सँधैका लागि अन्त्य गर्न सडक लगायतको पूर्वाधार निर्माण आफूले सक्दो सहयोग गर्ने उनले बताए । उनले २ नम्बर क्षेत्रका हरेक वडामा पुगेर स्थानीय स्तरका समस्यालाई उठाउँदै समाधानतर्फ आफूले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता दिइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*