लाभ पाउने अभिलाशाले चुनावमा आएको होइनः डीना

साझाकुरा
२०७९ कार्तिक २९, मंगलवार ०९:३९

हेटौंडा- सत्तारुढ गठबन्धनबाट मकवानपुरको क्षेत्र नम्बर १ की उम्मेदवार नेपाली कांग्रेसको केन्द्रिय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना) ले आफु कुनै लाभ पाउने अभिलाशाले चुनावमा नआएको बताएकी छन् । सोमबार बकैया गाउँ पालिका वडा नम्बर ९ शिखरपुरमा आयोजित चुनावीसभामा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘मैले कुनै लाभ पाउने अभिलाषाले यो चुनाबमा आएको होइन, उनले भनिन्–‘देशलाइ निकास चाहिएको छ, यो क्षेत्रलाई समृद्ध बनाउनु छ र मेरो एउटै उद्देश्य नै यहाँहरुको माझमा रहेर गर्व गर्न लायकको विकास गर्ने हो ।’

डीनाले देशलाई निकास र यस क्षेत्रको विकास गर्न आएको बताइन् । उनले यस क्षेत्रमा गर्व गर्न लायकको विकास गरेरै छाड्ने दाबी गरिन् । उनले यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि , पुल–पुलेसा जस्ता जनताको दैनिकी जिवनसंग सम्बन्धित विषयलाई योजनाबद्ध ढंगले विकास गरिने बताइन् । त्यसका लागि केन्द्रदेखि प्रदेशका सरकारमा गठबन्धनको जित सुनिश्चित हुनुपर्ने र त्यो सुनिश्चितता यहाँले जनताले बनाउनुपर्नेमा जोड दिइन् । त्यस्तैगरि मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) का उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) ले गठबन्धनको मत संरक्षण गर्न मतदातालाई आग्रह गरे । सोही चुनाबीसभालाई सम्बोधन गर्दै उनले जनताले मत संरक्षण गरिदिएमा यस क्षेत्रलाई विकास र समृद्ध बनाउने जिम्मेवारी आफ्नो रहेको बताए ।

‘अघिल्लो पटक मलाई जिताउनुभयो, मैले सकेको विकास गरे छिन्तुले भने– ‘यसपटक फेरी आएको छु, गठबन्धनको मत संरक्षण गरिदिनुस् बाँकी के–के गर्नुपर्ने ? कहाँ–कहाँ विकास गर्नुपर्ने त्यो सबै जिम्मेवारी मेरो हो, तपाईहरुले चिन्ता लिनुपर्दैन ।’ उम्मेदवार छिन्तुले यस क्षेत्रमा व्याप्त रहेको लालपुर्जाको समस्यालाई गठबन्धन सरकारले छिट्टै निकास दिएर सबैको हात–हातमा लालपुर्जा थमाइदिने बाचा पनि गरे । आफु अरुजस्तो चुनाब जितेर गएसी भाग्ने खालको नभएको बताउँदै उहाँले एक मिनेटको समय पाएपनि त्यो जनताकै लागि खर्चिने जिकिर गरे ।

गठबन्धनकी प्रचारप्रसार संयोजक ठुलीमाया मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, माओवादी मकवानपुर जिल्ला संयोजक सर्केश घलान, माओवादी बागमती प्रदेश सदस्य जिवन गोले र लक्ष्मी पाख्रिन, गठबन्धनका क्षेत्र नम्बर १ प्रचारप्रसार संयोजक दामोदर खनाल, वाइसिएल नेपालका केन्द्रिय सचिव सुमन पाख्रिन, माओवादीका बागमती प्रदेश सदस्य लक्ष्मी माझी लगायतको सहभागिता रहेको थियो ।यस्तै लोकतान्त्रिक बाम गठबन्धनले बकैया वडा नम्बर ९ कै च्याउच्याउ र वडा नम्बर ८ मा पनि चुनाबीसभा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*