मकवानपुर–१: सबैको जित्ने दाबी, डीना १६ हजार मतले अगाडि

साझाकुरा
२०७९ कार्तिक ३०, बुधबार १२:३५

हेटौंडा- मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा तीन जना उम्मेदवाहरु बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । दलीयका हिसाबले सबैभन्दा धेरै मत एमाले र गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसँग छ । तर, १ नम्बर क्षेत्रमा दलीय प्रतिस्पर्धा मात्र नभई उम्मेदवारहरुबीचको व्यक्तिगत प्रतिस्पर्धा जस्तो देखिने विश्लेषण छ । उम्मेदवारहरुका हिसाबले गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र एमालेबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका दिपकबहादुर सिंह मैदानमा छन् । तर, तीन जना उम्मेदवार नै आफ्नो जित निश्चितरहेको दाबी गर्छन् । १ नम्बर क्षेत्रमा स्वतन्त्रसहित १६ जना उम्मेदवार मैदानमा छन् । सिंहको पार्टी राप्रपासँग चुनाव जित्ने मत छैन ।

तर, सिंहले लोकप्रियताका आधारमा अप्रत्याशित मत ल्याउने दाबी गरिएको छ । सिंहले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा हेटौंडाको मेयर पदमा ल्याएको मतलाई विश्लेषण गरेर उनलाई पनि प्रमुख दाबेदारका रुपमा हेरिएको छ । जसकारण १ नम्बर क्षेत्रमा ठूला पार्टीहरुबीचको मात्र नभई व्यक्तिगत प्रतिस्पर्धा जस्तो देखिएको हो ।
तीन दाबेदारमध्ये सबैभन्दा धेरै मत गठबन्धनकी डीनासँग रहेको मत विश्लेषण छ । डीनासँग सिंगै कांग्रेससँगै नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को मत छ । १ नम्बर क्षेत्रमा १ लाख ५० हजार १ सय ५५ जना मतदाता छन् ।

जसमध्ये ७५ हजार २ सय २१ पुरुष, ७४ हजार ९ सय ३० महिला र अन्यमा चार जना मतदाता छन् । जसमध्ये डीनासँग ५५ हजार १ सय ३५ मत रहेको विश्लेषण गठबन्धनले गरेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय गौतमले जानकारी दिए । मत विश्लेषणमा गठबन्धन १६ हजार १ सय ३४ मतले अगाडि रहेको देखाउँछ । १ नम्बर क्षेत्रमा एमालेको मत ३९ हजार १ रहेको विश्लेषण गठबन्धनको छ । जसमा राप्रपा नेपालको मत जोडिएको छैन ।

यस क्षेत्रमा पाँच वर्षको अवधिमा २५ हजार ३ सय ५६ मतदाता थपिएका छन् । २०७४ मा १ लाख २४ हजार ७ सय ९९ मतदाता रहेकोमा अहिले बढेर १ लाख ५० हजार १ सय ५५ पुगेको निर्वाचन आयोगको तथ्याड्ढमा उल्लेख छ । चुनाव जित्न बढेकै मत महत्वपूर्ण छ । प्रतिस्पर्धामा रहेका प्रमुख उम्मेदवारहरुले गत स्थानीय तहमा वडा अध्यक्षलाई प्राप्त मतका आधारमा मत विश्लेषण गरेका छन् । गठबन्धनले मत विश्लेषण गर्दा एमालेलाई मात्रै प्रमुख प्रतिस्पर्धीको रुपमा लिइएको छ । सिंहलाई तेस्रो प्रतिस्पर्धीका रुपमा हेरिएको मत विश्लेषणले देखाउँछ ।

तर, गठबन्धनकी डीना र एमालेबाट थापाको हार जित राप्रपाका सिंहले ल्याएको मतको आधारमा हुने देखिएको छ । डीनाको विश्लेषण सिंहले स्थानीय तहमा जस्तै एमालेको मत काट्छन र आफू विजयी हुनेछ । थापाको विश्लेषण सिंहले जति धेरै भोट ल्याए आफ्नो जित्ने सम्भावना त्यति रहनेछ । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला ४५ देखि ५० हजार मत थापालाई आउने दाबी गर्छन् । एमालेको करिब ४० हजार मत र कमल थापाको व्यक्तिगतसँगै पार्टीको मतले थापालाई जित गराउने उनको दाबी छ ।

राप्रपाका सिंहले एमालेको मत चोर्ने सम्भावना बढी रहे पनि गठबन्धनको मतलाई पनि उनले आफ्नो पक्षमा पार्ने देखिन्छ । जसकारण सिंहले कसको मत बढी चोर्छन् अहिले नै भन्न सकिँदैन । तर, डीना र थापाको हार जितको साँचो सिंहसँग रहेको चर्चा छ । कम्युनिष्टहरुको गढका रुपमा रहेको मकवानपुरमा राजसंस्था बोकेको राप्रपाको जनमत कमजोर छ । हेटौंडामा करिब ५–६ हजार मत रहेको आन्तरिक आंकलन राप्रपाको थियो । तर, सिंहले मेयरमा २० हजार ५ सय ३१ मत ल्याए । सिंहले हेटौंडाको मत ल्याए जस्तै बागमती र बकैया गाउँपालिकाको पनि मत बटुल्न सके डीना र थापा दुवै धरापमा पर्ने देखिन्छ ।

सिंहले अर्को पार्टीको मत चोर्न नसकेको अवस्थामा डीना र थापा दुवै बलिया छन् । २०७४ मा एमाले समानुपातिकतर्फ २८ हजार ८ सय ८४ मत ल्याउँदा कांग्रेस र माओवादीले क्रमशः १६ हजार ८ सय २२ र ११ हजार ५ सय ४३ ल्याएका थिए । त्यो कांग्रेस र माओवादीको मत जोड्दा २८ हजार ३ सय ६५ हुन्छ । अब त्यही मतमा नेकपा एसको मत जोड्दा गठबन्धनको मत हुन्छ । राप्रपा १५ हजार १ सय ७१, मालेले ३ सय १ मत ल्याउँदा अन्य पार्टीको २ सय मतको अँकडा पार नभएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।

२०७४ मा एमालेका कृष्णप्रसाद दाहालले ल्याएको मत र समानुपातिकतर्फ एमाले र माओवादीले प्राप्त गरेको मतान्तार २०४ मात्रै छ । त्यसैलाई आधार मान्दा पनि गठबन्धनका लागि एमाले एक्लै भारी पर्ने देखिन्छ । थापालाई जितका लागि एमालेको मत जोगाए पुग्छ । १ नम्बर क्षेत्रमा गएको स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मान्दा गठबन्धनकी डीना बलियो छिन् । यस क्षेत्रमा बागमती, बकैया, हेटौंडाको १५ र मकवानपुरगढीको १ देखि ४ गरी कुल ४० वडा पर्दछन् । उक्त क्षेत्रमा स्थानीय निर्वाचनमा राप्रपा नेपालले समर्थन गरेको एमालेले सबैभन्दा बढी १५ वटा वडा जित्यो तर, कुनै पालिका जित्न सकेन । कांग्रेसले दुई पालिकासहित १२ वटा वडा जित्यो । त्यस्तै माओवादीले एक पालिका सहित १२ वडा जित्दा नेकपा एसले एक पालिका र एक वडामात्रै जित्यो ।

स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी र नेकपा एसको गठबन्धन थियो । एमालेको वडाध्यक्षका उम्मेदवारले पाएको मत ३८ हजार ६५ छ । उता कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ३४ हजार ७२ मत प्राप्त गर्दा माओवादीले १६ हजार १ सय १७ र एकीकृत समाजवादीले ३ हजार २ सय ८३ मत ल्याएको छ । राप्रपाले ४ हजार २८ मत ल्याएको आयोगको तथ्यांकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*