१० वर्षपछि पुर्ण क्षमतामा सञ्चालन भयो हेटौंडा सिमेन्ट

साझाकुरा
२०७९ मंसिर ३, शनिबार ०९:३५

हेटौंडा- आर्थिक अभावको समस्या झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग करिव १० वर्षपछि पुर्ण क्षमतामा सञ्चालनमा आएको छ ।  आर्थिक समस्याको कारण ४ वर्षदेखी निरन्तर घाटामा गइरहेको हेटौँडा सिमेन्ट उद्योग करिव १० वर्षपछि पुर्ण क्षमतामा सञ्चालनमा आएको हो । यसअघि आर्थिक अभाव झेलिरहेको उद्योगको तीन महिनासम्म उत्पादन ठप्प थियो । तीन महिनापछि कात्तिक १५ गतेबाट मात्रै उद्योगले उत्पादन सुरु गरेको थियो । ३ महिनासम्म उत्पादन ठप्प पारेको उद्योग करिव एक दशकपछि दैनिक सात सय ५० मेट्रिक टनको पुर्ण क्षमतामा सञ्चालनमा आएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जानकारी दिए । करिव दुई सातादेखी उद्योगलाई पुर्ण क्षमतामा सञ्चालनमा ल्याएको पाण्डेले बताए । उनको अनुसार एक दशकभन्दा बढि समयदेखी उद्योग यसरी पुर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन ।

४० वर्ष पुराना मेसिनका कारण उत्पादन लागत महँगो पर्दा उद्योगले निजी क्षेत्रका उद्योगसँग बजार मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा उद्योग निरन्तर घाटामा रहदै आएको छ । उद्योगका महाप्रवन्धक पाण्डेले उद्योगको महाप्रवन्धको रुपमा आफू आएपछि उद्योगको ईन्टरनल टेक्निकल अडिट गरेपछि उद्योगको समस्या पत्ता लागेको बताए ।
अडिटपछि आएको रिपोर्टलाई कार्यान्वयन गर्दै जादा उद्योगलाई दशकपछि पुर्ण क्षमतामा सञ्चालनमा ल्याउन सकेको उनले बताए । पाण्डेले आन्तरिक स्रोतबाट ३० प्रतिशत रकम तिरेर बाँकी उधारोमा मेसिन मर्मत गरेर तत्कालको लागि उद्योगलाई सञ्चालनमा ल्याएको उनले बताए ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सिमेन्ट बिक्री वितरण सुरु गरिने पाण्डेको भनाइ छ । हाल सिमेन्ट प्याकिङ गर्ने कार्यसमेत सुरु भइसकेको छ । कोइलाको अभावको कारण विगत तीन महिनादेखि बन्द रहेको उद्योग दुई हप्ता अघि सञ्चालनमा आएको हो । कोइला बिक्रेतासँग अनुरोध गरेर केही समयका लागि कोइलाको व्यवस्थापन गरी उद्योग सञ्चालनमा ल्याइएको उद्योग प्रशासनको भनाइ छ । भारत, भूटान र इण्डोनोसियालगायतका देशबाट कोइला आउन थालेपछि उत्पादन सुरु भएको हो । ‘हाल उद्योगसँग करिव एक हप्तालाई मात्रै पुग्ने कोईला छ । हामिले कोईला बिक्रेताहरुले फेरि पठाउछु भन्नु भएको छ ।

फेरि कोईला आएर उद्योग निरन्तर पुर्ण क्षमतामा सञ्चालन हुन्छ भन्ने विश्वास छ’, उनले भने । ४ वर्षदेखि लगातार घाटामा चलिरहेको उद्योग सञ्चालनका लागि कोइलाको अभाव भएपछि ३ महिनायता उत्पादन ठप्प भएको थियो । तर विभिन्न निकायबाट कोइला सहयोग पाएपछि कात्तिक १५ गते मंगलबार उद्योगले पुनः उत्पादन थालेको थियो ।
४० वर्ष पुराना मेसिनका कारण उत्पादन लागत महँगो पर्दा उद्योगले निजी क्षेत्रका उद्योगसँग बजार मूल्यमा प्रतिस्पर्धा गर्न सकेको छैन । करिब ९ सय रूपैयाँ लागतमा सिमेन्ट उत्पादन गर्ने गरेको उद्योगले ७ सय ३७ रूपैयाँ प्रति बोरा सिमेन्ट बिक्री गर्दै आएको छ ।

कच्चा पदार्थको अभाव र ढुंगा–धुलो पकाउने मेसिन (किल्न) बिग्रिएर सिमेन्ट उत्पादन रोकिने गरेको छ । उद्योग निरन्तर चल्ने र बन्द भइरहने अवस्थाबाट गुज्रिएको उद्योगका महाप्रबन्धक पाण्डे बताउँछन् । उनका अनुसार सिमेन्ट उत्पादन गर्ने मेसिन धेरै पुरानो र जीर्ण भइसकेको छ । मेसिन पटक–पटक बिग्रिने र पूर्ण क्षमतामा उत्पादन गर्न नसक्ने अवस्थामा रहेकोले तत्काल उद्योग पुर्ण रुपमा सञ्चालनमा आएको भएपनि उद्योगमा नयाँ मेसिन नल्याएसम्म समस्या नहट्ने महाप्रबन्धक पाण्डेको भनाई छ । तर उद्योगमा पुरानो भएर बिग्रिएका मेसिन मर्मत गर्न र नयाँ प्रविधि भित्र्याउन आवश्यक रकम उद्योगसँग छैन ।

कुनै समय नेपाली सिमेन्ट क्षेत्रमा एकछत्र राज गरेको उद्योग ४ वर्षयता अस्तित्व जोगाउनकै लागि सञ्चालन हुनसमेत संघर्षरत रहेको छ । उद्योगले ४ वर्षमा करिब ८० करोड रूपैयाँ घाटा बेहोरेको छ । उत्पादनमा गिरावट र उत्पादित सिमेन्ट पनि बिक्री नहुने समस्याले उद्योग निरन्तर घाटामा छ । गत आव ०७८÷७९ मा मात्रै उद्योगले करिब साढे २३ करोड रूपैयाँ बराबर घाटा बेहोरेको महाप्रबन्धक पाण्डेले जानकारी दिए । गत आवमा १ अर्ब २२ करोड आम्दानी गरेको उद्योगले १ अर्ब ३९ करोड खर्च गरेको छ। उद्योगले आव ०७४÷७५ मा १६ करोड ३६ लाख नाफा कमाएको थियो। त्यसयता उद्योग निरन्तर घाटामा छ । आव ०७५÷७६ मा उद्योगले १ करोड ५ लाख, आव ०७६्÷७७ मा २३करोड ८२ लाख, आव ०७७÷७८ मा थप १७ करोड ४ लाख नोक्सान बेहोरेको उद्योगले जनाएको छ ।

उनले निजी उद्योगहरूले सिमेन्टको मूल्य घटाएपछि हेटौंडा सिमेन्ट बिक्री हुन नसकेको बताए । बजारसँग प्रतिस्पर्धा गर्न उद्योगले हाल प्रतिबोरा सिमेन्ट ७३७ रूपैयाँमा बिक्री गरिरहेको छ । तर उद्योगले एक बोरा सिमेन्ट उत्पादन गर्नकरिब ९ सय रूपैयाँ लाग्ने पाण्डेले जानकारी दिए । उद्योग धराशायी बन्दै गएपछि जग्गा बेचेर उद्योगमा नयाँ प्लान्ट जडान गर्ने योजना बनेको थियो। निरन्तरको घाटा रोक्न उद्योगले नयाँ प्लान्ट जडान गर्न आफ्नो स्वामित्वमा रहेको जग्गा बेच्ने योजना बनाएको थियो तर हाल उक्त योजना स्थगित भइसकेको छ ।

घाटामा चलिरहेको उद्योगले हेटौंडा–९ स्थित आफ्नो जग्गा नेपाल बैंकलाई बेच्ने तयारी गरेको थियो। नेपाल बैंकलाई जग्गा बेचेर पुराना भएका मेसिन मर्मत गर्ने तथा नयाँ मेसिन ल्याएर उद्योगलाई पुरानो लयमा फर्काउने योजना थियो। तर उद्योग मन्त्रालयले जग्गा बिक्री गर्न रोक लगाएपछि हेटौैंडा सिमेन्टले उक्त योजना तत्कालका लागि स्थगित गरेको छ ।महाप्रबन्धक पाण्डेका अनुसार २ वर्षअघि नै सञ्चालक समितिले निर्णय गरेर उद्योग तथा आपूर्ति मन्त्रालयमा जग्गा बिक्रीको सम्बन्धमा पत्राचार गरेको थियो। सिफारिश मन्त्रालयमै थन्किएको अवस्थामा महाप्रबन्धक भएर आएका पाण्डेले जग्गा बिक्रीबाट उद्योगमा नयाँ प्लान्ट जडान गर्ने योजनालाई टुंगोमा पु¥याउन खोजेका थिए । तर उद्योगको योजना हाललाई पूरा हुन सकेन।

नयाँ मेसिन जडान गर्न उद्योगको केही खाली जग्गा सरकारी कार्यालयहरूलाई बेच्न सकिनेबारे मन्त्रिपरिषद्लाई जानकारी गराएको पाण्डेले यसअघि नै बताएका थिए । उसो त उद्योगले आफ्नो दशकौं पुरानो रोप–वे बेचेर पनि घाटा पूर्ति गर्न नखोजेको होइन तर यसअघि पनि पटक–पटक रोप–वे बेच्ने तयारी गरे तापनि लिलाम हुन सकेको थिएन ।
महाप्रबन्धक पाण्डेका अनुसार अहिले रोप–वे को इस्टमेट तयार पार्न समिति गठन भएको छ । उक्त समितिले लागत इस्टमेट तयार पारेपछि लिलामको लागि प्रक्रिया अगाडि बढ्नेछ । हेटौंडा सिमेन्टलाई देशभरिका उद्योगले उत्पादन गर्ने सिमेन्टमध्ये सर्वाधिक गुणस्तरीय र विश्वासिलो मानिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*