विश्वकप क्रिकेट प्रतियोगिताको बन्द प्रशिक्षण हेटौंडामा

साझाकुरा
२०७९ मंसिर ३, शनिबार ०९:४०

हेटौंडा- दृष्टिविहिनहरुको विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टिम बन्द प्रशिक्षण हेटौंडामा सुरु भएको छ ।  आगामी डिसेम्बर ६ देखि १७ सम्म भारतमा हुने टि–२० विश्वकपमा नेपाल र भारतसहित पाकिस्तान, अष्ट्रेलिया, दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका सहभागी छ । सोही नेपाली राष्ट्रिय टिम बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय टिमले शुक्रबार बिहानदेखि हेटौंडाको हुप्रचौरमा बन्द प्रशिक्षण सुरु गरेको हो । १५ सदस्यीय टिमले दुईसाता हेटौंडामा प्रशिक्षण गर्ने प्रशिक्षक नहेन्द्र निरौलाले जानकारी दिए । नेपाली टिमको कप्तानी पाल्पाका खिमानन्द गैरेले गर्नेछन् ।

१५ सदस्यीय टिममा ललितपुरका सागर लामा, जुम्लाका भरत चौलागाई, कन्चनपुरका हिम खत्री, बर्दियाका राधेश्याम चौधरी, पाल्पाका तमबहादुर फाल पूर्ण दृष्टिविहिन खेलाडी (बी–१) को रुपमा सहभागी छन् । कप्तान गैरेसहित कास्कीका सुनिल राना, प्रेम क्षेत्री युवराज भण्डारी र काभ्रेका सन्त पहरी (बी–२) बल देख्न सक्ने खेलाडीको रुपमा सहभागी छन् भने बर्दियाका नरेश चौधरी, रुपन्देहीका शंकर रेग्मी, नुवाकोटका सुरेन्द्र तामा, रुपन्देहीका खेमराज सापकोटा र चितवनका सागर चेपाङ (बी–३) कमजोर दृष्टि भएको खेलाडीको रुपमा सहभागी छन् । दृष्टिविहिन क्रिकेट टिममा ४ जना बी–१, ३ जना बी–२ र ४ जना बी–३ समूहका खेलाडी सहभागी गर्न पाउने
व्यवस्था रहेको प्रशिक्षक निरौलाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*