अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासँग पराजित

‘विश्वकप–२०२२’
साझाकुरा
२०७९ मंसिर ७, बुधबार ११:३३

हेटौंडा-कतारमा जारी विश्वकप–२०२२ मा एसियन मुलुक साउदी अरेबियाले विश्वकपको प्रमुख दाबेदार दक्षिण अमेरिकी महारथी अर्जेन्टिनामाथि एतिहासिक जित निकालेको छ ।यसअघि चारपटक अर्जेन्टिनासँग खेलेको साउदी अरेबियाले कुनैपनि खेल जित्न सकेको थिएन् । तर, विश्वकपको समूह (सी)को पहिलो खेलमै साउदीले अर्जेन्टिनालाई निरीह बनाएको हो । साउदी अरेबियाले अर्जेन्टिनालाई हराएर इतिहास बनाउँदा अर्जेन्टिनाको लामो ३६ खेलको अपराजित यात्रामा टुंगो लागेको छ ।

साउदी अरेबियाले दुई पटक विश्वकप जितेको अर्जेन्टिनालाई २–१ गोलले हराएको हो । लुसेल आइकोनिक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले अग्रता लिएको थियो । साउदीका साउद अब्दुलहामिदले लिएन्ड्रो परेडेसलाई फाउल गरेपछि भिएआरको सहयोगमा अर्जेन्टिनाले पाएको पेनाल्टीलाई अर्जेन्टिनी कप्तान लियोनल मेसीले गोलमा परिणत गरे ।

खेलको पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लिएपनि दोस्रो हाफमा भने साउदी अरेबियाले आक्रामक खेल देखायो । दोस्रो हाफमा अर्जेन्टिनामाथि हावी बनेको साउदीले पाँच मिनेट अन्तरमा दुई गोल ग¥यो । अर्जेन्टिना जस्तो बलियो टिमलाई साउदीले पाँच मिनेटमा फरकमा दुई गोल गर्नु अप्रत्याशित नतिजा थियो । खेलको ४९ औं मिनेटमा साउदीका सालेह अल शेहरीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

साउदीका लागि सालेम अल दावसारीले ५४ औं मिनेटमा दोस्रो अर्थात निर्णायक गोल गरे । अर्जेन्टिनाविरुद्ध २–१ गोलको अवस्थामा पुगेपछि साउदीले डिफेन्स लाइनलाई बलियो बनाएको थियो । अर्जेन्टिनाले आधा दर्जन प्रहार गरेपनि गोल हुन सकेन् । खेलमा अर्जेन्टिनाले गरेको तीन गोल अफसाइड भएको थियो । २८ औं मिनेटमा लाउटारो मार्टिनेजले गरेको गोल भिएआरले अफसाइड देखाएपछि अर्जेन्टिनाले अग्रता दोब्बर बनाउनबाट चुक्यो ।

अर्जेन्टिनाका केही प्रहारलाई साउदी गोलकिपर मोहम्मेद खालिल अल ओवाइसले उत्कृष्ट बचाउ गरे । पहिलो खेलमै पराजित बनेको अर्जेन्टिनालाई विश्वकपको थप यात्रा कठिन हुने देखिएको छ । अर्जेन्टिनाले अब नकआउट चरण पुग्न बाँकी दुई खेल जित्नैपर्ने दबाब बढेको हो । अर्जेन्टिनाले अब मेक्सिको र पोल्याण्डसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । विश्व फुटबलको काउनडाउनमा साउदी भन्दा मेक्सिको र पोल्याण्ड अगाडि नै छन् । अर्जेन्टिनालाई आगामी दुई खेल जित्न सहज भने हुने छैन् ।

साउदीको जितपछि फ्रेन्च प्रशिक्षक हर्भ रेनार्डको प्रशंसा सुरु भएको छ । रेनार्डको प्रशिक्षणमा विश्कपमा छनौट भएको साउदीलाई पहिलो खेलमै अविश्वसनीय जित निकाल्न सकेको भन्दै उनको चर्चा भएको हो । रेनार्डको रेकर्ड पनि चानचुने भने छैन् । रेनार्डले सन् २०१२ मा जाम्बियालाई अफ्रिका कप अफ नेसन्स च्याम्पियन बनाएर वाहीवाही कमाएका थिए । उनले सन् २०१५ मा आइभरी कोस्टलाई पनि अफ्रिकी च्याम्पियन बनाए ।

रेनार्डले सन् २०१८ मा मोरक्कोको नेतृत्व गरेका थिए । उनले विश्वकपमा साना टिमहरु अप्रत्यासित नतिजामा निर्भर हुन्छन् भन्ने प्रतिक्रिया खेलअघि दिएका थिए । उनले जसो भने साउदीले खेलमा त्यस्तै देखायो ।

यसमा तपाइको मत

Your email address will not be published.


*