मकवानपुर प्रतिनिधिसभाले पायो नयाँ अनुहार सिंह र बर्तौलालाई जनताको विश्वास

साझाकुरा
२०७९ मंसिर ९, शुक्रबार ०९:१८

हेटौंडा-मकवानपुरको दुवै प्रतिनिधिसभा क्षेत्रबाट नयाँ अनुहार निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ बाट दीपक बहादुर सिंह र क्षेत्र नम्बर २ बाट महेश बर्तौला निर्वाचित भएका हुन् ।राप्रपाका केन्द्रीय सदस्य रहेका सिंहले गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ८२ मतान्तरले पराजित गरे । सिंहले २०५४ सालदेखि मकवानपुरमा संसदीय निर्वाचन र स्थानीय तह निर्वाचन लड्न सुरु गरेका थिए । चार पटकसम्मको प्रतिस्पर्धामा उनी जनताबाट अनुमोदित हुन सकेका थिएनन् । जसकारण चुनाव जितेपछि संसदमा उनी नयाँ अनुहारका हुनेछन् । सिंहले कुल २७ हजार ८ सय १६ मत ल्याए ।

डिनाले २५ हजार ५ सय ३४ मत पाइन् । सिंहले चुनाव जित्दा उनकै राजनीतिक गुरु वा पूर्वसहकर्मी कमल थापा भने तेस्रो स्थानमा खुम्चिए । थापाले २५ हजार ४ सय २० मत ल्याउँदै तेस्रो बने । १ नम्बर क्षेत्रको मतगणनामा सुरुवाती चरणदेखि नै डिना, एमालेका उम्मेदवार थापा र सिंहबीच त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको थियो । बागमती गाउँपालिकाको मतपेटिका खोलेर सुरु गरिएको मतगणनामा डिनाले निरन्तर अग्रता लिएकी थिइन् । बकैया गाउँपालिकाको मतगणनामा पनि डिनाले अग्रतालाई निरन्तरता दिएकी हुन् । तर, हेटौँडा उपमहानगरपालिकाको मतगणना हुँदा राप्रपाका सिंहले निरन्तर मतान्तर घटाउँदै लगे । सिंहलाई हेटौँडाको ५ र १२ नम्बर वडाले राम्रो मत दिएपछि उनले मतान्तरलाई उल्टो बनाइदिए र डिना दोस्रो स्थानमा झरिन् । सिंहलाई अन्तिममा ९ र १० नम्बर वडाको मतले जिताइदिएको छ ।

देशभर वैकल्पिक शक्तिका रुपमा देखिएका दल र स्वतन्त्रहरुप्रति मतदाताले देखाएको उदारता सिंहलाई मकवानपुरमा मिलेको विश्लेषण भएको छ । राप्रपासँग क्षेत्र नम्बर १ मा ठूलो संस्थागत मत नभएपनि सिंहले लोकप्रिय मतकै कारण चुनाव जिते । उनलाई बागमती र बकैया गाउँपालिका पनि राम्रो मत आएको थियो । सिंहको जितसँगै राप्रपाले मकवानपुरमा २८ वर्षपछि चुनाव जितेको हो । २०४६ सालमा बहुदल स्थापनापछि राजनीतिबाट छायाँमा परेको लामो समयपछि राप्रपाले मकवानपुरमा ‘कमब्याक’ गरेको हो ।

बहुदलपछि कम्युनिस्टहरुको प्रभाव बढ्दै जाँदा राप्रपापनि साँघुरिँदै गएको थियो । जतिबेला मकवानपुरमा राप्रपाको नेतृत्व थापाले गर्थे । राष्ट्रिय राजनीतिमा थापाले नेतृत्व गर्थे भने जिल्लामा सिंहले पार्टी र थापालाई सघाउने गरेका थिए । तर, हिजोका सहयात्री आज प्रतिस्पर्धी हुँदा नतिजा अप्रत्याशित निस्किएको हो । राप्रपालाई २८ वर्ष अर्थात् २०५१ सालपछि जित दिलाउने सिंह बने । राप्रपाले अन्तिम पटक २०५१ सालमा कमल थापा विजयी भएर जित निकालेको थियो । त्यसपछिका निर्वाचनमा न कमल थापा जिते न राप्रपा नै विजयी भयो । चार पटक प्रत्यक्षतर्फ दुई पटक समानुपातिकमा निर्वाचन हारे पनि चुनावी प्रतिस्पर्धाबाट पछि हटेका थिएनन् सिंह ।

सिंहले हालसम्म लडेका कुनै पनि निर्वाचन जितेका थिएनन् । उनी यसअघि दुईवटा संघीय निर्वाचन र दुई पटक हेटौंडाको मेयरमा उठेका थिए । सिंहले गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मेयर पदमा पराजित भए । उनी २०५४ सालमै हेटौंडा नगरपालिकाको मेयरमा उठेर डोरमणि पौडेलसँग १ हजार २ मतले पराजित भएका थिए । सिंहले विरोध खतिवडासँग २०५६ मा र २०७० मा संविधानसभा निर्वाचन अनन्त पौडेलसँग लडेका थिए । आफू पनि चार पटक हारेका सिंहको प्रतिस्पर्धा पटक–पटक हार्दै आएका डीना र थापासँग भएकाले चुनाव रोचक
थियो । तीन जना उम्मेदवारलाई यस निर्वाचन जसरी पनि जित्नुपर्ने दबाब थियो ।

पहिलो प्रयासमै बर्तौलाको जितमकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाले गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडालाई पराजित गरेका हुन् ।बिहीवार बिहान ४ बजे आएको मतपरिणामअनुसार महेशले खतिवडालाई ४ हजार ५ २० मतान्तरले पराजित गरेका हुन् । चुनावी आमसभामा करिब ३० हजार मतान्तरमा आफूले चुनाव जित्ने दाबी गरेका खतिवडालाई बर्तौलासँग ठूलो मतान्तरमा हार्दा समस्या परेको छ । भाषण गर्दा आँखा देख्न छोडेका कतिपय भनाई खतिवडालाई चुनावी हराउने खुराक बनेको चर्चा सुरु हुन थालेको छ । भाषणमा खतिवडा विकास र स्थानीयका समस्याको कुरा गर्न छोडोर एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्ने गरेकाले उनीप्रति मतदाताको वितृष्णाले नतिजामा देखिएको एमालेका नेताहरु बताउँछन् ।

खतिवडाको पराजय आफ्नै राजनीतिक चेलोबाट भएको हो । बर्तौला खतिवडाका चेला हुन् । २०७४ मा एमालेबाट उम्मेदवार रहँदा खतिवडालाई जिताउन बर्तौला चुनावी अभियानको अग्रपंक्तीमा थिए । तर, त्यसको पाँच वर्षमा उनै बर्तौलाले खतिवडालाई नराम्रो हार चखाइदिए । संसदीय निर्वाचनमा मकवानपुरका कम्युनिस्ट नेताहरुमध्ये सबैभन्दा भाग्यमानी मानिएका विरोध खतिवडाको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । २०४६ सालमा बहुदल स्थापनापछिका सबै चुनाव जित्दै आएका खतिवडालाई ३१ वर्षपछि बर्तौलो रोकेका हुन् । २०४८ सालदेखि संसदीय निर्वाचन जित्दै आएका उनी २०७४ मा पनि निर्वाचित भएका थिए । २०३५ सालदेखि सक्रिय राजनीतिमा रहेका खतिवडाले उठेकामध्ये कुनै पनि निर्वाचन नहार्ने थोरै नेताहरुको रेकर्डमा नामसमेत लेखाएका थिए ।

खतिवडाले हालसम्म चार वटा निर्वाचन जितेका छन् । उनी २०४८, ०५१, ०५६ र ०७४ मा गरी चार पटक चुनिए । उनले २०६४ र २०७० मा भएको पहिलो र दोस्रो संविधानसभा–व्यवस्थापिका संसद्को चुनावमा भने भाग लिएनन् । तर, पाँचौँ पटकको प्रयासमा भने उनको अपराजित चुनावी यात्रामा रोक लाग्यो । कुल खसेको मत ८६ हजार ३ सय १ मा बर्तौलाले ३४ हजार ९ सय १६ मत ल्याए । खतिवडाले ३० हजार ३ सय ९६ मत मात्रै पाए । बदर मत ४ हजार १ सय २ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाउँदा राप्रपाका राजन मैनालीले २ हजार १ सय ९४ मत प्राप्त गरे ।

विद्यार्थी राजनीतिबाट २०७८ सालमा मात्रै पार्टीको राजनीतिमा प्रवेश गरेका बर्तौला पहिलोपल्ट संसदीय चुनाव लडेका हुन् । बर्तौला हाल एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचारप्रसार विभाग प्रमुख छन् । क्षेत्र नम्बर २ मा गठबन्धनको मत करिब ५८ हजारको हाराहारीमा थियो । स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार मान्दा नेपाली कांग्रेसको ३२ हजार, नेकपा माओवादी केन्द्रको २२ हजार र एकीकृत समाजवादीको करिब ३ हजार मत थियो । जसमा नेकपा एमालेको मत ३६ हजार ५ सयभन्दा बढी थियो । अंक गणितमा खतिवडा अगाडि देखिए पनि निर्वाचनको नतिजामा बर्तौलाले बाजी मारे । खतिवडाको पराजयमा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले गठबन्धनको भोट काट्नु र स्थानीय तह निर्वाचनमा जसरी खसेको मत संसदीय निर्वाचनमा नआउनु कारण रहेको विश्लेषण भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*