बागमतीमा गठबन्धन सरकार बन्ने संकेत यी हुन् मुख्यमन्त्रीका दाबेदार
हेटौंडा-मंसिर २०७९ मा भएको निर्वाचनको मतगणना जारी रहँदै बागमती प्रदेशमा कुन पार्टीको सरकार बन्ने र को मुख्यमन्त्री बन्छ भन्ने चर्चा सुरु भएको छ ।देशका ७ प्रदेशमध्ये सबैभन्दा ठूलो र केन्द्रीय राजधानी समेत रहेको बागमतीमा सरकारको नेतृत्व कसले गर्छ भन्ने उत्सुकता जनतामा देखिन थालेको छ । निर्वाचनको मतगणना अन्तिम चरणमा रहेसँगै बागमती सरकारको नेतृत्व गर्ने नेताहरुको अनुहार देखिन थालिसकेको छ ।
हालकै सत्ता गठबन्धन वा एमाले र राप्रपालगायतका दलको अर्को गठबन्धनको सम्भावना भएमा प्रदेश सरकारको नेतृत्व मकवानपुर, चितवन, धादिङबाट निर्वाचित एक जनाले गर्नसक्ने देखिएको छ । हालसम्म प्राप्त मत परिणाम अनुसार गठबन्धनको सरकार बन्ने देखिन्छ । मुख्यमन्त्रीको दाबेदारका हिसाबले यी तीन जिल्लाबाट निर्वाचन सांसदमध्ये एकले सरकारको नेतृत्व गर्ने देखिएको हो । बागमतीको भावी मुख्यमन्त्रीका दाबेदार अघि आइसकेका छन् ।
हालकै सत्ता गठबन्धनले सरकार बनाउन सकेमा तीन जनाको नाम अगाडि आएको छ । नेपाली कांग्रेसबाट पार्टी प्रदेश सभापतिसमेत रहेका मकवानपुरका इन्द्रबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रबाट हालका आर्थिक मामिला तथा योजना मन्त्री धादिङका शालिकराम जम्मकट्टेल र एकीकृत समाजवादीबाट हालका आन्तरिक मामिला तथा कानुन मन्त्री चितवनका कृष्ण प्रसाद शर्मा खनाल दाबेदार हुन् । यी तीनमध्ये को मुख्यमन्त्री हुने भन्ने विषय गठबन्धनको भागबण्डासँग जोडिएको छ ।
गठबन्धनभित्र सरकारको भागबण्डामा बागमती प्रदेश सरकार जुन पार्टीलाई पर्छ उही पार्टीका मुख्यमन्त्री हुनेछन् । भागबण्डामा कांग्रेसले पाए बानियाँ प्रमुख दाबेदार हुन् । उनी यसअघि नै मुख्यमन्त्री हुन खोजेपनि सफल हुन सकेका थिएनन् । भागबण्डामा माओवादी केन्द्रले बागमती पाए जम्मकट्टेल मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । अघिल्लो कार्यकाल तत्कालीन नेकपाले साढे ३ वर्ष चलाउँदा पनि माओवादीले सरकारको नेतृत्व गर्ने अबसर नै पाएको थिएन् ।
भागबण्डामा पुनः एकीकृत समाजवादीले पाए चितवनका खनाल मुख्यमन्त्रीका दाबेदार हुन् । अघिल्लो कार्यकालमै एकीकृत समाजवादीले सरकारको नेतृत्व गरेकाले आगामी कार्यकालमा एकीकृत समाजवादीले बागमती प्रदेश सरकारको नेतृत्व पाउने सम्भावना न्युन रहेको देखिन्छ । यसैगरी, एमालेको एकल सरकार वा राप्रपासँगको तालमेल हुँदा चितवनबाट निर्वाचित जेएन थपलिया मुख्ष्यमन्त्रीका दाबेदार हुन् । एमालेबाट चार जना मुख्यमन्त्रीका दाबेदार निर्वाचनमा होमिएका थिए ।
चितवनबाटै थपलिया सहित देवी ज्ञवाली, काठमाडौंबाट निवर्तमान सभामुखसमेत रहेका सानुकुमार श्रेष्ठ र नुवाकोटबाट पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत भइसकेका पार्टी प्रदेश कमिटी अध्यक्ष केशव प्रसाद पाण्डे निर्वाचन लडेका थिए । तर, यी मुख्यमन्त्रीका दाबेदार चार जनामध्ये चितवनका थपलिया मात्रै निर्वाचित भए । काठमाडौंका श्रेष्ठ राप्रपाका उम्मेदवारसँगै पराजित भएका थिए । उनले आफू भावी मुख्यमन्त्री भएको दाबी गर्दै आएका थिए । मुख्यमन्त्रीका दाबेदार ३ जना नै निर्वाचनमा पराजित भएपछि थपलिया दाबेदारका रुपमा देखिएका हुन् ।
प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आएपछि दलले प्राप्त गरेका सिट संख्याका आधारमा सरकार गठनको प्रक्रिया अगाडि थालिने छ । बागमतीमा १३ वटा जिल्ला छन् । जसमध्ये उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरजिल्लाका प्रदेशसभा सदस्य निर्वाचन जितेका सांसदहरुको संख्याले सरकार गठनमा निर्णायक भूमिका रहन्छ । प्रदेशसभामा पाँच वर्षका लागि उपत्यकासहित मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलाखा, रामेछाप, सिन्धुलीबाट चुनिएका प्रदेशसभा सदस्यहरु हुनेछन् । कुल १ सय १० सांसदमध्ये ५६ सांसदसहितको बहुमत पु¥याउने दलले सरकार गठन गर्न सक्नेछ ।
अघिल्लो कार्यकालमा तत्कालीन नेकपाको स्पष्ट बहुमत थियो । सर्वोच्च अदालतको आदेशबाट नेकपा फुटेपछि पनि एमालेले एकल बहुमतको सरकार बनाएको थियो । तर, एमाले नै विभाजन भएपछि भने साढे ३ वर्ष लामो सरकार बर्हीगमनमा परेको थियो । त्यसपछि हालकै सत्ता गठबन्धनले प्रदेशमा सरकार बनाएका थिए । हालसम्मको प्राप्त मतपरिणाम अनुसार बागमतीमा स्पष्ट बहुमत कुनै दलको आएको छैन् । जसकारण गठबन्धन सरकार निर्माण हुने देखिन्छ । अन्तिम परिणाम नआइसकेकाले बागमती प्रदेशसभाको ठूलो दल नेकपा एमाले वा नेपाली कांग्रेस बन्ने देखिन्छ । तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र हुने देखिएको छ ।
अघिल्लो कार्यकालमा एमालेसँगको सहकार्यमा निर्वाचन लडेकाले माओवादी केन्द्र एक सिट बढी हुँदा दोस्रो ठूलो दल थियो । शनिवार दिउसोसम्मको नतिजाअनुसार बागमती प्रदेशका १३ जिल्लाका ६६ वटा निर्वाचन क्षेत्रको मध्ये ५३ वटाको मत गणना भइसकेको थियो । जसमा काठमाडौंको १५, चितवनको ५, नुवाकोटको २, धादिङको ४, मकवानपुरको ४, काभ्रेको ४, ललितपुरको ५, भक्तपुरको ४, रसुवाको २, रामेछापको १, सिन्धुलीको ४ र सिन्धुपाल्चोकको ४ वटा क्षेत्रको मत गणना सम्पन्न भइ नतिजा सार्वजनिक भइसकेको छ ।
काठमाडौंको ६, चितवनको १ र नुवाकोटको २ वटा क्षेत्रको मत गणना जारी रहेको छ भने दोलखा २ वटा निर्वाचन क्षेत्रको मत गणना सुरु हुन सकेको छैन । हालसम्म प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै २२ स्थानमा विजयी हासिल गरेको छ भने माओवादी केन्द्रले ११ र एमालेले १० स्थानमा जित हात पारेको छ ।
विगतको तुलनामा राप्रपाका सांसद संख्या बढ्ने देखिएको छ भने नेकपा (एकीकृत समाजवादी)का सांसद संख्या घट्ने छन् । यसअघि एकीकृत समाजवादीसँग १३ जना सांसद थिए । राप्रपासँग समानुपातिक कोटाका दुई सांसद थिए । राप्रपाले प्रदेशसभा सदस्यमा प्रत्यक्ष सिटसमेत जितेको छ । समानुपातिकका अघिल्लो निर्वाचनमा भन्दा मत बढी ल्याएको अवस्थामा अझै सांसद संख्या बढ्ने देखिएको हो ।
जसकारण बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको वा एमाले–राप्रपा मध्ये कसको संयुक्त सरकार बन्छ भन्ने टुंगो लागि सकेको छैन् । प्रदेशसभामा समानुपातिबाट पनि सांसद चुनिने भएकाले अहिले नै सरकार कसको बन्न सक्छ भन्ने स्पष्ट आधार छैन् ।