मकवानपुरमा एमाले ठूलो दल कांग्रेस दोस्रो हुँदा माओवादी चौथोमा खुम्चियो

साझाकुरा
२०७९ मंसिर ११, आईतवार १३:२०

हेटौंडा- ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट मकवानपुरमा नेकपा एमालेले आफ्नो बिरासतलाई कायम राखेको छ ।
वर्षौदेखि जिल्लामा ठूलो दल बन्दै आइरहेको एमालेले यस निर्वाचनबाट आफ्नो बिरासतलाई जोगाएको हो । देशका ठूला दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन हुँदा पनि प्रत्यक्षतर्फ १ प्रतिनिधिसभा र १ प्रदेशसभा सदस्य एमालेले जितेको थियो ।

षतर्फ एमालेले दुई सिट जितेपनि कांग्रेसले प्रदेशसभामा १ सिट, माओवादीले प्रदेशसभामा २ सिट र राप्रपाले प्रतिनिधिसभामा १ सिट जितेको हो । तर, समानुपातिक तर्फको मतपरिणाममा जिल्लाको ठूलो दल नेकपा एमाले बनेको छ । समानुपातिक र प्रत्यक्षतर्फ दुई सिट जितेको एमालेले समानुपातिकमा जिल्लाभरबाट ५० हजार ८ सय ७ मत ल्याएको हो ।

समानुपातिकमा आएको मतलाई दलको आकार निर्धारण गर्ने गरिन्छ । आमनिर्वाचन–२०७९ तर्फ मकवानपुरको प्रतिनिधिसभाको समानुपातिक मतगणनामा नेपाली कांग्रेस दोस्रो ठूलो दल बनेको छ । कांग्रेसले ३६ हजार २ सय ६४ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो ठूलो दल बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले दुई जना प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार उठाएपनि जित निकाल्न सकेको थिएन् । २ नम्बर क्षेत्रका उम्मेदवार भरत पराजुलीले भने सम्मान जनक मत १३ हजार मत ल्याएका थिए ।

पाँच महिनाअघि मात्रै जन्मिएको दल राष्ट्रिय स्वतन्त्र पाटीका कारण जनयुद्धपछि शान्ति सम्झौताबाट मूलधारको राजनीतिमा आएको नेकपा माओवादी केन्द्रलाई चौथो स्थानमा झारदिएको छ । ०७४ को निर्वाचनमा माओवादी जिल्लाको तेस्रो ठूलो दल थियो ।जिल्लाभर १ लाख ७८ हजार १ सय ३८ मत खसेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले २९ हजार ८ सय ८९ मत ल्याउन सफल भएको हो । माओवादी केन्द्रले २६ हजार १ सय ३३ ल्याउँदा जिल्लाको पाँचौ ठूलो दल बनेको राप्रपाले १६ हजार ७ सय ७१ मत ल्याएको छ ।

राप्रपाले समानुपातिकमा ल्याएको भन्दा बढी मत प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवार रहेका दिपक सिंहले ल्याएका थिए । राप्रपाको संस्थागत मत धेरै नभए पनि सिंहले लोकप्रिय मत ल्याएर निर्वाचन जितेको देखिएको छ । एमालेबाट विभाजन भएको नेकपा (एकिकृत समाजवादी)ले जम्मा ३ हजार ८ सय २७ ल्याएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले जम्मा ५ सय ३६ मत ल्याएको छ ।

राप्रपा नेपालको संस्थागत मत यति थोरै रहेपनि १ नम्बर क्षेत्रमा एमालेको सुर्य चिन्हबाट प्रत्यक्ष उम्मेदवार रहेका थापाले २० हजार मत कटााएका थिए । यसबाट थापालाई एमालेले मत दिएको देखिन्छ । यसैगरी, प्रत्यक्षतर्फको जितलाई आधार मान्दा एमाले पहिलो र कांग्रेस जिल्लाको चौथो शक्तिमा खुम्चिएको छ ।

आमनिर्वाचनले गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै जनप्रतिनिधि जितेर पहिलो स्थानमा पुगेको कांग्रेस ६ महिनाको अन्तरालमा दोस्रो स्थानमा पुगेको हो । मकवानपुरमा रहेको १० स्थानीय तहमध्ये ५ वटा तहमा अध्यक्ष, जितेर जिल्लामा प्रथम भएको कांग्रेस प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आइपुग्दा दोस्रो बरियतामा पुगेको हो ।

आम निर्वाचनमा नेकपा एमाले एक प्रतिनिधिसभा तथा एक प्रदेशसभासहित प्रथम स्थानमा रहँदा नेकपा माओवादी केन्द्र दुईवटा प्रदेशसभा सहित दोश्रो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक प्रतिनिधिसभासहित तेस्रो हुँदा नेपाली कांग्रेस एउटा प्रदेशसभामा मात्र खुम्चियो । एमालेबाट प्रतिनिधिसभा २ मा महेश बर्तौला, प्रदेशसभा १ (ख)मा एकालाल श्रेष्ठ, कांग्रेसबाट प्रदेशसभा २ को (ख)मा इन्द्रबहादुर बानियाँले जितेका थिए । माओवादीबाट प्रदेशसभा १ को (क)मा प्रेमबहादुर पुलामी र प्रदेशसभा २ को (क)मा कुमारी मोक्तान र राप्रपाबाट प्रतिनिधिसभा १ मा दिपक सिंह विजयी भएका थिए । गठवन्धनबाट नेपाली कांग्रेसले एक प्रतिनिधिसभासहित दुईवटा प्रदेश सभामा उम्मेदवारी दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*