मकवानपुरमा ‘लौरो’ चिन्हका उम्मेदवारको धरौटी जफत

साझाकुरा
२०७९ मंसिर १२, सोमबार ११:४८

हेटौंडा-गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा लौरो चुनाव चिन्हबाट उठेका स्वतन्त्र उम्मेदवारहरुले चुनाव जितेपछि त्यसकै फाइदा उठाउन लौरा चिन्ह लिएका प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको जमानत जफत भएको छ । ४ मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भाग लिएका मकवानपुरका हाम्रो नेपाली पार्टीका उम्मेदवारहरुको धरौटी (जमानत) जफत भएको हो ।

लौरो चुनाव चिन्ह भएको हाम्रो नेपाली पार्टीबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका दिपेन्द्र चन्द ठकुरी, प्रदेशसभातर्फ १ को ‘क’ का किशोर राना र प्रदेशसभा १ को ‘ख’का किशोर अर्यालको जमानत जफत भएको हो । यी तीन जना उम्मेदवारहरुले निर्वाचन अघि प्रचारप्रसारका क्रममा पार्टीको नाम लुकाएर आफू स्वतन्त्र भएको भ्रम मतदातामा फैलाएका थिए ।

जब की लौरो चुनाव चिन्ह हाम्रो नेपाली पार्टीको हो । उक्त पार्टीको सिफारिसमा उम्मेदवार बनेका ठकुरी, राना र अर्यालले स्वतन्त्र उम्मेदवार बनेको बन्दै लौरोमा मत दिन प्रचार गरेका थिए । दलको नाम लुकाएर स्वतन्त्र भन्दै मत मागेको समाचार आएपछि उनीहरुले प्रचारका लागि बनाएको ब्यानरमा हाम्रो नेपाली पार्टीको नाम सानो अक्षरले लेखेर प्रचार गरेका थिए । लौरो चुनाव चिन्ह स्वतन्त्रहरुको प्रतिक रहेको भन्दै उनीहरुले सार्वजनिक स्थलमा प्रष्टीकरण दिने गरेका थिए ।

तर, लौरो चुनाव चिन्हलाई स्वतन्त्रहरुको प्रतिकका रुपमा मतदाताहरुले विश्वास नगरेपछि उनीहरुको जमानत नै जफत भएको हो । स्वतन्त्रको नाममा दलबाट उम्मेदवार बनेर मतदाताको आँखामा छारो हालेका यी तीन जना नै उम्मेदवारको जमानत जफत भएको हो । निर्वाचनमा कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ ।

मकवानपुर क्षेत्र नम्बर १ मा कूल ९१ हजार ४ सय ८६ मत खसेकोमा जम्मा सदर मत ९१ हजार १ सय ९ रहेको थियो । हाम्रो नेपाली पार्टीका उम्मेदवार ठकुरीले जम्मा ४ सय २२ मत प्राप्त गरे ।प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ । तर निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू हुने छैन ।’

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने उल्लेख छ । यसैगरी, मकवानपुरको क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फका १० जना उम्मेदवारमध्ये ७ जनाको जमानत जफत भएको छ ।खसेको ८६ हजार ४ सय १० मत मध्ये सदर भएको ८२ हजार २ सय ९४ मतको १० प्रतिशत कटाउने तीन जना उम्मेदवारको मात्र जमानत जफत हुन पाएन् ।

जमानत सुरक्षित रहनको लागि ८ हजार २ सय २९ मत आवश्यक पर्नेमा नेकपा एमाले, नेकपा एकिकृत समाजवादी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले मात्र मतभार कटाए । अन्य सातजना उम्मेदवार भने आवश्यक मतभन्दा पछि परे । जमानत जफत हुनेमा २ हजार १ सय ९३ मात्रै मत ल्याएका राप्रपाका राजन मैनाली, १ हजार ८ सय ७ मत ल्याएका मालेका उद्धवप्रसाद अधिकारी, मंगोल नेशनल अर्गनाईजेशन जीवन स्याङ्तान
(४ सय २३), २ सय ५७ मत ल्याएका सचेत नेपाली पार्टीका कुलेन्द्र दिप विक्रम न्यौपाने, ६८ मत ल्याउने नेशनलिष्ट पिपुल पार्टीका तुलाबहादुर लामाको जमानत जफत भएको हो ।

यसैगरी, ५३ मत ल्याउने नेपाल मजदुर किसान पार्टीका रत्नप्रसाद प्रजापती, स्वतन्त्रका उम्मेदवार प्रतिक कालाखेतीले ३३ मत मात्रै ल्याउँदा जमानत जफत भएको हो । प्रतिनिधिसभामा विजयी भएका नेकपा एमालेका महेश बर्तौलाले ३४ अजार ९ सय ५० मत प्राप्त गरे । उनले कुल सदर मतको ४२ दशमलव ४६ प्रतिशत मत हाँसिल गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका बिरोध खतिवडाले ३० हजार ४ सय ३२ मत प्राप्त गरे ।

खतिवडाले प्राप्त गरेको मत ३६ दशमलव ९७ प्रतिशत हो । प्रतिनिधिसभामा तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले १२ हजार ५९ मत प्राप्त गरे । यो कुल सदर मतको १४ दशमलव ४६ प्रतिशत हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*