‘निराशाजनक परिणाम स्वीकार गर्छौ’

साझाकुरा
२०७९ मंसिर १४, बुधबार ०९:५६

हेटौंडा- कमल थापा नेतृत्वको राप्रपा नेपालले आमनिर्वाचन–२०७९ मा प्राप्त निराशाजनक परिणाम स्वीकार गरेर अघि बढ्ने निर्णय गरेको छ ।
राप्रपा नेपालको मंगलबार बसेको सचिवालय बैठकले आम निर्वाचनमा निराशाजनक परिणाम भोग्नुपरेको निष्कर्ष निकालेको हो । अपेक्षाकृत परिणाम नआए पनि जनताको अभिमतलाई स्वीकार गर्दै प्रजातान्त्रिक मान्यताअनुसार पराजय स्वीकार गर्ने राप्रपा नेपालले निर्णय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए ।

पार्टीका अध्यक्ष समेत रहेका थापाले मकवानपुरको क्षेत्र नम्बर १ बाट निर्वाचन हारेका थिए । त्रीपक्षी भिडन्तमा थापा तेस्रो भएका थिए । निर्वाचन राप्रपाका दिपकबहादुर सिंहले जितेका हुन् भने दोस्रो कांग्रेसकी महालक्ष्मी उपाध्याय डीना भएकी थिइन् ।राप्रपाको अधिवेशनबाट अध्यक्षमा पराजित भएपछि थापाले पुरानै पार्टी राप्रपा नेपाल ब्यूँताएका थिए । पार्टीको संगठनसमेत निर्माण भइनसकेका कारण राप्रपा नेपालले अन्य क्षेत्रबाट आफ्ना उम्मेदवारलाई प्राथमिकताका साथ उठाएको थिएन् ।

थापाले भने नेकपा एमालेको समर्थनमा निर्वाचन उठेका थिए । राप्रपा नेपालको काठमाडौंमा बसेको बैठकले पराजित हुनुमा पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा होमिनुपरेको, संगठन निर्माण हुन नसकेको, संस्थागत रुपमा प्रभावकारी चुनावी अभियान सञ्चालन हुन नसकेकोलगायत कमजोरी पहिचान गरेको महामन्त्री बर्तौलाले बताए ।

बैठकले निर्वाचनमा देखिएका कमजोरी र भविष्यमा अवलम्बन गर्नुपर्ने नीति र कार्यलाई व्यवस्थित गर्न उपाध्यक्ष डा. विष्णु भण्डारीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा वसन्त मानसिंह अधिकारी, सुरेश आचार्य, नरप्रसाद थापा, माधव खत्री, हिक्मतजंग भण्डारी, युवती कार्की, उज्वल पोखरेल र राजाराम बर्तौला सदस्य छन् । समितिलाई निर्वाचनको समिक्षा र सुझाबसहितको प्रतिवेदन पेस गर्न म्याण्डेट दिइएको छ । पार्टीले आगामी दिनमा संगठन विस्तारलाई ध्यान दिने नीतिसमेत लिएको बर्तौलाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*