विश्वकप क्रिकेट प्रतियोगिताको राष्ट्रिय टिमको बिदाई

साझाकुरा
२०७९ मंसिर १५, बिहीबार १०:४८

हेटौंडा- दृष्टिविहिनको विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टिमलाई बिदाई गरिएको छ ।  दृष्टिविहिनको विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टिमलाई बुधबार मकवानपुर जिल्ला क्रिकेट संघले एक कार्यक्रमको आयोजना गरी गरेकोे हो ।
दृष्टिविहिनहरुको राष्ट्रिय क्रिकेट टिम मंसिर १ बाट बन्द प्रशिक्षणका लागि हेटौंडा आएका थिए । १५ सदस्यीय टिममा ललितपुरका सागर लामा, जुम्लाका भरत चौलागाई, कन्चनपुरका हिम खत्री, बर्दियाका राधेश्याम चौधरी, पाल्पाका तमबहादुर फाल पूर्ण दृष्टिविहिन खेलाडी (बी–१) को रुपमा सहभागी छन् ।

कप्तान गैरेसहित कास्कीका सुनिल राना, प्रेम क्षेत्री युवराज भण्डारी र काभ्रेका सन्त पहरी (बी–२) बल देख्न सक्ने खेलाडीको रुपमा सहभागी छन् भने बर्दियाका नरेश चौधरी, रुपन्देहीका शंकर रेग्मी, नुवाकोटका सुरेन्द्र तामा, रुपन्देहीका खेमराज सापकोटा र चितवनका सागर चेपाङ (बी–३) कमजोर दृष्टि भएको खेलाडीको रुपमा सहभागी छन् । आगामी डिसेम्बर ६ देखि १७ सम्म भारतमा हुने टि–२० विश्वकपमा सहभागिता जनाउन टोली डिसेम्बर ४ माभारत प्रस्थान गर्नेछन् ।

खेलभारतको नयाँ दिल्ली र हैदरावादमा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, अष्ट्रेलिया, दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका सहभागी रहेको छ ।खेलाडीहरुलाई बिदाई गर्दै मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीले दृष्टिविहिन र अशक्त भनिएकाहरुप्रति राज्यको कुनै ध्यान जाने नगरेको र जो सक्षम छ, बोल्न सक्ने छ उसैलाई मात्र सरकारले हेर्ने गरेको बताए ।

उनले आगामी दिनमा मकवानपुरमा बन्द प्रशिक्षणका लागि आउनुपरेमा मैदानको व्यवस्था र आर्थिक सहयोग गरिदिने बताए । उनले टोलीलाई व्यक्तिगत नगद ५ हजार रुपैयाँ सहयोग समेत गरे । यस्तै, मकवानपुर क्रिकेट संघका अध्यक्ष वासुलाल श्रेष्ठले टिमलाई प्रतियोगिताका लागि शुभकामना दिए ।टिमका प्रशिक्षक नहेन्द्र निरौलाले खेलाडीहरुका लागि बन्द प्रशिक्षण पर्याप्त नभएको बताए । नेपाल सरकारले मैदानको व्यवस्था गरी कम्तिमा १ महिना बन्द प्रशिक्षण गराउनुपर्ने भएपनि त्यो नभएको उनको भनाई थियो ।

उनले नेपाली टिमले यसअघि अष्ट्रेलिया, साउथ अफ्रिका, बंगलादेश र नेदरल्याण्ड जस्ता विभिन्न बलिया देशका टिमहरुलाई हराइसकेको बताए ।
कोरोना महामारीपछि टिमका खेलाडीहरु विस्थापित हुन पुगेको र अहिले नयाँ खेलाडी समेटेर टिम बनाएको उनको भनाई छ । टिमका कप्तान खिमानन्द गैह्रेले बन्द प्रशिक्षणका लागि मैदान नपाइरहेको अवस्थामा मकवानपुर क्रिकेट संघले मैदान उपलब्ध गराई सहजै प्रशिक्षण गर्न वातावरण मिलाइदिएको बताए । गैह्रेले आफुहरु विश्वकप खेल्ने खेलाडी भएपनि सरकारले खासै वास्ता नगरेको बताउनुभयो । अहिले प्रशिक्षणका लागि पनि सरकारले कुनै ड्रेस उपलब्ध नगराएको गुनासो गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*