बागमतीमा एमालेः बहुमतको हैसियत गुमाएर प्रतिपक्षमा देखिँदै
हेटौंडा- २०७४ सालको निर्वाचनमा स्पष्ट बहुमत ल्याउन नसकेको नेकपा एमाले पाँच वर्षमै कमजोर स्थितिमा खुम्चिएपछि सरकार गठनमा अनिच्छुक देखिएको छ ।साना दललाई साथमा लिएर पनि सरकार बन्ने स्थिति नदेखिएपछि एमाले बागमती प्रदेश सभाको प्रमुख प्रतिपक्षी दलको भूमिकामा देखिने भएको हो । बागमती प्रदेशसभामा हालकै सत्ता गठबन्धनको सरकार बन्ने अंक गणित रहेको छ ।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) छन् । १ सय १० कूल सांसद् संख्या रहेको बागमतीमा सरकार गठनका लागि ५६ जना सांसद् संख्या आवश्यक पर्दछ । जसका लागि सरकार बनाउन गठबन्धनका दलको सांसद् संख्या पुग्ने देखिएको हो । ६६ निर्वाचन क्षेत्रमध्ये ६४ वटा निर्वाचन क्षेत्रको मतपरिणाम आइसक्दा कांग्रेस ठूलो दल छ । अब दोस्रो ठूलो दलका लागि माओवादी र एमालेको समानुपातिक मतले निर्धारण गर्दछ ।
अघिल्लो कार्यकालमा तत्कालीन नेकपा हुँदा एमालेले नेतृत्व लिएर साढे ३ वर्ष प्रदेश सरकार सञ्चालन गरेको थियो । एमाले विभाजनपछि सरकार बहिर्गमनमा परेर गठबन्धनको सरकार निर्माण भएको हो । आगामी कार्यकालका लागि हालकै सत्ता गठबन्धन यथावत् रहिरहे एमाले प्रमुख प्रतिपक्षी दल हुनेछ । नेकपा एमालेका केन्द्रीय सदस्य आनन्द पोखरेलले बागमती प्रदेशमा एमालेले सरकार गठनको कुनै तयारी नगरेको बताए ।
एमाले बागमती प्रदेश कमिटी पूर्वअध्यक्ष समेत रहेका पोखरेलले प्रत्यक्ष र समानुपातिकमा पाएको मतले एमाले प्रमुख प्रतिपक्षको भूमिकामा रहने स्पष्ट भएको बताए । ‘गठबन्धनका राजनीतिक दलहरुले प्रदेशमा बहुमत ल्याइसकेका छन्, तसर्थ हामीले सरकार गठनबारे सोच निर्माण गरेका छैनौं, बहुमत प्राप्त दल या गठबन्धनलाई सरकार निर्माण गर्न दिएर हामीहरु प्रतिपक्षमा रहन्छौं’, उनले भने ।
प्रत्यक्षमा बिजयी भएका नेताहरुमध्ये चितवनबाट विजयी भएका जगन्नाथ थपलिया बागमतीमा एमालेको संसदीय दलको नेता बन्ने देखिन्छ । मुख्यमन्त्रीमा दाबेदार रहेका एमालेका उम्मेदवार सानुकुमार श्रेष्ठ, केशव पाण्डे, देवी ज्ञवालीहरु पराजित भएपछि थपलिया अगाडि आएका हुन् । यस निर्वाचनबाट बागमतीमा नयाँ दलको पनि प्रवेश भएको छ । पुरानै पार्टी राप्रपाले धेरै सिट ल्याउन सफल हुँदा एमालेलाई धक्का लागेको हो ।
बागमती प्रदेशको प्रदेश सभामा नेपाली कांग्रेसले सबैभन्दा बढी सिट जितेको छ ।
प्रत्यक्षतर्फ कांग्रेसले २४ सिट हात पार्दा माओवादी केन्द्र १४ सिटसहित दोस्रो स्थानमा रहेको छ । नेकपा एमालेले १२ सिटमा जित हात पारेको छ । गत २०७४ को निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा रहेको एमाले पाँच वर्षमै खुम्चिएको हो ।२०७४ मा प्रत्यक्षतर्फ नै ४२ सिटमा जीत हात पारेको एमाले समानुपातिकसहित ५९ सांसद्सहित स्पष्ट बहुमतमा रहेको थियो । तत्कालीन समयमा बाम एकता गरेर चुनाव लडेको एमाले र माओवादी केन्द्रले प्रत्यक्षतर्फ ४२ र १७ सिट जित्दा कांग्रेस ७ सिटमा सीमित बनेको थियो ।
सो निर्वाचनमा कांग्रेसले काठमाडौंको ४ वटा क्षेत्र, मकवानपुर, रसुवा र सिन्धुलीको एक क्षेत्रमात्र जित्न सकेको थियो ।यसपटकको निर्वाचनमा राप्रपाले ७ सिट, नेकपा एकीकृत समाजवादीले ५ सिट, हाम्रो नेपाली पार्टी र नेमकिपाले ११ सिट जितेको छ । २०७४ मा एमालेसँग विभाजन हुँदा एकीकृत समाजवादीको १३ सिट थियो । हाम्रो नेपाली पार्टीले बागमती प्रदेशसभामा पहिलोपटक प्रवेश पाउने भएको हो ।