एमाले, कांग्रेस र माओवादीले कसरी गुमाए १६ लाख बढी मत

साझाकुरा
२०७९ मंसिर १९, सोमबार १२:३२

हेटौंडा-यस पटकको निर्वाचनमा नेपालका तीनवटै ठूला दल नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले समानुपातिकतर्फ अघिल्लोपटकको तुलनामा साढे १६ लाखभन्दा बढी मत गुमाएका छन् ।ठूला दलहरूले प्रायः निर्वाचनमा एक–अर्काको मत तान्ने गर्छन् । यसरी मुख्य प्रतिस्पर्धीको मत तानेर आफू ठूलो हुन्छन् । तर, यसपालिको चुनावमा यी तीनै दलको मत नयाँ दलले लगेका छन् । परिणामस्वरूप यी तीनै वटा दल दुब्लाएका छन् ।

अहिलेसम्म समानुपातिक तर्फ १ करोड ४ लाख २० हजार मत सदर भएको छ । यो मत पाँच वर्षअघिभन्दा धेरै हो । त्यो बेला ९५ लाख ४४ हजार ७ सय ७९ मत मात्र सदर भएको थियो । समानुपातिकको थोरै मतगणना अझै बाँकी भएकाले दलहरूको मत केही थपिनेछ । तर, अहिले दलहरूले पाएको प्रतिशतमा खासै धेरै परिवर्तन आउने छैन । यसपालि मतदाता संख्या नै बढेकाले जम्मा सदर मत पनि धेरै भएको हो । नत्र यसपालि पाँच वर्ष अघिको तुलनामा खसेको मत प्रतिशत भने कम छ ।

यसपालि समानुपातिक तर्फ सबैभन्दा धेरै मत नेपाली कांग्रेसले गुमाएको छ । पाँच वर्षअघि २०७४ मा कांग्रेसले जम्मा सदर मतको ३२.७७ प्रतिशत पाएको थियो । यसपालि पनि कांग्रेसले कम्तिमा यो प्रतिशत कायम राख्न सकेको भए ३४ लाख १४ हजार मत ल्याउँथ्यो । तर, उसले २६ लाख ६० हजार मतमात्र ल्याएको छ । अर्थात् उसले ७ लाख ५४ हजार मत गुमाएको छ ।

एमालेले पाँच वर्ष अघिको चुनावमा सदर मतको ३३ प्रतिशत ल्याएको थियो । यसपालि पनि त्यति नै प्रतिशत कायम गरेको भए एमालेले ३४ लाख ३८ हजार मत ल्याउँथ्यो । उसले यसपालि २७ लाख ८८ हजार मतमात्र पाएको छ । अर्थात् पाँच वर्ष अघिको तुलनामा यसपालि ६ लाख ४४ हजार मत गुमाएको छ ।

संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्रले पनि यसपालि उल्लेख्य मात्रामा मत गुमाएको छ । पाँच वर्षअघि माओवादी केन्द्रले सदर मतको १३.६५ प्रतिशत पाएको थियो । यसपालि पनि त्यति प्रतिशत कायम राखेको भए १४ लाख २२ हजार मत पाउने थियो । तर, सो दलले ११ लाख ६२ हजारमात्र पाएको छ । यसरी माओवादी केन्द्रले पनि २ लाख ६० हजार मत गुमाएको छ ।

२०७४ सालमा मधेसका दुई ठूला दल अहिलेका जसपा र लोसपाले जम्मा सदर मतको ९.८६ प्रतिशत मत ल्याएका थिए । यसपालि मधेसमा जनमत पार्टीका रूपमा सिके राउत नेतृत्वको नयाँ दल जन्मिएको छ । यो दलको उदयले खासगरी लोसपाको मत घटाएको छ । तर, पनि यी ३ मधेसी दलको मत प्रतिशत जोड्दा यसपालि पनि १० प्रतिशत भन्दा कम नै छ । पाँच वर्षअघि दुई मधेसी दलले जम्मा ९ लाख ८२ हजार मत ल्याएका थिए भने यसपालि ९ लाख ८० हजार जति छ ।

त्यसैले ठूला तीन दलको मत मधेसी पार्टीले खोसेको देखिन्नँ । बरू यसपालि मतदाता बढेकाले मधेसको पनि जनमत पार्टी बाहेकको अरू मत नयाँ दलतिर गएको देखिन्छ । तीन दलले गुमाएको साढे १६ लाख बढी मत यसपालि मुख्यगरी चार वटा नयाँ दलले लगेको देखिन्छ ।
यसको सबैभन्दा ठूलो हिस्सा यसपालि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले लगेको देखिन्छ । यो दलले यसपालि ११ लाख २४ हजार मत ल्याएको छ । तीन दलका मतको दोस्रो ठूलो हिस्सा राप्रपाले लगेको देखिन्छ ।

पाँच वर्षअघि राप्रपाका दुई घटकले जम्मा २ लाख ८४ हजार जति मत पाएका थिए । यसपालि राप्रपाले ५ लाख ८६ हजार मत पाएको छ । अर्थात् ३ लाख मत बढाएको छ ।त्यसैगरी नेकपा (एकीकृत समाजवादी) र पश्चिम तराईमा उदाएको नागरिक उन्मुक्ति पार्टीले पनि २ लाख ९४ हजार र २ लाख ७२ हजार मत ल्याएका छन् । यी दुबै नयाँ दल हुन् । यसरी रास्वपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले पाएको मत र यसपालि राप्रपाले थपेको मत जोड्दा झन्डै २० लाख पुग्छ । यी दलले मुख्य तीन दलको भागबाट साढे १६ लाख मत र अरू छरिएको साढे तीन लाख मत लगेको देखिन्छ ।

नयाँ दलप्रति जनताको रूझान र समानुपातिक सूचीमा समावेश भएका कांग्रेसका नेताका कारण आफ्नो दलको मत यसपालि घटेको कांग्रेस नेताहरूको बुझाइ छ । ‘हाम्रा मतदाता यसपटक कांग्रेसको समानुपातिक सूची हेरेर हामीसँग रिसाए । त्यसैले हाम्रो लोकप्रिय मत गुम्यो’, काँग्रेस महामन्त्री गगन थापाले भनेका छन् ।

एमालेका निर्वाचन विभाग प्रमुख विष्णु रिमाल एमालेको ग्रामीण क्षेत्रको मत राप्रपामा गएको र सहरी क्षेत्रको मत राष्ट्रिय स्वतन्त्र पार्टीमा जाँदा यसपटक मत घटेको बताउँछन् । ‘ग्रामीण क्षेत्रमा एमालेको मत राप्रपाले लगेको छ भने सहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई गएको छ । यही कारण हामीले समानुपातिकमा भोट गुमायौं’,रिमालले भने ।

माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकमा यसबारे छलफलसमेत भएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशको परिणामलाई सन्तोषजनक भनेका थिए भने प्रतिनिधि सभामाको समग्र परिणामप्रति असन्तुष्टि जनाएका थिए ।‘प्रतिनिधिसभामा हामी नराम्ररी खुम्चियौं । यसबारे निर्मम समीक्षा गर्दै सच्चिन जरूरी छ’, उनको भनाइ थियो । उपमहासचिव मातृका यादवले निरन्तर सत्तामा रहेर पनि जनताका अपेक्षा पूरा गर्न नसक्दा माओवादी खुम्चिएको बताएका छन् ।

‘हामी निरन्तरमा सत्तामा बस्यौं तर, जनताले अपेक्षा गरेका काम पूरा गर्नेतर्फ ध्यान दिएनौं । हामीसँग जनता रिसाउनु स्वाभाविक नै हो । पार्टीका लागि यो परिणाम अनपेक्षित हो तर, जनताको सन्देश बुझेर सच्चिनुपर्छ’, उनले भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*