स्विटजरल्याण्डमाथि शानदार जित निकाल्दै पोर्चुगल क्वार्टरफाइनलमा

साझाकुरा
२०७९ मंसिर २१, बुधबार १२:०७

काठमाडौँ-गोन्सालो रामोसको ह्याट्रिकमा स्वीटजरल्याण्डमाथि शानदार जित निकाल्दै पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । लुसैल स्टेडियममा मंगलबार राति भएको खेलमा पोर्चुगलले स्वीटजरल्याण्डलाई ६–१ को फराकिलो अन्तरले पाखा लगाएको हो । यो खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । पोर्चुगलले अब क्वार्टरफाइनलमा मोरक्कोसँग खेल्नेछ ।

मंगलबार नै भएको पहिलो खेलमा मोरक्कोले पेनाल्टी सुटआउटमा स्पेनलाई ३–० ले हराउँदै पहिलो पटक क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको पोर्चुगलले बाँकी गोल दोस्रो हाफमा गर्यो । पोर्चुगलको जितमा रामोसले ह्याट्रिक पुरा गरे ।
जारी विश्वकपमा यो पहिलो ह्याट्रिक हो । क्रिस्टियानो रोनाल्डोको स्थान लिदै सुरुवाती ११ मा स्थान बनाएका रामोसले खेलको १७, ५१ र ६७ औँ मिनेटमा गोल गर्दै ह्याटिक पुरा गरे ।

खेलको १७ औँ मिनेटमा रामोसको गोलमा पोर्चुगलले सुरुवाती अग्रता बनाएको थियो । रामोसले जाओ फ्लीक्सको पासमा गोल गरेका थिए । ३३ औँ मिनेटमा कप्तान पेपेले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारेका थिए । खेलको ५१ औँ मिनेटमा रामोसले व्यक्तीगत गोल तथा टोलीका लागि तेस्रो गोल गर्दै खेललाई ३–० को अवस्थामा ल्याए ।

खेलको ५५ औँ मिनेटमा राफेल गुइरिरोले गोल गर्दै पोर्चुगललाई ४–० को अग्रता दिलाए । त्यसको तिन मिनेटमा नै स्वीटजरल्याण्डले गोल गर्दै खेलमा फर्कने संकेत गरेको थियो । स्वीटजरल्याण्डका मेनुअल एन्काजीले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । ६७ औँ मिनेटमा पोर्चुगललाई ५–१ को अग्रता दिलाउने क्रममा रामोसले ह्याट्रिक पुरा गरे । खेलको अतिरिक्त समयमा राफेल लियोले गोल गर्दै ६–१ को सानदार जित निकालेको हो ।

विश्वकपमा १९६६ मा तेस्रो भएको पोर्चुगल २००६ मा चौथो भएको थियो । फिफा विश्वकपमा यो नै पोर्चुगलको उत्कृष्ट नतिजा हो । त्यसयता २०१० मा अन्तिम १६ बाट बाहिरिएको पोर्चुगल २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । २०१८ मा नकआउट चरणबाटै बाहिरिएको पोर्चुगल यो संस्करण विश्वकप उचाल्ने दाउमा छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*