नयाँ भवनको अझै टुंगो छैन, चालू हालतको बैठक कक्ष भत्काएर ६ लाख खर्च

साझाकुरा
२०७९ मंसिर २७, मंगलवार ११:२३

हेटौंडा- निर्वाचन आयोगबाट समानुपातिक सांसदहरुको टुंगो लागेसँगै ५ वर्षीय दोस्रो कार्याकालका लागि बागमती प्रदेशसभाले १ सय १० जना सांसद पाउँदैछ ।४ मंसिरमा भएको निर्वाचनबाट प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ६६ जना सांसद प्रदेशसभाले पाइसकेपनि ४४ जना सामानुपातिक सांसदको टुंगो लाग्न अझै बाँकी छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात वटा दलले निर्वाचन आयोगमा समानुपातिक सांसदहरुको नामावली पठाइसकेपछि आयोगले अन्तिम परिणाम दिइसकेको छैन् ।

केही दिनभित्रै आयोगले अन्तिम परिणाम घोषणा गरेसँगै बागमती प्रदेशसभामा त्यसको २० दिनभित्र अधिवेशन बोलाउनु पर्ने कानुनी प्रावधान छ ।
आगामी प्रदेशसभा बैठकका लागि प्रदेशसभा सचिवालयले आन्तरिक तयारी पनि गरिरहेको छ । सचिवालयले तयारीअनुसार पुरानो प्रदेशसभा भवनको बैठक कक्ष भत्काएर मर्मतसम्भार गरिरहेको हो । तर, चालू हालतको बैठक कक्षलाई भत्काएर ६ लाखको खर्चमा मर्मतसम्भार गरिएको भन्दै प्रदेशसभा सचिवालयको विरोध भइरहेको छ । नयाँ सांसदलाई स्वागत गर्न प्रदेशसभा सचिवालयले विगतमा निरन्तर बैठक सञ्चालन भएको कक्षा भत्काएर सजावट गरेको हो ।

चालू हालतको बैठक कक्ष भताभुङ बनाएर सचिवालयले करिब ६ लाख खर्चमा रंग लगाउने, भित्तामा पेपर वाल हाल्ने र फलसिलिङ हाल्ने काम गरिरहेको हो । जब की प्रदेशसभाको नयाँ भवन पनि निर्माणधीन अवस्थामा छ । नयाँ भवन बनेपछि बैठक कक्षमा खर्च गर्नुपर्ने रकम प्रदेशसभाले चालू हालतको बैठक कक्ष भत्काएर सांसदहरुलाई खुशी पार्न सजावट गरेको आरोप लागेको छ ।

पछिल्लो समयमा केही दल र जनस्तरमा देखिएको प्रदेश संरचनामाथि असन्तुष्टि र अरुची प्रदेशबाट हुँदै आएका अस्वाभाविक खर्च, दलहरुको कार्यकर्ता भर्ती केन्द्र बन्नु र स्वार्थ सिद्धका लागि हुने कार्यहरु प्रमुख कारक हुन् । त्यही गतिविधिलाई दोहो¥याउने कार्यमा प्रदेशसभा अगाडि बढेको भन्दै आलोचना भइरहेको हो । हाल प्रदेशसभा भवन पुरानै क्षेत्रीय शिक्षा निर्देशनालयको भवनबाट चलिरहेको छ ।

हालको पुरानो भवनसँगै नयाँ प्रदेशसभा भवन पनि निर्माण भइरहेको छ । तर, तोकिएको समयभित्र प्रदेशसभा भवन निर्माण हुन सकेको छैन् । प्रदेशसभा सचिवालयले दिएको जानकारी अनुसार करिब ६ महिनाभित्र नयाँ प्रदेशसभा भवन निर्माण भएर बैठक सञ्चालनका लागि तयार हुन्छ । तर, नयाँ भवनभित्र निर्माण गर्नुपर्ने संरचना पुरानै भवनमा खर्च गरिएको छ । जब की ६ महिनामा नयाँ भवन तयार हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्का नै बताउँछन् ।

यसअघि ५ वर्षसम्म बैठक सञ्चालन भएको कक्षमा नयाँ भवन बन्दाबन्दै हाल थप ६ लाख खर्च गरेर नयाँ सजावट गरिएको हो । प्रदेशसभाका सचिव खड्काले ६ लाख खर्च गरिएको कामलाई फजुल नभएको दाबी गरे । ‘यसमा फजुल खर्च छैन् । बैठक कक्ष राम्रो बनाउन रंगरोगन, फलसिलिङ र पेपर वाल हाल्ने मात्रै काम गरेका छौं । त्यही करिब ६ लाख जति लाग्ने अनुमान छ,’ खड्काले भने । उनले उल्टै बागमती प्रदेशसभा देशभर सात प्रदेशसभा भवनमध्ये भौतिक पूर्वाधारमा सबैभन्दा कमजोर भएको दाबी गरे । आफूले दिनरात काम गरेर प्रदेशसभामा पर्याप्त
संरचना बनाएको पनि बताए ।

खड्काले नै नयाँ प्रदेश सभा भवन करिब वैशाखसम्ममा सकिने बताए । ‘नयाँ भवन तयार भएपछि कुर्सी, टेबल, साउण्ड सिष्टमलगायतका संरचना टेण्डरबाट खरिद गर्नुपर्ने कामले ५ महिना जति समय लाग्थ्यो । अब एक वर्ष लाग्छ नयाँ भवनबाट बैठक सञ्चालन हुन,’ उनले भने । प्रदेश सरकारले हाल बैठक बस्दै आएको भवनलाई प्रशासनिक काममा प्रयोग गर्ने र संसद् बैठक बस्नको लागि नयाँ भवन निर्माण गरिरहेको हो । २०७७ सालमा प्रदेशसभा हलको निर्माण थालिएपनि समयमै निर्माण नभएपछि आगामी जेठसम्म म्याद थप भएको छ ।

र, पनि काम निरन्तर भएको छैन् ।भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन कार्यालय हेटौँडाले इपिएस स्याण्डबीच प्रविधिबाट प्यानल बोर्डको ट्रस्टको निर्माण गर्ने गरी ४ करोड ९४ लाख रुपैयाँमा अर्धाखाँची सगुन पारामाउण्ट जेभीलाई ठेक्का दिएको थियो ।
हाल मर्मतसम्भार भइरहेको कार्य प्रदेशसभा सचिवालयले नै गरेको हो । नयाँ भवनको विषयमा आफूलाई पूर्ण जानकारी समेत नभएको खड्काले बताए । ‘त्यो नयाँ भवन हामीले बनाएको हैन । भौतिक मन्त्रालयले बनाइरहेकोले मलाई सबै कुरा थाहा छैन् । काम गर्ने म्याद अनुसार वैशाखसम्म तयार हुन्छ होला,’ खड्काले भेन ।

यसमा तपाइको मत

Your email address will not be published.


*