बागमती प्रदेशसभा बैठकको तयारी पूरा

साझाकुरा
२०७९ मंसिर २७, मंगलवार ११:३१

हेटौंडा- बागमती प्रदेशसभा सचिवालयले पहिलो प्रदेशसभा बैठककोे तयारी पूरा भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन आयोजना गरी बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले अधिवेशनको तयारी पूरा भएको जानकारी दिएका हुन् । प्रदेशसभा हल मर्मतको काम देखि सभामुख, उपसभामुख, समितिका बैठक कक्षहरुको तयारी गरिएको छ ।

प्रदेशसभाको सभाहलमा रंगरोगनको काम भइरहेको छ । पूरानै कुर्सी, टेवल, कार्पेट लगायतका सामाग्री यथावत राखिएको भएपनि अन्य तयारी भइरहेको सचिव खड्काले बताए । पत्रकार सम्मेलनमा खड्काले प्रदेशसभाको पहिलो बैठकका लागि भौतिक संरचनाहरु निर्माण सम्पन्न भएको बताए । उनले भने ‘केहि काम थोरै बाँकी छन्, ती काम पनि तिव्रगतिमाभइरहेको छ ।’

प्रदेशसभा सदस्यहरुको बैठक अघि हुने सर्वदलीय बैठकको तयारी पनि सुरु भइसकेको उनले बताए । उनले प्रदेशसभाको बैठक कक्षमा रङरोगन सहितका मर्मतका कामहरु सम्पन्न भएको जानकारी दिए । त्यस बाहेक सभामुख, उपसभामुखको कार्यकक्षलाई ‘रि डिजाईन’ गर्ने काम पनि सकिएको खड्काको भनाई छ ।

बागमती प्रदेशसभाले समानुपातिक सांसदहरूको टुंगो लागेसँगै ५ वर्षीय कार्याकालका लागि १ सय १० जना सांसद पाउँदैछ । प्रदेशसभाको दोस्रो कार्यकालका लागि चुनिएका सांसदहरूले पूरानो र नयाँ गरी दुई वटा भवनमा बैठक बस्नेछन् । नयाँ भवनमा बैठक कक्ष तयार गर्न फेरि लाखौं खर्च हुनेछ । चालू हालतकै पूरानो बैठक कक्ष भने भत्काएर फेरि खर्च गर्नु उपयुक्त नभएको सरोकारवालाहरू बताउँछन् ।

प्रदेश सरकारले हाल बैठक बस्दै आएको भवनलाई प्रशासनिक काममा प्रयोग गर्ने र संसद् बैठक बस्नको लागि नयाँ भवन निर्माण गरिरहेको हो । प्रदेशसभाको नयाँ संसद् पनि तत्कालीन शिक्षा निर्देशनालयको भवनबाट नै सुरु हुने भएको छ ।मंसिर ४ मा भएको निर्वाचनपछि प्रदेशसभाको दोस्रो कार्यकाल सुरु हुनलाग्दा समेत प्रदेशसभाको आफ्नै भवन निर्माण सम्पन्न नभएपछि नयाँ सदन पनि शिक्षा निर्देशनालयको पूरानै भवनबाट सुरु हुने भएको हो ।

तत्कालीन निर्देशनालयको भवन छेउमै प्रदेशसभाको हल निर्माण भइरहे पनि यो कार्यकालको सुरुवात नयाँ भवनबाट नहुने भएको छ ।
बागमती प्रदेशसभाबाट पाँच वर्षको अवधिमा ३ वटा सरकार बन्यो। तर, कुनै पनि सरकारले प्रदेशसभा भवन बनाउन चासो नदिँदा प्रदेशसभाको दोस्रो कार्यकाल पनि पूरानै साँघुरो भवनमा सुरु हुने भएको हो ।

बागमती प्रदेशसभा बैठकमा सहभागी प्रदेशसभा सदस्यहरूलाई बैठक कक्षमा छिर्न र निस्कन समस्या हुने गरेको छ। पछाडि बस्ने प्रदेशसभा सदस्यहरूलाई बैठक नसकी चाहेर पनि निस्कन सक्दैनन्। साँघुरो बाटो हुँदै सभामुखको आसनअघिबाट मात्र हलभित्र बाहिर गर्ने बाटो छ । बैठक हलको बीच–बीचमा रहेको पिलरले दायाँबायाँ राम्ररी हेर्न पनि समस्या हुने गरेको छ ।

तत्कालीन शिक्षा निर्देशनालयको भवनमा डोरमणि पौडेलको अध्यक्षतामा २०७४ माघ १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । प्रदेशसभाको पहिलो कार्यकालको पाँच वर्षको अवधिमा यही प्रदेशसभाबाट तीनवटा सरकार परिवर्तन भइसकेको छ । तर, प्रदेशसभामा रहेका कुनै पनि दल र कर्मचारीको व्यवस्थित भवन बनाउने कार्य प्राथमिकतामा परेको छैन ।

प्रदेशसभा बैठकमा बेलाबखत प्रदेशसभा सदस्यहरूले व्यवस्थित सभाहल बारेमा प्रश्न उठाउने गरे पनि सरकार र प्रदेशसभा सचिवालयले प्राथमिकतामा नराख्दा प्रदेशसभा सदस्यहरूको दोस्रो कार्यकाल पनि साँघुरो सभाहलमै सुरु हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*