बागमती प्रदेशसभा सदस्यहरुको सुविधामा ५२ करोड खर्च सभामुख र उपसभामुखले मात्रै लिए ३ करोड

साझाकुरा
२०७९ मंसिर २९, बिहीबार ११:४१

हेटौंडा- बागमती प्रदेशको पहिलो पाँच वर्षको कार्यकालमा सभामुख, उपसभामुख र प्रदेशसभा सदस्यहरुको तलब भत्ता र सेवा सुविधामा ५२ करोडभन्दा बढि खर्च भएको पाइएको छ । प्रदेशसभा सचिवालयले उपलब्ध गराएको तथ्याड्ढअनुसार पाँच वर्षे कार्यकालमा सभामुख, उपसभामुख र प्रदेशसभा सदस्यहरुको तलब भत्ता र सेवा सुविधामा ५२ करोड ३८ लाख ३४ हजार ६७ रुपैयाँ खर्च भएको पाइएको हो । बागमती प्रदेशसभामा एकसय १० प्रदेशसभा सदस्य रहन्छन् ।

तीनैमध्ये सभामुख, उपसभामुख, संसदीय दलका नेताहरु चयन हुने गर्दछन् । त्यस्तैगरी, सभामुख र उपसभामुखको स्वकीय सचिवलाई पनि प्रदेशसभा सचिवालयले तलब भत्तालगायत सेवा सुविधा दिने गरेको छ । उनीहरुलाई विभिन्न शीर्षकमा पाँच वर्षको अवधिमा प्रदेशसभा सचिवालयले ५२ करोड ३८ लाख ३४ हजार ६७ रुपैयाँ खर्चिएको हो ।

उक्त अवधिमा बागमती प्रदेशसभाको सभामुख र उप सभामुखमा मात्रै ३ करोड भन्दा बढि खर्च भएको छ । प्रदेशसभा सचिवालयको आर्थिक प्रशासन शाखाका प्रमुख बालकृष्ण अधिकारीका अनुसार सभामुख र उपसभामुखको सेवा सुविधामा प्रदेशसभा सचिवालयले ३ करोड २७ लाख ७७ हजार चारसय ४७ रुपैयाँ खर्चिएको हो । उनीहरुले पारिश्रमिक वापत एक करोड ३९ लाख ७२ हजार तीनसय २१ रुपैयाँ प्रदेशसभा सचिवालयबाट बुझेका छन् ।

सभामुख र उपसभामुखले एकलाख ३० हजार रुपैयाँको पोशाक लगाएको सचिवालयले उपलब्ध गराएको तथ्याड्ढमा उल्लेख छ । उनीहरुले ६० हजार रुपैयाँको पानी खाएका छन् ।त्यस्तैगरी पदाधिकारी तथा अन्य सुविधामा एक करोड १३ लाख २८ हजार आठसय ७३ रुपैयाँ र बैठक भत्तामा दुईलाख ३५ हजार दुईसय ५० खर्च भएको छ । उनीहरुले बिजुली खर्चमा तीनलाख ३० हजार, ईन्धन खर्चमा १२ लाख ८४ हजार नौसय ८४ रुपैयाँ, विविध खर्चमा आठलाख ९२ हजार दुईसय दुई रुपैयाँ, सवारी साधनमा एक लाख १९ हजार नौ सय ९९ रुपैयाँ, कार्यक्रम खर्चमा दुई लाख २२ हजार पाँचसय ४० रुपैयाँ, महंगी भत्तामा दुई लाख ५६ हजार रुपैयाँ र भ्रमणमा २४ लाख सात हजार एकसय ७५ रुपैयाँ खर्च गरेको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रदेशसभाको सभामुख र उपसभामुखको यो खर्च २०७४ देखि ०७९ को भदौसम्मको हो । त्यस्तै, प्रदेशसभा सचिवालयका अनुसार पाँच वर्षमा प्रदेशसभा सदस्यहरुले ३२ करोड २९ लाख छ हजार पाँचसय पाँच रुपैयाँ पारिश्रमिक लिएका छन् । सचिवालयले प्रदेशसभा सदस्यहरुलाई पाँच वर्षमा तीन करोड ९३ लाख नौ सय ८८ रुपैयाँ बैठक भत्ता दिएको जनाएको छ ।

त्यस्तैगरी, ईन्धन खर्चमा ७९ लाख ९० हजार चार सय ३० रुपैयाँ, सेवा र परामर्श खर्चमा १२ लाख ९५ हजार पाँचसय ४ रुपैयाँ, विविध खर्चमा ५८ लाख ६४ हजार एकसय २३ रुपैयाँ, कार्यक्रम खर्चमा एक करोड ५८ लाख १९ हजार नौ सय ७८ रुपैयाँ, खाजा र खानामा तीन लाख ५९ हजार तीन सय ५० रुपैयाँ, महंगी भत्तामा ३२ लाख १६ हजार रुपैयाँ, सूचना प्रकाशनमा १५ लाख १२ हजार आठसय ६४ रुपैयाँ र अन्य सुविधामा १३ करोड ४६ लाख १३ हजार तीनसय २७ रुपैयाँ प्रदेशसभा सदस्यहरुको लागि खर्च भएको सचिवालयले जनाएको छ ।

सचिवालयबाट मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुखबाहेक विभिन्न समितिका सभापति, सत्तापक्ष र विपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतक, प्रदेशसभा सदस्यलाई घरभाडावापत रकम भुक्तानी दिइने गरिएको छ । प्रदेशसभा सचिवालयले प्रदेशको राजधानीमा घर नभएका सांसद्को हकमा भने प्रतिमहिना १५ हजार घर भाडावापत उपलब्ध गराउने गरेको थियो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद्को सेवा तथा सुविधालाई व्यवस्थित गर्न २०७५ सालमा ऐन निर्माण भइसकेकोे र सोही
अनुसार सदस्यलाई सेवा तथा सुविधा उपलब्ध गराइएको सचिवालयले जनाएको छ ।प्रदेशसभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ अनुसार सभामुख र उपसभामुखका लागि प्रदेश सरकारले आवासको व्यवस्था गर्ने र आवासीय भवन मर्मत र सम्भार पनि सरकारले नै गर्ने व्यवस्था छ ।

अन्य सदस्यको हकमा अनुसूची–१ मा उल्लेख गरिएअनुसारको व्यवस्था हुने भनिएको छ । यसबाहेक फर्निचर, बिजुली, पानी, टेलिफोन, गाडी तथा आवास मर्मत सम्भार, अनुगमन जस्ता शीर्षकमा पनि हरेक महिना लाखौं रकम खर्च हुने गरेको सचिवालयले जनाएको छ । गत पाँच वर्षमा बागमती प्रदेशसभा सचिवालय सञ्चालन तथा कर्मचारीको तलब भत्तामा ४० करोड ८४ लाख ९८ हजार सात सय ४४ रुपैयाँ खर्च भएको छ । शाखा प्रमुख अधिकारीले उपलब्ध गराएको तथ्याड्ढ अनुसार विभिन्न ३२ वटा शीर्षकमा गत पाँच वर्षमा सचिवालयले आफ्नो लागि ४० करोड ८४ लाख ९८ हजार सातसय ४४ रुपैयाँ खर्चिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*