अनुदान रकम गाउँपालिकालाई नै फिर्ता

साझाकुरा
२०७९ मंसिर २९, बिहीबार ११:४४

हेटौंडा, २८ मंसिर÷ अनुदान लिएर उद्देश्यअनुसार योजना सफल नभएपछि अनुदान फिर्ता दिएको समाचार बिरलै आउने गरेका छन् । तर, मकवानपुरगढीका ६ जना युवाहरुले भने अनुदान रकम फिर्ता गरे ।
२०७६ सालमै मकवानपुरगढी गाउँपालिकाबाट लिएको अनुदान सही तरिकाले सदुपयोग हुन नसकेको भन्दै ५ नम्बर वडाका ६ जना युवाहरुले रकम गाउँपालिकालाई नै फिर्ता गरिदिएका हुन् । साबुन उत्पादन गर्ने उद्योग सञ्चालनका लागि युवाहरुले गाउँपालिकाबाट साढे ५ लाखभन्दा बढी अनुदान लिएका थिए । तर, कोरोना महामारीलगायत कारण उद्योग नियमित सञ्चालन हुन नसकेपछि उनीहरु आर्थिकरुपमा संकटमा परेका थिए । बजारमा अस्वस्थ प्रतिस्पर्धाका कारण उत्पादित साबुनले बजार पाउन नसकेपछि उनीहरुलाई उद्योग निरन्तरताको लागि अप्ठ्यारो परेको थियो । यसबीचमा विगत एक वर्षदेखि उद्योगको निरन्तरता हुने बाटो कुरिरहेका युवाहरुले अन्ततः अनुदानको रकम गाउँपालिकालाई नै फिर्ता गरिदिएका हुन् ।
गाउँपालिकाबाट बागमती साबुन उद्योगको नाममा ५ नम्बर वडाका सन्तोष घिमिरे, होमनाथ दाहाल, गोविन्दराज दुलाल, यमप्रसाद आचार्य, सुरेन्द्र तिमल्सिना र शुसील तिमल्सिनाले अनुदान लिएका थिए । आफूहरुले लिएको ५ लाख ६४ हजार ४ सय ५० रुपैयाँ अनुदानको पूरै रकम गाउँपालिकालाई नै फिर्ता गरिदिएको सञ्चालक घिमिरेले जानकारी दिए । उनीहरुले बुधबार गाउँपालिका कार्यालय पुगेर प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीलाई कार्यालयको बैंक खातामा जम्मा गरेको अनुदान रकमको भौचर र सञ्चालक समितिको निर्णय बुझाएका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले अनुदान फिर्ता लिँदा पहिलोपटक नयाँ अनुभव भएको बताए । ‘अनुदान लिएर गएपछि कोही आउँदैन थिए । मैले त तपाईहरु फेरि अनुदान माग्न आउनु भएछ भन्ठानेको फिर्ता दिन पो आउनु भएको रहेछ । पहिलोपटक नयाँ अनुभवन भयो’, उनले भने ।
अनुदान लिनेमध्ये अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका हुन् । विदेशबाट फर्किएर गाउँमै स्वरोजगार हुन खोजेका उनीहरुलाई परिस्थतिले साथ नदिएपछि अनुदान रकम फिर्ता दिएका हुन् । तत्कालीन गाउँपालिका अध्यक्ष बिदूर हुमागाईले स्वदेशमै उद्यम सञ्चालन गर्न प्रोत्साहन गर्दै ६ जना युवाहरुलाई सामूहिकरुपमा अनुदान उपलब्ध गराएका थिए । कम क्षमताको मेशिन र कोरोना महामारीलगायत कारण अपेक्षा अनुसार उद्योग चलाउन नसकिएको सञ्चालक घिमिरेले बताए । अनुदानबाट ५ वटा मेशिन खरिद गरेर त्यतिबेलै उत्पादन सुरु गरिएको उनले बताए ।
कोभिड–१९ का कारण व्यवसाय फस्टाउन नसकेको, जडान गरेका उपकरण पटक–पटक बिग्रिँदा र थप क्षमताको मेशिन खरिद गर्न नसकेको कारण उद्योग सञ्चालन गर्न समस्या देखिएपछि रकम फिर्ता गरेको गाउँपालिकालाई जानकारी दिइएको छ । ‘सर्वसाधारणले तिरेको करबाट लिएको अनुदान सदुपयोग गर्न नसकेपछि जस्ताको त्यस्तै फिर्ता गर्नुपर्छ भनेर हामीले दिएका हौं,’ घिमिरेले भने । आफूहरुले गत माघमै अनुदान फिर्ता गर्न खोजेपनि मेसिन बिक्रीबाट रकम प्राप्त हुन ढिलाई भएपछि नसकेको उनी बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*