सांसद्लाई बधाईसंगै समस्याको पोको
हेटौंडा- मकवानपुर जिल्लाका उद्योगी व्यवसायीहरुले गत मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट निर्वाचित सांसद्हरुलाई संयुक्त
रुपमा बधाई ज्ञापन तथा स्वागत गरेका छन् । हेटौंडामा बुधबार साँझ नारायणी यातायात व्यवसायी संघ, मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुर, निर्माण व्यवसायी संघ मकवानपुर, होटल एशोसिएसनले नवनिर्वाचित सांसद्हरुलाई बधाई ज्ञापन गरेका हुन् । मकवानपुर क्षेत्र नं. १ बाट निर्वाचित दीपकबहादुर सिंह, क्षेत्र नम्बर २ बाट निर्वाचित महेशकुमार बर्तौला, प्रदेशसभाका सदस्यहरु प्रेमबहादुर पुलामी, एकालाल श्रेष्ठलाई बधाई ज्ञापन गरिएको हो ।
नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताले मकवानपुरको उद्योग, व्यापार र व्यवसायीहरुको अवस्था, समस्या र चुनौतीमा सहकार्य गरेर अघि बढ्न सांसद्हरुलाई आग्रह गरे ।अध्यक्ष गुप्ताले आर्थिक मन्दीका कारण अधिकांश उद्योग, व्यवसायहरु निरन्तर सञ्चालनको लागि अप्ठ्यारोमा परेको भन्दै राज्यले समस्या पहिचान गरेर समाधान दिनुपर्ने बताए ।
झन्झटिलो प्रक्रिया, कानुनी तथा नीतिगत अप्ठ्याराहरुले उद्योग÷व्यवसाय जेलिएको अवस्था रहँदै आएको उनले बताए । आर्थिक मन्दीको समस्यामा परेका उद्योग र व्यवसायलाई उतार्न सरकारले ढिलाई गरिरहेको अध्यक्ष गुप्ताको भनाइ छ । आर्थिक संकटको अवस्थामा बैंक ब्याज चर्किनुले थप समस्या बनाइराखेको धारणा राखे । अध्यक्ष गुप्ताले बागमती प्रदेशको राजधानीमै नापतौल कार्यालयको व्यवस्था गरेर व्यवसायीहरुलाई सहज सेवाको प्रत्याभूति हुने अवसर दिलाउन सांसद्हरुलाई आग्रह गरे ।
नारायणी यातायात व्यवसायी संघका अध्यक्ष श्रेष्ठले यातायात क्षेत्रको पनि समस्या, अवस्था र चुनौती समाधान गर्न सरकार अग्रसर हुनुपर्ने धारणा राखे । श्रेष्ठले पेट्रोलियम पर्दाथको मूल्य बृद्धि हटाउनु पर्ने, भाडादर कम भएकोले बढाउनुपर्ने, व्यवस्थित सडक सञ्जाल हुनुपर्ने, तौलपुल व्यवस्थित हुनुपर्ने, ट्रकलाई पार्किङ स्थान हुनुपर्ने माग राखे । उद्योग संघ मकवानपुरमा अध्यक्ष स्वागतराज प्याकुरेलले मकवानपुरमा उद्योगीहरुको अवस्था समस्याग्रस्त रहेको बताए । उनले आर्थिक संकट र उत्पादित वस्तु विक्री वितरणमा गिरावट आएकाले उद्योग सञ्चालनमा समस्या देखिएको जनाए । घाउमा मल्हम लगाउनु पर्नेमा उद्योगीहरुलाई औद्योगिक क्षेत्रको जग्गा भाडा बृद्धि गरेर, बैंक व्याजदर बृद्धि भएर थप पीडा दिएको उनको भनाइ थियो । बाह्य वस्तु आयात बढ्नुले उद्योगीहरु समस्यामा परेको बताए ।
निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्यामसुन्दर ढकालले निर्माण व्यवसाय पनि उद्योगसरह धरासयी बन्दै गइरहेको तर्फ सचेत गराए । निर्माण सामग्रीको महंगीले गर्दा काम गर्न समस्या भइरहेको उनको भनाइ थियो । होटल एशोसिएसन मकवानपुरका अध्यक्ष दीलिशगोविन्द जोशीले मकवानपुरमा होटल र पर्यटनलाई जोडेर संघीय सरकार र प्रदेश सरकारले काम गर्नुपर्ने बताए । पर्यटन र होटल व्यवसायको लागि मकवानपुर उपयुक्त रहेकाले आवश्यक कार्य गर्न उनको आग्रह थियो ।
व्यवसायीहरुको गुनासो र समस्यामात्रै सुनिरहेका सांसद्हरुले समाधानको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । समस्या समाधानमा व्यवसायी र उद्योगीहरुसँग सहकार्य गर्दै निरन्तर लाग्ने सांसद् सिंह र बर्तौलाले विश्वास दिलाए । उनीहरुले केन्द्रीयस्तरमा यहाँका समस्याबारे जानकारी गराउँदै तत्काल समाधानको बाटो खोजिने बताएका छन् । व्यवसायी र उद्योगीहरुको समस्या हटाउन प्रदेश तहबाट गर्न सकिने काममा कुनै कमि हुन नदिने प्रदेशसभा सदस्यहरु श्रेष्ठ र पुलामीले वचन दिएका छन् ।