पहिलो चौमासिकमा बागमती प्रदेशको बजेट खर्च १० प्रतिशत
हेटौंडा- बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो चौमासिकमा १० प्रतिशत मात्रै बजेट खर्च भएको छ । चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको पहिलो चौमासिकमा कूल बजेटको १० प्रतिशत मात्रै बजेट खर्च भएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार रुपैयाँको बजेट ल्याएकोमा पहिलो ४ महिनामा ७ अर्ब ११ करोड ६१ लाख ३ हजार ७ सय ६३ रुपैयाँ मात्रै खर्च भएको हो ।
प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारी अनुसार प्रदेश सरकारले पहिलो ४ महिनामा १४ दशमलव १४ प्रतिशत चालु खर्च गरेको छ । २७ अर्ब ३० करोड ९५ लाख ४९ हजार ६६ रुपैयाँ चालूतर्फको बजेट रहेकोमा हालसम्म ३ अर्ब ८६ करोड २२ लाख २६ हजार ४ सय ९ रुपैयाँ खर्च भएको हो ।त्यस्तैगरी पूँजीगततर्फ ४१ अर्ब ६२ करोड ९७ लाख ४१ हजार नौं सय ३४ रुपैयाँ रहेकोमा हालसम्म ६ दशमलव ३७ प्रतिशत अर्थात २ अर्ब ६५ करोड ३८ लाख ७७ हजार ३ सय ५३ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको लेखा अधिकृत होमनाथ रिजालले जानकारी दिए ।
रिजालको अनुसार प्रदेश सरकारले पहिलो चौमासिकमा सबैभन्दा वित्तीय खर्च गरेको छ । वित्तीय बजेटतर्फ २ अर्ब बजेट विनियोजन गरेको सरकारले हालसम्म ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ खर्च गरेको रिजालले बताए । रिजालको अनुसार सरकारले गत वर्षको यहि अवधिको तुलनामा यो आर्थिक वर्षमा बजेट खर्च बढाएको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा को पहिलो चौमासिकमा प्रदेश सरकारले चालुतर्फ १० दशमलव ०५ प्रतिशत, पूँजीगततर्फ ४ दशमलव ८५ प्रतिशत र वित्तीयतर्फ २० प्रतिशत मात्रै खर्च भएको थियो ।
बागमती प्रदेशको १४ वटा मन्त्रालयमध्ये पहिलो चौमासिकमा सबैभन्दा बढि बजेट खर्च श्रम, रोजगार तथा यातायात मन्त्रालयले गरेको छ । ९४ करोड २४ लाख २५ हजार रुपैयाँ बजेट पाएको उक्त मन्त्रालयले ४ महिनाको अवधिमा कूल बजेटको १४ दशमलव ८१ प्रतिशत अर्थात १३ करोड ९५ लाख ९० हजार ७ सय ७ रुपैयाँ खर्च गरेको हो ।
दोस्रो नम्वरमा वन तथा वातावरण मन्त्रालयले सबैभन्दा बढि बजेट खर्च गरेको छ । उक्त मन्त्रालयले चालु आर्थिक वर्षको लागि ३ अर्ब २३ करोड ९९ लाख ३८ हजार बजेट पाएकोमा ३८ करोड ३६ लाख ९५ हजार ५ सय ३० रुपैयाँ खर्च गरेको छ । जुन मन्त्रालयले पाएको कुल बजेटको ११ दमशलव ८४ प्रतिशत हो ।
सामाजिक विकास मन्त्रालयले पहिलो चौमासिकमा आफूले पाएको बजेटबाट ११ दशमलव ७७ प्रतिशत बजेट खर्च गरेको छ । ३ अर्ब ५२ करोड ८५ लाख १८ हजार कूल बजेट पाएको यो मन्त्रालयले हालसम्म ४१ करोड ५१ लाख ८२ हजार ५ सय ८९ रुपैयाँ खर्च गरेको छ ।
४ अर्ब ३९ करोड २३ लाख ८५ हजार रुपैयाँ बजेट पाएको स्वास्थ्य मन्त्रालयले हालसम्म आफ्नो कूल बजेटको १० दशमलव ३१ प्रतिशत अर्थात ४५ करोड २८ लाख १४ हजार ८ सय २२ रुपैयाँ खर्च गर्न सकेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चौमासिकमा ९ दशमलव ६७ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
कार्यालयको अनुसार उक्त मन्त्रालयले १५ करोड ८७ लाख ४५ हजार रुपैयाँ बजेट चालु आर्थिक वर्षको लागि पाएकोमा १ करोड ५३ लाख ५७ हजार १ सय ३९ रुपैयाँ खर्च गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६५ करोड १६ लाख ४३ हजार रुपैयाँ बजेट पाएकोमा ४ महिनाको अवधिमा ५ करोड ३७ लाख ६२ हजार ५१ रुपैयाँ खर्च गरेको छ ।
जुन उसको कूल बजेटको ८ दशमलव २५ प्रतिशत हो । ९ अर्ब २१ करोड ९९ लाख २३ हजार रुपैयाँ कूल बजेट पाएको खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालयले पहिलो चौमासिकमा बजेटको ७ दशमलव ७९ प्रतिशत अर्थात ७१ करोड ७९ लाख ३ हजार ३५ रुपैयाँ मात्रै खर्च गर्न सकेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले चालू आर्थिक वर्षको लागि ४ अर्ब १८ करोड ३० लाख २८ हजार रुपैयाँ बजेट पाएकोमा ४ महिनाको अवधिमा ३० करोड १८ लाख ६८ हजार ६ सय ९० रुपैयाँ खर्च गरेको छ । जुन उक्त मन्त्रालयको कूल बजेटको ७ दशमलव २२ प्रतिशत हुन आउछ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा आफ्नो कूल बजेटको ८ दशमलव ९७ प्रतिशत बजेट खर्च गरेको छ ।
सो कार्यालयले यो आर्थिक वर्षको लागि ६२ करोड ७९ लाख ६८ हजार रुपैयाँ बजेट पाएको थियो । जसबाट हालसम्म ५ करोड ६३ लाख ३१ हजार २ सय ५६ रुपैयाँ खर्च भएको छ ।त्यस्तैगरी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले चालु आर्थिक वर्षमा सरकारबाट २४ करोड ३७ लाख ६७ हजार रुपैयाँ बजेट पाएकोमा हालसम्म ९ दशमलव ८७ प्रतिशत बजेट खर्च गरेको छ । जुन कूल बजेटको २ करोड ४० लाख ६५ हजार १ सय ७३ रुपैयाँ हो ।
युवा तथा खेलकुद मन्त्रालयले हालसम्म आफ्नो मन्त्रालयको कूल बजेटको ८ दशमलव ९४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । १ अर्ब २२ करोड ६५ लाख ८८ हजार रुपैयाँ बजेट पाएको उक्त मन्त्रालयले ४ महिनाको अवधिमा १० करोड ९६ लाख ४२ हजार ५ सय ३२ रुपैयाँ खर्च गर्न सकेको छ । सबैभन्दा धेरै बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले हालसम्म कूल बजेटको ६ दशमलव ३१ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।
२३ अर्ब ५६ करोड ८५ लाख ७८ हजार रुपैयाँ कूल बजेट पाएको सो मन्त्रालयले पहिलो चौमासिकमा १ अर्ब ४८ करोड ६० लाख ३२ हजार १ सय १३ रुपैयाँ खर्च गरेको हो । सस्ंकृति तथा पर्यटन मन्त्रालयले १ अर्ब ७६ करोड ९८ लाख ७१ हजार २० रुपैयाँ बजेट पाएकोमा ८ करोड १० लाख ६८ हजार ८ सय ७७ रुपैयाँ अर्थात ४ दशमलव ५८ प्रतिशत बजेट खर्च गरेको छ ।
सबैभन्दा कम बजेट खर्च गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको खर्च प्रतिशत २ दशमलव ७५ रहेको छ । ८२ करोड ३ लाख ३४ हजार रुपैयाँ बजेट पाएको उक्त मन्त्रालयले हालसम्म २ करोड २५ लाख ४९ हजार १ सय ६९ रुपैयाँ खर्च गरेको छ ।