मकवानपुरमा बिहीवार डेंगु संक्रमित शुन्य

साझाकुरा
२०७९ पुष १, शुक्रबार १२:०५

हेटौंडा, २९ मंसिर÷ मकवानपुरमा पछिल्लो समय डेंगु संक्रमितको संख्या घट्दै गइरहेको तथ्यांकले देखाएको छ । केही  समय अघि महामारीको रुपमा देखा परेको डेंगुको संक्रमण दर निरन्तर घटिरहेको हो । गत असोजदेखि कार्तिक सम्म नै हेटौंडा अस्पतालमा डेंगुका बिरामी खचाखच हुने गरेका थिए । तर, मंसिर लागेपछि भने निरन्तर डेंगु संक्रमितका बिरामी घट्दो क्रममा छन् । मकवानपुरमा बिहीवार डेंगु संक्रमित देखा नपरेको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

कार्यालयका अनुसार मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८ सय ४५ सय जना पुगेको छ । झण्डै ६ हजारको नजिकमा रहेको डेंगु संक्रमितको संख्या बढ्ने क्रम रोकिएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको हो । २३ मंसिर शुक्रबार पनि जिल्लामा डेंगु संक्रमित देखा परेका थिएनन् ।त्यसयता बुधवार २ जनामा संक्रमण देखिएको थियो । गत आइतबार ७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांकमा उल्लेख छ ।

एडिस जातका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक हो डेंगु । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् । डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ र मानिसहरु सिकिस्त हुने गर्छन् । चिकित्सकहरुका अनुसार विगतमा यसवर्ष मकवानपुरमा देखिएको डेंगु संक्रमण बढी घातक थियो ।

मकवानपुरमा डेंगु संक्रमणकै कारण १ जनाको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालयका अनुसार साउनदेखि बिहीवारसम्म डेंगु संक्रमण ३ हजार १ सय ९९ जना पुरुष र २ हजार ६ सय ४६ जना महिला देखिएको हो । जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिकामा रहेका छन् । हेटौंडामा धेरै जनघनत्व र लामखुट्टेको प्रमुख बासस्थानको रुपमा देखिएको फोहोर पानी जम्ने धेरै ठाउँ भएकाले पनि बढी संक्रमण देखिएका हुन् ।

हेटौंडामा मात्रै ४ हजार ३ सय ३६ जनामा डेंगु संक्रमण भएको कार्यालयले जानकारी दिएको छ । जसमध्ये २ हजार ३ सय ८९ जना पुरुष र १ हजार ९ सय ४७ जना महिला रहेका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको मनहरी गाउँपालिकामा ५ सय ४७ जना पुरुष र ४ सय ९९ जना महिला गरी १ हजार ४६ जनामा संक्रमण देखिएको हो ।

थाहा नगरपालिकामा १ सय ८ जना पुरुष र ६७ जना महिला गरी १ सय ७५ जना, मकवानपुरगढी गाउँपालिकामा ४५ जना पुरुष र ३४ जना महिला गरी ७९ जना, बागमती गाउँपालिकाका ४ जना पुरुष र ४ जना महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको छ । इन्द्रसरोवर गाउँपालिकामा
एक जना पुरुष र २ जना महिला गरी ३ जना, कैलाश गाउँपालिकाका ५ जना पुरुष र ३ जना महिला गरी ८ जना, भीमफेदी गाउँपालिकामा ३१ जना पुरुष र २८ जना महिला गरी ५९ जनामा संक्रमण भएको हो ।

यसैगरी, पूवी क्षेत्रको बकैया गाउँपालिकामा १८ जना पुरुष र २८ जना पुरुष गरी ४६ जना, राक्सिराङ गाउँपालिकमा १९ जना पुरुष र ६ जना महिला गरी २५ जना, हाल ठेगाना नखुलेका १७ जना पुरुष र १८ जना महिला गरी ३५, अन्य जिल्लाका १५ जना पुरुष र १० जना महिला गरी २५ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*